काठमाडौं- करारमा काम गरिरहेका निजामति कर्मचारी अस्पताल (सिभिल अस्पताल)का नर्सहरुलाई ज्यालादारीमा झारिएपछि उनीहरु तीन सातादेखि आन्दोलित छन्। अस्पतालले स्थायीका लागि लिएको परीक्षामा असफल भएका तर लामो समयदेखि त्यहाँ कार्यरत करारका नर्सहरुलाई ज्यालादारीमा झारेको हो।
अस्पतालमा कार्यरत १६१ जना नर्सले स्थायी हुनका लागि लोक सेवा आयोगमा दरखास्त दिएका थिए । तीमध्ये १२२ जनाले परीक्षा पास गरेर स्थायी भएका छन्। स्थायीमा नाम ननिस्केका अन्य ३९ जना आन्दोलित रहेको आन्दोलनकी संयोजक नर्स जानुका रिजाल बताउँछिन्। उनका अनुसार विनियमावली अनुसार करार सेवामा लिइएका नर्सहरुलाई ४ वर्ष पूरा भएपछि स्थायीका लागि परीक्षा लिनुपर्ने प्रावधान छ । तर, अस्पतालले ८ वर्षपछि मात्रै परीक्षा लिँदा नर्सहरु मारमा परेको उनको तर्क छ।
उनी भन्छिन्, 'अझै प्रशासनले स्थायी प्रक्रियाका लागि परीक्षा लिनका लागि कुनै पनि चासो देखाएको थिएन, अदालतले स्थायी गराउने प्रक्रियाका लागि परीक्षा लिनका लागि फैसला गरेपश्चात् व्यवस्थापनले परीक्षा लिएको भएपनि एक पटक मात्रै परीक्षा भयो।' उक्त विनियमावली अनुसार करारमा काम गरिरहेका अस्पतालमा ३९ जना कर्मचारीहरु मारमा परेको नर्स रिजालको भनाइ छ।
अस्पतालका निर्देशक प्राडा विधानिधी पौडेल भने आफू आएपछि नियमअनुसार स्थायी प्रक्रिया अघि बढाएको बताउँछन्। उनी भन्छन्- 'मैले अस्पताल निर्देशकको जिम्मेवारी पाएको २०७७ को अन्तिममा हो । त्यो भन्दा अगाडि किन उहाँहरुलाई स्थायी बनाउनका लागि परीक्षा हुन सकेन, त्यो मेरो जिम्मेवारी भित्रको कुरा होइन । म आएपछि स्थायीका लागि प्रक्रिया अघि बढ्यो। १२२ जना स्थायी भइसकेका छन्। त्यतिबेलाको व्यवस्थापन पक्षले प्रत्येक वर्ष स्थायीलाई बाटो खुलाएको भए हाल करारका नर्सहरुले आन्दोलन गर्नुपर्ने अवस्था नआउने उनी बताउँछन्।
लोक सेवा आयोगको परीक्षामा नाम निकाल्न नसक्नेहरु स्वत: जागीरका लागि अयोग्य हुने डा पौडेलको भनाइ छ। यद्यपि अस्पतालले काम गर्दै आएका दक्ष जनशक्तिलाई बेरोजगार नबनाउने मनसायले करारका नर्सहरुलाई ज्यालादारीमा राख्ने निर्णय गरेको उनको भनाइ छ। अहिले नर्सहरुको गरिरहेको आन्दोलन तथा माग जायज नभएको उनको भनाइ छ।
'करिब १६१ जना नर्सले स्थायी हुनका लागि लोक सेवा आयोगमा दरखास्त दिइएका थिए । जसमध्ये १२२ जनाले परीक्षा पास गरेर स्थायी भइसकेका छन्,' उनले भने, 'नर्सको इन्चार्ज समेत भएर काम गरिसकेका नर्सहरुले समेत लोक सेवा पास गर्न नसकेपछि अस्पतालले ज्यालादारी कर्मचारीका रुपमा उनीहरुलाई राख्ने निर्णय गरेको हो।'
अस्पताललाई आवश्यकता पनि परेको तथा राम्रो कार्यदक्षता भएका कारण उनीहरुको योगदानलाई कदर गर्दै अस्पतालले उनीहरुलाई दैनिक ज्यालादारी राख्ने निर्णय गरेको उनको भनाइ छ। यसअघिको व्यवस्थापनका समयमा परीक्षा नभएको विषयलाई अहिले जोड्न नमिल्ने उनले बताए।