नेपाल सरकारको स्वामित्वमा रहेको एक मात्रै केन्द्रीय स्तरको बाल अस्पतालका रुपमा कान्ति बाल अस्पतालले रेफरल सेन्टरका रुपमा सेवा दिइरहेको छ। अत्याधिक बिरामीको चाप हुने यस अस्पतालले २५ वर्ष अगाडिकै जनशक्तिले सेवा दिदैं आएको छ। आगामी दिनमा कान्ति बाल अस्पताल सुधारका योजना,दैनिक सेवा प्रदान गर्नका लागि विद्यमान चुनौती तथा पछिल्लो समय भएका सुधारका विषयमा केन्द्रिंत भई कान्ति बाल अस्पतालका निर्देशक डा पंकज रायसँग स्वास्थ्य खबरका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानीः
कान्ति अस्पतालको निर्देशक भएसँगै अस्पताल सुधारका लागि के –के काम गर्नुभयो?
नेपाल सरकारको स्वामित्वमा रहेको एक मात्रै केन्द्रीय स्तरको बाल अस्पतालका रुपमा रहेको यस अस्पतालले बाल रोगको उपचारमा रेफरल सेन्टरको रुपमा सेवा दिदैं आइरहेको छ। त्यसकारण यहाँ बिरामीको अत्याधिक चाप हुने गर्छ। जाडो महिनाको तुलनामा गर्मीमा यहाँ बिरामीको अत्याधिक चाप हुने गर्छ। ओपिडी तथा इमर्जेन्सीमा गरी देशभरबाट करिब दैनिक हजार भन्दा बढी बालबालिकाको उपचारका कान्ति अस्पताल आउने गर्छन्।
केही महिना अगाडि मात्रै कान्ति बाल अस्पतालमा इमर्जेन्सी सेवा लिन आएकी बालिकाको उपचारका लागि पालो कुर्दा कुर्दै मृत्यु भएको थियो।उक्त घटनापछि यस अस्पतालले इमर्जेन्सीमा उपचारका लागि आएका बिरामीहरुको वर्गीकरण गरि उपचार दिने व्यवस्था लागू गरेको छ। जसमा सिकिस्त अवस्थामा रहेका बिरामीलाई रेड जोन,कम सिकिस्तलाई रेड यलो तथा ओपिडीमा समेत उपचार गर्ने बिरामीलाई ग्रीन जोनमा राखी उपचार गर्न प्रारम्भ गरि सकिएको छ।
रेड जोनमा भएका बिरामीलाई तत्कालै उपचार गर्नुपर्ने हुन्छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार यलोमा वर्गिकृत बिरामीलाई ४ घन्टा पश्चात् उपचार दिदाँ पनि फरक नपर्ने अन्तर्राष्ट्रिय मान्यता रहेको छ। ओपिडी तथा ग्रीन जोनमा वर्गीकृत बिरामीलाई ६ देखि ८ घन्टाभित्र हेर्ने गरिन्छ। उपचारका लागि आएका बिरामीको उपचार नपाएर मृत्यु हुने सक्ने भन्दै अस्पतालले यस प्रणाली अनुसार सेवा दिन लागेको हो।
अस्पतालमा दैनिक रुपमा सेवा प्रवाह गर्दाे के कस्ता कठिनाईहरुको सामना गर्नुपरेको छ?
