काठमाडौं- बेलायतको नेसनल हेल्थ सर्भिस अन्तर्गतका जुनियर चिकित्सकहरुले ६ दिने हड्ताल थालेका छन्। उनीहरुले आफूलाई दिइएको तलबले जीवनयापन गर्न मुश्किल भएको भन्दै आन्दोलन थालेका हुन्।
बेलायतको इतिहासमै चिकित्सकले यति लामो हडताल थालेको पहिलोपटक भएको त्यहाँका सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
उनीहरुले बुधबार बिहान ७ बजेदेखि थालेका हुन् भने आगामी मंगलबारसम्म जारी रहने बताइएको छ। यसअघि गत वर्षको जुलाइमा पाँच दिने हडताल गरिएको थियो।
ब्रिटिस मेडिकल एशोसिएसन र सरकारबिच लामो समयदेखि जारी तलब विवादको परिणाम यो हडताल हो।
एशोसिएसनका अनुसार जुनिएर डाक्टरको तलब मुद्रास्फितिका अनुसार सन् २००८ देखि २६ प्रतिशतले कटौती गरिएको छ। त्यसैले ३५ प्रतिशतले तलब बढाउन एशोसिएसनले माग गरेको छ। तर, सरकारले त्यत्रो बढाउन नसकिने बताउँदै आइरहेको छ।
गत वर्षको हडतालपछि सरकारले ८.८ प्रतिशले जुनियर डाक्टरको तलब बढाएको थियो। तर, त्यो पर्याप्त नरहेको डाक्टरहरुको भनाइ छ।
डाक्टरहरुको हडतालका कारण ९० हजार बिरामीको जाँच र अप्रेसन पर सारिसकिएको छ।