काठमाडौं- कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गर्न लागेको सिटी स्क्यान मेसिनको विषय विवादमा तानिएको छ। एउटा मात्र कम्पनीसँग मिल्ने गरी सेटिङमा खरिद प्रक्रिया अगाडि बढाएपछि सिटी स्क्यान खरिदको विषय विवादमा आएको हो।
केन्द्रले एक्सिस मेडिबिज प्रालीसँगको मिलेमतोमा झण्डै साढे सात करोड रुपैयाँमा १२८ स्लाइस क्षमताको सिटी स्क्यान मेसिन खरिदको प्रक्रिया अगाडि बढाएको छ। खरिद प्रक्रिया मुल्यांकनका क्रममा रहेको बताइए पनि उक्त प्रक्रियामा एक्सिससँगको मिलेमतोमा लक स्पेक (एउटालाई मात्र मिल्ने गरी बनाइएको विवरण) बनाइएको छ। जसका कारण खरिद प्रक्रियामा एक्सिसले मात्र मिल्ने गरी निवेदन हालेको छ।
एक्सिसको सेटिङ अनुसार उसको मात्र सिटी स्क्यानलाई मिल्ने गरी खरिद प्रक्रिया अगाडि बढाएको विषयमा स्वास्थ्यखबरसहित अन्य सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि प्रदेश स्वास्थ्य सचिव डा सुधा देवकोटाले केन्द्रसँग उक्त विषयमा विवरण माग गरेकी छिन्। उनले खरिद प्रक्रियामा किन एउटा मात्र कम्पनीले भाग लियो? लक स्पेक हो कि होइन? खरिद प्रक्रिया प्रतिस्पर्धी छ कि छैन, नियम अनुसार हो वा होइन? बदमासी भइरहेको भन्ने विषय आइरहेकाले उक्त विषयमा के भएको हो भनेर केन्द्रसँग विवरण माग गरेकी हुन्।
'सिटी स्क्यान खरिदको विषयमा मेरो पनि नाम जोडेर समाचारहरु आइरहेका छन्। उक्त विषयमा मलाई कुनै जानकारी नै छैन। खरिद प्रक्रिया सबै केन्द्रबाट नै भएको हो,' उनले भनिन्, 'यो विषय विवादमा आएपछि मैले उक्त विषयमा के भएको हो? खरिदको काम कसरी अगाडि बढेको हो? बदमासी हो वा नियमसंगत प्रक्रिया अगाडि बढेको छ। एउटाको मात्र किन परेको हो? टेण्डर खुल्ने स्थानमा किन नरदेवी भन्ने आयो भन्ने विषयमा विवरण माग गरेको छु। उहाँहरुलाई यो विषयमा सोधेको पनि छु।' उनले खरिद प्रक्रिया नियमसंगत र पारदर्शी हुनुपर्ने बताइन्।
स्रोतका अनुसार सिटी स्क्यान खरिदमा केन्द्रका बायोमेडिकल इन्जिनियर, निर्देशक र मन्त्रालयको समेत मिलेमतो रहेको छ। 'यो खरिद प्रक्रियामा तलदेखि माथिसम्म मिलेमतो गरेको प्रष्टै देखिन्छ,' केन्द्रकै एक कर्मचारीले भने, 'सबैले मिलेर कमिसनको प्रतिशत भाग लगाएका छन्। कमिसन खानकै लागि एउटालाई मात्र मिल्ने गरी प्रक्रिया अगाडि बढाइएको हो।'
केन्द्रले मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका लागि सिटी स्क्यान खरिद गर्न लागेको हो। केन्द्रले गत कात्तिक २४ गते सिटी स्क्यान खरिदका लागि बोलपत्र आह्वान गरेको थियो। तर केन्द्रले कम्पनीसँगको मिलेमतोमा तयार पारेको प्राविधिक स्पेसिफिकेसनमा मेडिबिज बाहेक अन्य कुनै पनि कम्पनीको सिटी स्क्यानका लागि मिल्ने बनाइएन। जसका कारण प्रतिस्पर्धामा कोही पनि जान सकेनन्।
केन्द्रका एक कर्मचारीका अनुसार मिलेमतोमा स्पेसिफिकेसन बनाएका कारण बोलपत्र अनुसार प्रक्रिया सबै पुरा गरेर निवेदन दिने पनि सोही एक कम्पनी मात्र भएको छ। खरिद गर्न लागिएको उक्त सिटी स्क्यान मेसिनको वारेन्टी समय पनि दुई वर्षको मात्र रहेको ती कर्मचारी बताउँछन्।