चिसो मौसममा बाहिरी तापक्रम कम हुने गर्छ। जसले गर्दा हावामा बाफको मात्रा पनि घट्छ। अचानक तापक्रम घट्दा गर्मी मौसममा अभ्यस्त भइरहेको हाम्रो शरीरलाई चिसो मौसमसँग समाहित हुनका लागि समय लाग्छ। त्यस कारण पनि चिसो मौसमको सुरुवातको समयमा विभिन्न प्रकारका एलर्जीहरु हुन्छन्।
हावामा पानीको मात्रा घट्दा हावा सुख्खा हुने गर्छ। जसका कारण नाकको एलर्जी बढी हुन्छ। यतिबेला साना–साना धुलोका कणहरु नाकमा छिर्ने गर्छन्। सुक्खा नाक भएको समयमा यसरी धुलोका कणहरु छिर्दा जाडोमा एलर्जीको लक्षणहरु बढी देखिएका हुन्। एलर्जीसँग पिनास अन्तर सम्बन्धित छ। प्रायः नाकमा समस्या आउनासाथ पिनास नै भयो भन्ने आम धारणा हुन्छ।
यद्यपि, नाकको समस्या हुने ५÷१० प्रतिशत मानिसहरुलाई मात्रै पिनास हुने गर्छ। पहिले–पहिले ब्याक्टेरियाको संक्रमणका कारण हुने भएकोले पिनासलाई संक्रामक रोग मान्ने गरिन्थ्यो। पछिल्लो दशकमा पिनासबारे आधारभूत परिवर्तन आएका छन्। आजभोलि एलर्जीको विस्तारित रुपमा पिनासलाई लिने गरिन्छ। पटक–पटक नाकको एलर्जी भएको खण्डमा पिनास हुने गर्छ।
पिनास हुँदा मुख्यतया दुई प्रकारका लक्षण देखिन्छन्। पिनास हुँदाको मुख्य लक्षण दुवैतर्फको नाक बन्द हुनु र अर्काे सिँगान आउनु हो। यस बाहेक टाउको दुख्नु पनि यसको मुख्य लक्षण हो। यद्यपि, चिकित्सकले इन्डोस्कोपी गरेर हेरेपछि मात्रै पिनास भएको यकिन गर्छन्। नाक र कान एक अर्काेसँग अन्तर सम्बन्धित अंग हुन्। यी दुवैलाई जोड्ने एउटा ट्युब रहेको हुन्छ। धेरै सिँगान जमेको अवस्थामा उक्त ट्युब बन्द हुन्छ। जसका कारण नाकका माध्यमबाट कानमा जानुपर्ने हावा नजाने हुन्छ। त्यसपछि कानमा विभिन्न प्रकारका समस्या आउने गर्छन्। विशेषगरी वयस्कहरुमा भन्दा पनि बच्चामा यस्तो समस्या बढी हुने गर्छ। त्यसैले बच्चाहरुमा रुघा लागेको बेला कान समेत पाक्ने समस्या आउन सक्छ। यसको पनि मुख्य समस्या नाकसँग नै सम्बन्धित हुन्छ।
कान बारम्बार पाक्ने समस्या आएमा कानको जाली भित्र टेलिने हुन्छ, जसका कारण जालीमा प्वाल पर्ने, हड्डी कुहिने जस्ता समस्या समेत देखा पर्न सक्छन्। त्यसैले तत्कालै घाँटी दुख्ने तथा एलर्जीको समस्या देखिए पनि बारम्बार यी दुई समस्याहरु देखिएमा पिनास हुने तथा हड्डी खिइने जस्ता रोगहरु देखा पर्ने गर्छन्। त्यसैले नाक, कान, घाँटीको अधिकांश रोगहरुको जड नै एलर्जी हो।
फ्यारेन्जाइटिस
घाँटीको माथिल्लो भागलाई फ्यारिक्स भन्ने गरिन्छ। जसमा विभिन्न प्रकारका अंगहरु हुन्छन्। कुनै पनि अंगहरुको संक्रमणलाई फ्यारेन्जाइटिस भन्ने गरिन्छ। फ्यारेन्जाइटिसको समस्यामा बढी मात्रामा देखिने टन्सिलको समस्या हो।
