काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मोहनबहादुर बस्नेत काममा भन्दा पनि प्रचारमा बढी रुची राख्छन्। मन्त्री बस्नेतको ध्यान नीतिगत काममा भन्दा पनि प्रचारमुखी काममा हुँदा चालु आर्थिक वर्षको पहिलो चौमासिकका लागि निर्धारण गरिएका माइलस्टोनहरुको प्रगतिमा स्वास्थ्य मन्त्रालयले उत्तीर्ण हुने नम्बर पनि ल्याउन सकेको छैन।
मन्त्री बस्नेतले मन्त्रालयको नेतृत्व सम्हालेको एक सय दिनमा आफूले गरेका कामको विवरण भन्दै साउन २६ गते राष्ट्रिय सभागृहमा तामझामसहित कार्यक्रम गरेका थिए। कामभन्दा बढी स्टन्टमा रमाउने मन्त्रीले उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत बोलाएका थिए।
उक्त कार्यक्रममा मन्त्री बस्नेतले एक सय दिनमा आफूले गरेका भनेर नियमित कामका विवरणहरु र विगतमा नै भएका कामहरुको निरन्तरताको विवरण संकलन गरेर प्रस्तुत गरेका थिए। मन्त्री बस्नेले एक सय दिनमा १०७ वटा उपलब्धि गरेको भन्दै आफ्नो प्रचार गरेका थिए।
मन्त्री बस्नेतले आफूलाई केन्द्रमा राखेर प्रचारका लागि गरेको उक्त दिनको कार्यक्रम खर्च भने १७ लाख ५० हजार रुपैयाँ उठेको छ। स्वास्थ्य मन्त्रालयले उक्त कार्यक्रमको खर्चको फाइल समेत उठाइसकेको छ।
'जनताको स्वास्थ्यका लागि खर्च गर्नुपर्ने रकम मन्त्रीको प्रचारमुखी कार्यक्रम गर्दा साढे १७ लाख सकिएछ,' मन्त्रालयका एक कर्मचारीले भने, 'मन्त्री बस्नेत काममा भन्दा प्रचारमा नै रमाउँदा मन्त्रालयको कामको प्रगति समेत भएको छैन। पैसा पनि अनावश्यक काममा खर्च भइरहेको छ। मन्त्रीको प्रचारमा राज्यको १७ लाख ५० हजार स्वाह भएको छ।' ती कर्मचारीका अनुसार अर्थ मन्त्रालयले १३ लाख जति रकम दिने भइसकेको छ। तर १७ लाख ५० हजारको कुरा आएकाले थप रकम चाहिने देखिएको हो।
मन्त्री बस्नेतले 'एक सय दिन जनताको आशाको किरण' भन्दै सभा गृहमा प्रगित विवरण सार्वजनिक गर्दा सुशासन तथा प्रशासनिक सुधार, नीतिगत सुधार, जनउत्तरदायी स्वास्थ्य क्षेत्र, सामाजिक न्याय, सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्ति र तथ्यमा आधारित निर्णय गरेको दावी गरेका थिए। तर यथार्थमा मन्त्रालयको माइलस्टोनमा भएका कामको प्रगतिले मन्त्रीले हालसम्म बोलेका कुराहरु गफमा नै सिमित भएको देखाएको छ।
स्वास्थ्य मन्त्रालयले कात्तिक महिनासम्म पुरा गर्नुपर्ने लक्ष्य हालसम्म पनि पूरा गर्न सकेको छैन। निर्धारित समयभन्दा दुई महिना बढी समय थप हुँदा पनि स्वास्थ्य मन्त्रालयले जम्मा ३८ प्रतिशत मात्र काम सम्पन्न गरेर असफल भएको छ।
प्रधानमन्त्री कार्यालयबाट स्वास्थ्यखबरलाई उपलब्ध भएका माइलस्टोनको प्रगति विवरण अनुसार कात्तिकभित्रमा गर्नुपर्ने ४६ प्रतिशत काम त मन्त्रालयले पुसको दोस्रो सातासम्म पनि सुरु नै गर्न सकेको छैन। सुरु भएकामध्ये पनि १६ प्रतिशत काम सम्पन्न हुन बाँकी नै छ।
स्वास्थ्य मन्त्रालयले सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर १२२, १३३ देखि १४५ सम्म र बजेट वक्तव्यको बुँदा नम्बर ४७, ५०, ५२, २२४ देखि २५२ सम्म रहेका क्रियाकलाप अन्तर्गत १९३ वटा माइलस्टोनमध्ये १०४ वटा माइलस्टोनका कार्यक्रम कात्तिक मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिएको थियो। तर उक्त समय सकिएर पुसको दोस्रो सातासम्म आइपुग्दा पनि ३८ प्रतिशत काम मात्र सम्पन्न भएको छ।
पछिल्लो समय मन्त्री बस्नेतको ध्यान स्वास्थ्य सामग्री खरिदमा बढी केन्द्रित छ। आफू निकटमा मेडिकल व्यवसायीलाई उपकरण खरिदको जिम्मा लगाएर कमिसनको खेल मन्त्रालयमा सुरु भइसकेको छ।
यो पनि:
माइलस्टोनमा जम्मा ३८ प्रतिशत ल्याएर स्वास्थ्य मन्त्रालय 'फेल' [माइलस्टोनको पूर्ण विवरण]
रिपोर्ट कार्डमा कमजोर स्वास्थ्य मन्त्रालय, मन्त्री बस्नेतको ध्यान ‘नोट र भोट’मा