काठमाडौं- नाकसम्बन्धी समस्या पिनास, नाकमा मासु पलाउने, ट्युमर लगायतका समस्याहरुमा नचिरीकन नै दूरबिनको सहायताबाट शल्यक्रिया गरिने नयाँ प्रविधि अर्थात् इन्डोस्कोपी साईनक्स सर्जरी देशव्यापी रुपमा लैजाने प्रयास गरिएको छ।
उक्त प्रयास स्वरुप त्रिवि शिक्षण अस्पतालमा स्वदेशी तथा विदेशी चिकित्सकहरुको ३ तीन दिने वर्कशप सम्पन्न भएको छ । देशव्यापी रुपमा उक्त सेवालाई विस्तार गर्नका लागि नेपाल भरका करिब ५० जना चिकित्सकहरुद्वारा उक्त उपचारको अभ्यास गरिएको प्रोफेसर डा बिभु प्रधानले बताइन् ।
उक्त वर्कशप नेपालमा १२ औं पटक सम्पन्न भएको डा प्रधानले बताइन् । यस प्रकारको वर्कशप नेपालमा त्रिवि शिक्षण अस्पतालले मात्रै गर्ने गरेको उनी बताउँछिन् । 'नेपालमा सरकारी स्तरको त्रिवि शिक्षण अस्पतालमा यस प्रकारको सर्जरीको सुरुवात भएको करिब २० वर्ष भइसक्दा पनि यसलाई देशव्यापी बनाउन सकिएको छैन, त्यसकारण यस प्रकारको वर्कशप गरिएको हो,' डा प्रधानले स्वास्थ्य खबरसँग भनिन् ।
चिरफारबिना दुरबिनको सहायतले यसप्रकारको शल्यक्रिया गर्ने गरिन्छ । यस प्रकारको सर्जरी नाकमा गरिए पनि दुरबिनको सहायतले मस्तिष्कसम्म पनि पुग्न सकिने डा प्रधानले बताइन् । सर्जरीका क्रममा अनुहारको कही कतै चोट लगाउन आवश्यक हुँदैन । यस प्रकारको सर्जरीले बिरामीको अस्पताल बसाईंको अवधि छोट्याउनका लागि शल्यक्रियाका क्रममा हुने पीडालाई समेत कम गर्छ ।
पेटमा गरिने ल्याप्रोस्कोपी सर्जरी तथा नाकमा गरिने इन्डोस्कोपी सर्जरी उस्तै प्रकृतिका हुन् । यद्यपि सर्जरीको पुरानो प्रविधिको तुलनामा यो विधिमा प्रयोग हुने औजार तथा उपकरण नै महंगो हुने भएकोले यो विधि तुलनात्मक रुपमा केही महँगो भएतापनि यसका फाइदा धेरै रहेको डा प्रधानको भनाइ छ ।
नाकमा कस्ता समस्या हुँदा गरिन्छ इन्डोस्कोपी सर्जरी ?
नाकमा पिनास हुँदा, मासु पलाउँदा, नाकको ट्युमर, नाकको क्यान्सर लगायतका समस्यामा यस प्रकारको शल्यक्रिया गर्ने गरिन्छ । साथै नाकबाट मस्तिष्कको पानी बग्ने खालका जटिल प्रकारको समस्यामा समेत यस प्रकारको शल्यक्रिया गर्ने गरिन्छ ।
यसप्रकारको सर्जरी निम्न तथा मध्यम वर्गीय मानिसहरुको समेत पहुँचमा रहेको डा प्रधान बताउँछिन् । उनका अनुसार नेपालको त्रिवि शिक्षण अस्पतालमा यस प्रकारको शल्यक्रियाका लागि बिरामीले २५ देखी ३० हजारसम्म खर्च गर्नुपर्ने हुन्छ । निजी अस्पतालमा भने केही महँगो पर्ने उनको तर्क छ ।
सर्जरी पछिका जटिलता
यो सर्जरी एकपटक गरेपश्चात् पछि कुनै समस्या नआउने भने होइन । सर्जरी पश्चात् नियमित रुपमा नाकको सरसफाईमा विशेष ध्यान दिनुपर्ने हुन्छ । सर्जरी सकिएपछि पनि चिकित्सकसँग फलो अप तथा नियमित परामर्शमा रहनु आवश्यक हुने डा प्रधान बताउँछिन् । लामो समयसम्म परामर्श तथा फलो अप नहुँदा समस्या फेरि दोहोरिने जोखिम रहन्छ । सर्जरी पश्चात् चिकित्सकको सल्लाह अनुसार ३ देखी ६ महिनासम्मको फलो अपमा बस्नुपर्ने हुन्छ । यस प्रकारको समस्या जुनसुकै उमेर समूहका मानिसमा हुनसक्छ।