टन्सिलको मुख्य लक्षण घाँटी दुख्ने, ज्वरो आउने तथा थुक निल्न गाह्रो हुनु हो। हामी सबैलाई जीवनको कुनै न कुनै समय टन्सिलाइटिस भएकै हुन्छ।
एलर्जी राइनाइटिक्स
यो विभिन्न प्रकारका एलर्जीहरुको मिश्रण हो। एलर्जी हामी वरिपरिका वातावरणकै कारणले हुने गर्छ। जस्तैः हामी वरिपरि रहेका धुलोका कणहरु। त्यस्तै चिसो, गर्मी, खानेकुरा लगायतका कारण नाक आवश्यकभन्दा बढी संवेदनशील हुने गर्छ। जसका कारण बारम्बार हाच्छ्युँ आउने, नाकबाट पातलो सिँगान बग्ने जस्ता समस्या आउने गर्छन्, जसलाई एलर्जी राइनाइटिक्स भन्ने गरिन्छ।
पिनासको समस्या
मानिसको अनुहारको हड्डीमा विभिन्न प्रकारका खाल्डोहरु रहेका हुन्छन्। यदि ती खाल्डोहरुमा संक्रमण भएर सुन्निएको अवस्थामा नाक बन्द हुने, पहेंला सिँगान आउने, अनुहार दुख्ने जस्ता लक्षणहरु देखिएको अवस्थामा पिनास भएको भन्न सकिन्छ।
एलर्जीको कारण हुन्छ नाक, कान र घाँटीको समस्या
माथि उल्लेखित समस्याहरु चिसोभन्दा पनि बढी एलर्जीको कारणले हुने गर्छ। एलर्जी भएपश्चात् उक्त समस्या नदोहोरियोस् भन्नका लागि चिकित्सकहरुले बिरामीलाई दिने परामर्श एकदमै महत्वपूर्ण छ।
एलर्जी राइनाइटिक्सको मुख्य कारण चिसो भएकोले यो समस्या बढी चिसोमा देखिने गर्छ। यद्यपि, ८० प्रतिशत मानिसलाई घर भित्र भएको धुलोका कारण यो समस्या हुने गर्छ।
चिसोमा कसरी जोगिने ?
– घर भित्र रहने त्यस्ता धुलोका कणहरुलाई हटाउन सकेमा यस समस्याबाट छुटकारा पाउन सकिन्छ।
– घर भित्र धुलोका कणहरु जम्न दिनु हुँदैन। त्यसका लागि बेलाबेलामा घर भित्रको सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ। यद्यपि, यस्तो समस्या भएका व्यक्तिहरुले भने सरसफाइको काम नगरेको राम्रो मानिन्छ। यदि गर्नुपरेको अवस्थामा डबल मास्कको प्रयोग गर्नुपर्ने हुन्छ।
– नाक र घाँटीलाई सधैं तातो बनाएर राख्नुपर्ने हुन्छ।
– कसै–कसैलाई निश्चित खानेकुराको सेवनले यस प्रकारको समस्या देखिने भएकोले त्यस्तो खानेकुराको सेवन गर्नु हुँदैन।
– एलर्जी हुन नदिएको अवस्थामा पिनास पनि हुन पाउँदैन।
– मास्कको प्रयोग गर्ने।
माछा, दही, केराले गर्दैन हानि
माछा, दही, केरा लगायतका केही खानेकुराले घाँटी खराब गर्छ भन्ने धारणा नेपाली समाजमा रहेको छ। यसमा सत्यता छैन। यो एक भ्रम मात्रै हो।
चिसो खानेकुरा पेटमा जाने भएकोले छाती तथा नाकसँग त्यस्ता खानेकुराको खासै सम्बन्ध हुँदैन।
(डा मिश्र नाक, कान र घाँटी रोग विशेषज्ञ हुन्।)