काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले आगामी शैक्षिक सत्र देखि एमबीबीएस तथा स्नातक तहका अन्य विषय अध्यापनका लागि आवश्यक गृहकार्य अगाडि बढाएको छ।
न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतका अनुसार यसका लागि अध्ययन प्रतिवेदन बुझाउने गरी शिक्षाध्यक्ष प्राडा लोचन कार्कीको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको छ।
समितिमा डा अशेष ढुंगाना, डा पवन हमाल, डा सन्ध्या चापागाईं, डा अनुपमा कार्की,.प्रशासन र लेखा शाखाका प्रतिनिधि सदस्य रहेका छन्।
'हामीले एमबीबीएस लगायतका विषयको अध्ययन अध्यापन सुरु गर्नका लागि गृहकार्य अगाडि बढाएका हौं,' उनले भने 'यसका लागि समिति बनेको छ। समितिले भौतिक पूर्वाधार जनशक्ति बजेट लगायत के कति विषय आवश्यक पर्छ भन्ने विषयमा विस्तृत अध्ययन गरेर सुझाव पेश गर्ने छ। सोही आधारमा हामी अगाडि बढ्छौं।'
उनका अनुसार स्वास्थ्य मन्त्री मोहन बस्नेतले सरकारी अस्पताल तथा प्रतिष्ठानमा चिकित्सा शिक्षाका विषयहरु के के अध्ययन अध्यापन गराउन सकिन्छ भन्ने विषयको विवरण माग गरेपछि न्याम्सले पनि उक्त विषयमा अध्ययन गरेर अध्ययन अध्यापन गराउन सक्ने विषयका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको हो।