ल्याप्रोस्कोपी सर्जरी गर्दा अंगहरुमा पीडा हुने सम्भावना एकदमै न्यून हुन्छ। कतिपयलाई ल्याप्रोस्कोपी सर्जरीले महिनावारीमा गडबडी हुन्छ भन्ने भ्रम छ। तर त्यो साँचो होइन।
पेट नचिरी दूरबिनको सहायताबाट गरिने शल्यक्रियालाई ल्याप्रोस्कोपी शल्यक्रिया भन्ने गरिन्छ। पित्तथैलीको समस्या, हर्निया, मोटोपना, पाठेघरका विभिन्न समस्यामा ल्याप्रोस्कोपी सर्जरी प्रभावकारी तथा पूर्ण रुपमा सुरक्षित मानिएको छ।
के हो ल्याप्रोकोस्पी सर्जरी?
साधारणतया ल्याप भन्नाले पेट र सर्जरी भन्नाले शल्यक्रिया हो। सानो क्यामेरा या लेन्सबाट हेरेर गरिने सर्जरी नै ल्याप्रोस्कोपी सर्जरी हो। पेटमा आवश्यकता अनुसार दुईदेखि चार वटासम्म प्वाल बनाएर पेट भित्रका अंगहरुलाई स्क्रिनमा ट्रान्सफर गरी वा स्क्रिनमा हेरेर गर्ने शल्यक्रियालाई ल्याप्रोस्कोपी शल्यक्रिया भन्ने गरिन्छ। यस विधिमा भित्रको अंगलाई बाहिर स्क्रिनमा हेरेर शल्यक्रिया गरिन्छ।
यो एक प्रकारको मेजर सर्जरी नै भए पनि शरीर भित्रका समस्या भने मेजर सर्जरीमा जस्तो हुँदैन। घाउ अलिअलि मात्रै दुख्ने भएकोले बिरामीले यो मेजर सर्जरी हो भन्ने अनुभव समेत गर्न पाउँदैनन्।
कस्ता समस्यामा ल्याप्रोस्कोपी सर्जरी गर्न सकिन्छ?
विभिन्न प्रकारका पत्थरीहरुको शल्यक्रियामा इन्डोस्कोपी सर्जरी धेरै पहिलादेखि नै चलिआएको छ। यद्यपि, ल्याप्रोस्कोपी सर्जरीको विधि स्त्री तथा प्रसूति रोग विशेषज्ञले पत्ता लगाएका हुन्। पछिल्लो समय विभिन्न विधाका शल्यचिकित्सकहरुले यस विधिको प्रयोगलाई बढावा दिएका छन्।
स्त्री तथा प्रसूति रोग सम्बन्धी पाठेघर निकाल्ने शल्यक्रिया, पाठेघरको ट्युमर निकाल्ने, डिम्बासयको ट्युमर निकाल्ने शल्यक्रिया, एक्टोपिक प्रेग्नेन्सी, बाँझोपनको समस्यामा बच्चा बसाउनका लागि नली खुलाउने शल्यक्रिया लगायत स्त्री रोग सम्बन्धी जुनसुकै शल्यक्रियाका लागि ल्याप्रोस्कोपी सर्जरी पछिल्लो समय प्रख्यात छ।
कहाँ–कहाँबाट पाउन सकिन्छ ल्याप्रोस्कोपी सर्जरी सेवा?
परिवार नियोजनका लागि सन् १९७५ देखि नै ल्याप्रोस्कोपी सर्जरी सेवा सुरु भएको हो। स्त्री तथा प्रसूति रोगको उपचारका लागि भने सन् २००० बाट मात्रै ल्याप्रोस्कोपी सर्जरीको सुरुवात भएको हो। पछिल्लो एक दशकमा भने धेरै अस्पतालहरुले यस विधिबाट सर्जरी गर्न थालिसकेका छन्। नेपाल सरकारको स्वामित्वमा रहेको अस्पतालको हकमा भन्नुपर्दा स्त्री तथा प्रसूति रोगको उपचारमा परोपकार तथा प्रसूति रोग अस्पतालबाट यसको पहिलो पटक थालनी गरिएको थियो।
सन् २०१५ को डिसेम्बरबाट परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालले यस विधिद्वारा शल्यक्रिया गर्न सुरु गरेको थियो। त्यस लगत्तै निजी स्तरका ओम, ग्रान्डी, मेडिसिटी, अलका, काठमाडौं मोडल, काठमाडौं मेडिकल कलेज, ह्याम्स लगायतका अस्पतालले यस विधिद्वारा शल्यक्रिया सुरु गरेका हुन्।
ल्याप्रोस्कोपीको माध्यमबाट ठूलाठूला सर्जरी गर्ने चिकित्सकको अग्र स्थानमा डाक्टर ज्ञानेन्द्रमान कार्कीको नाम आउँछ। त्यसलगत्तै पाटन अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पवनकुमार शर्माले यस विधिको सुरुवात गरेका थिए।
