काठमाडौं- चिकित्सा शिक्षा आयोगको रिक्त रहेको चार वटा निर्देशक नियुक्तिका लागि भइरहेको प्रक्रिया अदालतमा पुगेको छ। निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले काम अगाडि बढाइरहेको विषयमा चित्त नबुझेपछि उच्च अदालतमा मुद्दा परेको थियो। उक्त मुद्दाको पेसी पुस २६ गतेलाई तोकिएको छ।
अदालतमा मुद्दा परेपछि आयोगको परीक्षा निर्देशनालयको निर्देशक नियुक्ति प्रक्रिया पनि रोकिएको छ। जसका कारण विद्यार्थीहरुमा पूर्व निर्धारित परीक्षा तालिका के हुने भन्ने विषयमा अन्यौल सिर्जना भएको छ। परीक्षाका निर्देशक नियुक्तिमा ढिलाइ हुने देखिएपछि विद्यार्थीहरुले माघ तेस्रो साताका लागि तोकिएको परीक्षा समयमा नै हुने हो किन होइन? सर्ने पो हो कि भन्ने जिज्ञासा राखेका हुन्।
विद्यार्थीहरुको उक्त जिज्ञासाका विषयमा जवाफ दिँदै आयोगका उपाध्यक्षले परीक्षा निर्धारित मितिमा नै हुने जानकारी दिए। 'परीक्षा तालिका अनुसार तोकिएको समयमा नै हुन्छ,' उनले भने, 'नियुक्ति प्रक्रिया रोकिँदैमा पूर्व निर्धारित कार्यतालिका परिवर्तन हुँदैन।'
आयोगले स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षा माघ २० देखि २२ गतेसम्म लिने गरी कार्यतालिका बनाएको छ। स्नातक तहको पनि म्याचिङको काम भइरहेको छ।
अदालतमा मुद्दा परेपछि आयोगमा परीक्षा निर्देशनालयसहित मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी तीन वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्तिको काम रोकिएको छ।
निर्देशकका लागि नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालको संयोजकत्वमा समिति बनेको थियो। समितिमा प्राडा रमेशकान्त अधिकारी र प्राडा बुद्धिबहादुर थापा सदस्य छन्।