काठमाडौं- फ्रान्सको प्रधानमन्त्रीमा ३४ वर्षीय गेब्रियल एटल नियुक्त भएका छन्। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले एटललाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
१० वर्षअघि स्वास्थ्य सल्लाहकारबाट सत्ताको सिढी उक्लिन थालेका उनले छोटो समयमै प्रधानमन्त्री हुने मौका पाएका हुन्। फ्रान्सको प्रधानमन्त्रीमध्ये उनी अहिलेसम्मकै कान्छा हुन्। प्रधानमन्त्री एलिजाबेथ बोर्नले राजीनामा दिएपछि गेब्रियल एटललाई राष्ट्रपति म्याक्रोनले प्रधानमन्त्री नियुक्त गरेका हुन्।
एटल सन् २०२३ को जुलाईदेखि शिक्षा तथा राष्ट्रिय युवामन्त्री थिए। प्रधानमन्त्री बन्नेगरीको व्यक्तित्व भने कोरोना महामारीको समयमा बनेको थियो। त्यो समय उनी सरकारका प्रवक्ता थिए। जसले उनलाई आम फ्रेन्चमाझ चिनाएको द गार्डियनले उल्लेख गरेको छ। भनिएको छ, 'एटल महामारीको समयमा प्रवक्ता थिए। जसले आम फ्रेन्चमाझ उनको व्यक्तित्व हलक्कै मौलाउन सहयोग पुग्यो।'