बालबालिकामा हुने एलर्जी कस्तो र कति प्रकारका छन्?
खानपान, रहनसहन तथा वातावरणमा आएको परिवर्तनका कारण बालबालिकामा एलर्जीको समस्या धेरै नै देखिएको छ। बालबालिकामा मुख्यतया पाँचथरीका एलर्जी धेरै हुन्छन्। एउटा बच्चा जन्मेपछि उसको जीवनमा आउन सक्ने एलर्जीको चरणहरुलाई 'एटोपिक मार्च' भनिन्छ। एटोपिक मार्च भनेको बालबालिकाको विभिन्न उमेरमा विभिन्नथरीका एलर्जी देखिनु हो। जस्तो, बच्चा जन्मिने बित्तिकै छालामा एलर्जी आउने समस्या देखिन्छ। नवजात शिशुमा कपालमा चाया एकदमै धेरै आउने, छालामा डाबर आउने, गाला रातो हुने, चिलाउने समस्या देखिन्छ। त्यो नै एटोपिक डर्माटाइटिस हो।
बालबालिकामा यो समस्या जन्मेको केही महिनाबाट केही वर्षसम्म चलिरहन सक्छ। त्यो बच्चामा हुने पहिलो समस्या भयो। बालबालिकामा हुने अर्को समस्या खानेकुराको एलर्जी हो। हुन त हाम्रो समाजामा खानेकुराको एलर्जीबारे जानकारी खासै छैन। संक्रमणसँग नै लडिरहनुपर्ने भएर पनि होला बालबालिकालाई खानेकुराको एलर्जीबारे खासै चासो व्यक्त गरिँदैन।
बालबालिकलाई गाईको दूधको एलर्जी, बदामको एलर्जी पनि छ। अर्को एलर्जी दम अर्थात् आस्थमा वा ब्रोङ्केयल आस्थमा वा घ्यारघ्यार हुने समस्या जे भने पनि यो दमको समस्या हो। श्वासको नलीमा एलर्जीले गर्दा भएको असर हो। जसले गर्दा बालबालिकालाई बारम्बार खोकी लाग्ने, स्वाँस्वाँ हुने, दौडिँदा, खेल्दा पनि खोकी लागिराख्ने, स्वाँस्वाँ हुने, रुघा लाग्ने बित्तिकै छाती घ्यारघ्यार हुने समस्या दमको लक्षण हो।
अर्को चौथो नम्बरमा पर्ने एलर्जी भनेको नाकको एलर्जी हो। जसलाई हामी एलर्जिक राइनाइटिस भन्छौं। बालबालिकालाई एकदमै हाच्छिउँ आउने, बाहिर कतै जाँदा नाक बन्द हुने, घुर्ने, पातलो सिँगान बग्ने, यस्तो समस्या कहिले ठिक हुने कहिले फेरि देखिने गर्छ। यी चार प्रकारका एलर्जी बालबालिकामा कमन छन्।
बालबालिकालाई विभिन्न उमेरमा विभिन्न खालको एलर्जीको समस्या देखिन्छ।
यी एलर्जीहरु कुन उमेर समूहमा कसरी देखिन्छ?
यो एउटा मोडलमा हुन्छ। बालबालिकामा हुने एलर्जी सधैं रहँदैन। सामान्यतया नवजात शिशुमा छालाको एलर्जी हुन्छ। अलि ठूलो भएपछि दम अनि अलि ठूलो बालबालिकामा नाकको एलर्जी देखिन्छ।
नवजात शिशुमा आउने चाया तथा बिबिराको समस्या किन हुन्छ? यसको उपचार गराउनुपर्छ?
नवजात शिशुमा छाला चिलाउने, डाबर आउने समस्या एटोपिक डर्माटाइटिसको नै लक्षण हो। केही बच्चामा यो समस्या छाला सुख्खा भएर पनि हुन्छ। तर यो समस्याले एकदमै धेरै देखियो भने यसको समयमै उपचार पनि गर्नुपर्छ। साना बालबालिकाहरुमा सुरुमा छालामा एलर्जी देखियो त्यसको समयमै उपचार गर्योप भने अलि पछि दमको एलर्जी कम हुन सक्छ। नाकको एलर्जी कम हुन सक्छ।
बालबालिकामा देखिने एलर्जीमध्ये सबैभन्दा धेरै कुन एलर्जीको समस्या बढी छ?