अस्पतालले विसं २०५४ सालमा नेपाल सरकारले निर्धारण गरेको दरबन्दी अनुसार सेवा दिदैं आइरहेको छ। बिरामीको चाप अत्यधिक बढ्दो अवस्थामा पनि एकदमै कम जनशक्तिले सेवा दिनुपर्दाे बिरामीको चापलाई धान्न एकदमै धौधौको अवस्था रहेको छ। गर्मीयाममा आकस्मिक कक्षको एउटै बेडमा ४ जनासम्म बच्चा राखेर उपचार गर्नुपर्ने बाध्यतामा हामी रहेका छौं। जाडोमा भने बिरामीको चाप केही कम हुने गर्छ। अस्पताल ३५२ बेडमा सञ्चालित छ। कान्ति अस्पतालमा कार्यरत एकै जना नर्सले ५ जना बराबरको काम गर्नुपर्ने बाध्यता रहेको छ।
यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुले एकदमै चापकाबीच काम गर्नुपर्ने बाध्यता रहेको छ। यद्यपि सेवाग्राहीको विश्वास जितेको यस अस्पतालमा स्वास्थ्यकर्मीहरुले अब्बलतापूर्वक काम गरेको अवस्था छ। यद्यपि डिपिआर परियोजना अन्तर्गत यस अस्पताललाई १ हजार बेड संख्यामा अगाडि बढाउने कार्यले निरन्तरता पाइरहेको छ। यससँगै कान्ति बाल अस्पताललाई बाल रोग अध्ययन प्रतिष्ठान बनाउने कार्यसमेत अन्तिम चरणमा पुगिसकेको छ। यसपश्चात् भौतिक संरचना फराकिलो हुँदै जाने तथा सेवा प्रवाहमा सहज हुनेछ। अस्पताललाई १ हजार बेडमा परिणत गरेपश्चात् सेवा प्रवाहका लागि चाहिने दक्ष जनशक्तिका लागि ओनएएम सर्भे समेत भइसकेको अवस्था छ।
त्यसो भए कान्ति बाल अस्पताल प्रतिष्ठानका रुपमा चाँडै नै परिणत हुँदैछ?
प्रतिष्ठान बन्ने पथमा कान्ति बाल अस्पताल अगाडि बढिसकेको अवस्था छ। केही समय लाग्ला तर कान्ति बाल अस्पताललाई जति सक्दो चाँडै प्रतिष्ठानका रुपमा अगाडि बढाउने कार्यमा हामीले काम गरिरहेको अवस्था छ। अस्पतालमा आकस्मिक र ओपिडी सेवाका लागि दैनिक १ हजार देखि १२ सय बिरामीसम्म आउने गरेका छन्।
अस्पतालमा बिरामीमैत्री भएका सुधारका कामहरु के के हुन्?
कान्ति बाल अस्पतालमा उपचारका लागि आउने बिरामीहरुको आइसियू नपाइएको गुनासो आउने गरेका छन्। विगतमा १२ बेडमा सञ्चालित आइसियूलाई बढाएर १५ बेडको बनाइएपनि त्यो पर्याप्त छैन। त्यस्तै पिआईसियूको बेड संख्या बढाएर १८, एनआइसियूको १५ बेड,जलन कक्षमा एचडियू सञ्चालन गरिएको छ। त्यस्तै अस्पतालमा डिजिटल तथ्यांक राख्ने प्रणाली बनाइएको छ। जनशक्ति अभावको समस्यालाई हटाउनका लागि विकास समितीद्वारा केही जनशक्ति व्यवस्थापन गरिएको छ।
अस्पतालमा जनगुनासो तथा सुचना अधिकारीलाई अझै सक्रिय बनाइएको छ। जापानको जाइका कम्पनीले कान्ति बाल अस्पताललाई सिटीस्क्यान मेसिन दिएको छ। उक्त अत्याधुनिक सिटीस्क्यान १२८ स्लाइसको हो। कान्ति बाल अस्पतालमा १६ स्लाइसको सिटीस्क्यान रहेको थियो। त्यस्तै हाम्रो अस्पतालमा यसअघि एमआरआई सेवा थिएन। अब चाँडै नै कान्ति बाल अस्पतालमा एमआरआई सहितको सेवा प्रदान हुनेछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कान्ति बाल अस्पताललाई सकारात्मक रुपमा सहयोग प्राप्त भएको छ। त्यस्तै अस्पतालमा कार्यरत विभिन्न तहका जनशक्तिले एकदमै चापका बिच पनि काम गरिरहेको अवस्था छ।
हामीले भएको स्रोत साधनको अधिकतम प्रयोग गरेर सेवा दिइरहेको अवस्था छ। कान्ति बाल अस्पताल जनविश्वास जितेको अस्पताल भएकोले यसले प्रदान गर्ने सेवालाई अझै चुस्त दुरुस्त बनाउँदै लैजाने पथमा हामी रहेका छौं। नेपाल सरकार तथा विभिन्न दातृ निकायको सहयोगमा कान्ति बाल अस्पतालले हांसिल गरेका विभिन्न उपलब्धीहरुले कान्ति बाल अस्पतालमा भएको सुधारको अनुभूति सम्पूर्णले गर्नुहुनेमा म विश्वस्त छु।