हाल काठमाडौंमा १० देखि १२ जना स्त्री रोग विशेषज्ञहरुले ल्याप्रोस्कोपी सर्जरी नियमित रुपमा गर्ने गरेका छौं। काठमाडौं बाहिर पनि एक÷दुई ठाउँमा ल्याप्रोस्कोपी सर्जरी हुने गरेको छ। काठमाडौं बाहिरको कुरा गर्नुपर्दा वीरगञ्जमा डाक्टर जगतदीप, पोखरमा डा बन्दना गुरुङ तथा नेपालगञ्जमा डा कीर्तिपाल सुवेदी लगायतबाट उपत्यका बाहिर पनि धेरै स्थानमा हाल ल्याप्रोस्कोपी सर्जरी हुने गरेको छ।
ओपन सर्जरीभन्दा ल्याप्रोस्कोपी सर्जरी धेरै नै फाइदाजनक हुन्छ। सबैभन्दा महत्वपूर्ण कुरा त यस प्रकारको सर्जरीमा सानो घाउ पारिएको हुन्छ। यसमा टाँकाको आवश्यकता नपर्ने, दुखाइ कम हुने, शल्यक्रियाका क्रममा रक्तस्राव कम हुने, बिरामीले शल्यक्रियाको १२ घन्टामा नै सामान्य खाना खान सक्ने तथा शल्यक्रियाको २४ घन्टा भित्रै सबै बिरामीको डिस्चार्ज हुने गर्छन्। बिरामी सामान्यतया ७ दिन भित्रै आफ्नो दैनिकी चलाउन सक्षम हुन्छन्।
पाठेघर बाहिरको सम्पूर्ण अवस्था ल्याप्रोस्कोपी विधिद्वारा थाहा पाउन सकिन्छ। पाठेघर भित्रको इन्डोमेटिएम तथा यूटेरस भित्रको क्याभिटी भने योनीबाट हिस्टेरोस्कोप छिराएर हेर्न सकिन्छ। पाठेघरको भित्री भागमा रहेको ट्युमर निकाल्नका लागि हिस्टेरोस्कोपको प्रयोग गरिन्छ। ल्याप्रोस्कोप तथा हिस्टेरोस्कोप दुई विधिद्वारा पाठेघरको सम्पूर्ण रोगको पहिचान तथा उपचार गर्न सकिन्छ।
अविवाहितमा देखिने पीसीओ समस्यामा ल्याप्रोस्कोपी सर्जरी कत्तिको प्रभावकारी देखिन्छ?
यस समस्याको उपचारका लागि हर्माेन तथा अल्ट्रासाउन्डको प्रयोग गरिन्छ। यदि बच्चा नभएका महिलामा यस प्रकारको समस्या देखिएमा चिकित्सकले फूल बन्ने औषधि दिने गर्छन्। बच्चा नचाहनेहरुलाई भने साइकिल नियमित रुपमा गराइन्छ। पीसीओले कतिपय अवस्थामा हर्माेनलाई समेत रेस्पोन्ड गर्दैन। यस्तो अवस्थामा ल्प्रोकोस्पीद्वारा ओभरीको क्याप्सुललाई ड्रिल गरेर छोड्ने गरिन्छ। जस विधिमा ओभरीमा ४ देखि ६ वटा प्वाल पारिन्छ। त्यसपश्चात् औषधिले विस्तारै काम गर्न थाल्छ।
बाँझोपनाको उपचारमा ल्याप्रोस्कोपी विधिको भूमिका
बाँझोपनको उपचारमा ल्याप्रोस्कोपी विधिको भूमिका महत्वपूर्ण हुन्छ। बाँझोपनको कारण पहिचान तथा उपचारमा समेत ल्याप्रोस्कोपी विधिको भूमिका महत्वपूर्ण हुन्छ। पाठेघरको क्याभिटीको अवस्था, नलीको अवस्था लगायतका समस्या समाधानका लागि ल्याप्रोस्कोपी तथा हिस्टेरोस्कोपीको भूमिका महत्वपूर्ण हुने गर्छ। टेस्ट ट्युब बेबी फेल भएको अवस्थामा पनि ल्याप्रोस्कोपी तथा हिस्टेरोस्कोपी गर्ने गरिन्छ।
पाठेघर भित्र भएको सानो–सानो ट्युमर जुन ल्याप्रोस्कोपीले देख्दैन, त्यसलाई हिस्टेरोस्कोपीको आवश्यकता पर्छ। पाठेघरमा दुई वटा हाँगा भएको अवस्थामा त्यसलाई एउटा बनाउने, पाठेघर भित्र स्प्टम रहेको अवस्थामा यसलाई काटेर एउटै बनाउने, पटक–पटक गर्भपतन भएको अवस्थामा पाठेघरको साइज मिलाउने जस्ता उपचारमा समेत यस विधिको प्रयोग हुने गर्छ। ल्याप्रोस्कोपी तथा हिस्टेरोस्कोपी बिना बाँझोपनको उपचार सम्भव छैन।
ल्याप्रोस्कोपी सर्जरी कसरी भइरहेको छ भनेर स्क्रिनमा समेत हेर्न सकिन्छ। त्यसलाई आवश्यकता अनुसार सानो वा ठूलो बनाउन सकिन्छ। यस प्रकारको सर्जरीमा अंगहरुलाई ६ देखि १० गुणासम्म ठूलो पारिएको हुने भएकोले सानो कुरालाई समेत ठूलो देख्न सकिन्छ। त्यसैले ल्याप्रोस्कोपी सर्जरीमा अंगहरुमा पीडा हुने सम्भावना एकदमै न्यून हुन्छ। कतिपयलाई ल्याप्रोस्कोपी सर्जरीले महिनावारीमा गडबडी हुन्छ भन्ने भ्रम छ। तर त्यो साँचो होइन।
(डा गौतम वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन्।)