बालबालिकामा एटोपिक डर्माटाइटिसपछिको अर्को ठूलो समस्या भनेको दमको समस्या हो। म दम सम्बन्धी धेरै बालबालिका हेर्छु। दमको समस्या विभिन्न आर्थिक अवस्थाको परिवारका दमका बालबालिका अभिभावकको साथमा उपचारका लागि आउनुहुन्छ। अभिभावकले उपचार गर्दै गएपछि त बुझ्नुहुन्छ। त्यसैले अभिभावकले दमको बारेमा बुझ्नुपर्छ। बच्चालाई बारम्बार खोकी लाग्ने, स्वाँस्वाँ हुने लक्षण देखिएपछि निमोनिया भन्ने बुझाइ छ तर यस्तो समस्यामा धेरैजसो दमको समस्या भएको पाइन्छ। अहिले बच्चामा देखिने एलर्जिक समस्यामा दमकै समस्या धेरै छ।
अभिभावकहरु बालबालिकामा हुने दमको समस्यामा किन उपचार गराउन मान्दैनन्?
एलर्जीको उपचार पहिला पहिचान गर्नुपर्छ। एलर्जीको विषयमा विशेषज्ञता राख्ने हामी चिकित्सकहरुले एलर्जीको डाइग्नोसिस गर्छौं। आस्थमाको कुरा गर्नुपर्दा बालबालिकाहरु लक्षण लिएर आउनुहुन्छ। बच्चाको उमेर समूह अनुसार हामीले अहिले ३ वर्षभन्दा माथिका बालबालिकाको फुकेर गरिने आस्थमाको पहिचान गर्न सक्छौं। अन्य परीक्षणहरु गरेर पहिचान गर्ने र उपचार गर्छौं।
दमको उपचार अभिभावकहरुले अलि असहज मान्नुहुन्छ। किनकि, यो इन्हेलर विधिबाट औषधि लिनुपर्छ। तर यसको साइड इफेक्ट पर्छ, बानी पर्छ भनेर आमाबुबालाई चिन्ता लाग्ने रहेछ। तर बालबालिकामा दमको समस्या छ भने इन्हेलर विधिबाट नै उपचार गर्नुपर्छ। इन्हेलर विधिबाट उपचार गरिएन भने बालबालिका बिरामी भइरहने, अस्पताल धाइरहनुपर्ने समस्या बढ्छ। त्यसैले यो समस्याबाट बच्न दमको उपचार नियमित गराउनुपर्छ।
दम भएका बालबालिकाहरुको उपचार राम्रोसँग भइरहेको हुँदैन। यसमा हामी सबैको भूमिका छ। बाबुआमा र सिस्टमको पनि यसमा भूमिका छ। हामीले के बुझ्नुपर्छ भने, बालबालिकामा बारम्बार स्वाँस्वाँ हुने, खोकी लाग्ने, घ्यारघ्यार हुने समस्या देखिन्छ भने त्यो दमको समस्या हो। दमको समस्यामा इन्हेलर विधिबाट उपचार नगरी समस्या ठिक हँदैन। बानी पर्छ कि भनेर चिन्ता राख्नु उचित छैन। बालबालिकाको भोलिको भविष्य आज अभिभावकको सोचाइ र उपचारमा भर पर्छ। इन्हेलर विधिबाट दमको उपचार गर्दा बच्चालाई बानी पर्ने होइन, ऊ ठूलो हुँदासम्म दम निकै कन्ट्रोलमा आँउछ। निको पनि हुन सक्छ।
-(डा जगतजीवन घिमिरे बाल श्वासप्रश्वास रोग विशेषज्ञ हुन्)