काठमाडौं– काठमाडौं मेडिकल कलेज (केएमसी)का आवासीय चिकित्सक ड्युटी छाडेर आन्दोलनमा उत्रिएका छन्। केएमसीले स्नातकोत्तर तह दोस्रो वर्षमा अध्ययनरत आवासीय चिकित्सक डा विशद दाहाललाई निलम्बन गरेको विरोधमा उनीहरु आन्दोलनमा उत्रिएका हुन्।
आवासीय चिकित्सकले क्याम्पमा खटिँदा अमानवीय व्यवहार भएको भन्दै उक्त कार्य रोक्न माग गरेका थिए। उनीहरुले कलेज प्रशासनसहित चिकित्सा शिक्षा आयोगमा समेत उजुरी दिएका थिए।
विद्यार्थीहरुले शिविरका क्रममा कलेज प्रशासनले एक छाक मात्र खान दिने, रातभर यात्रा गराए बिहान सबेरै सयौं बिरामी जाँच गर्न लगाउने, शिविरकै क्रममा एक जना आवासीय चिकित्सकलाई गम्भीर रक्तश्राव तथा छारे आउँदा समेत शिविर नरोकिएको लगायतका समस्या देखिएको भन्दै शिविरका नाममा हुने अमानवीय व्यवहार रोकिनु पर्ने बताउँदै आइरहेका थिए।
कलेज प्रशासनले उक्त कार्यको अगुवाइ डा दाहालले लिएको भन्दै पहिलो चरणमा उनीमाथि कारबाही गरेको आवासीय चिकित्सकहरुले बताएका छन्। उनीहरुले अन्याय विरुद्ध आवाज उठाउँदा कारबाही गरिएको भन्दै उक्त निर्णय तत्कालै फिर्ता लिन माग गरेका छन्।