डा बद्री रिजालले विगत ६ महिनादेखि राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी सम्हालिरहेका छन्। उनी ट्रमा सेन्टरको स्थापना कालदेखि कार्यरत चिकित्सक हुन्। पछिल्लो समय राष्ट्रिय ट्रमा सेन्टरमा भइरहेका कार्यहरु, सेन्टरको विकासका लागि बनाइएका योजना तथा सेन्टरले हासिल गरेका उपलब्धिका विषयमा स्वास्थ्यखबरका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानी:
राष्ट्रिय ट्रमा सेन्टरले कसरी सेवा प्रदान गरिरहेको छ?
राष्ट्रिय ट्रमा सेन्टर नेपाल सरकारको एक टर्सरी लेभलको सेन्टर हो। ट्रमा उपचारका लागि नेपाल सरकारको स्वामित्वमा रहेको एक मात्रै अस्पताल राष्ट्रिय ट्रमा सेन्टर हो। कुल २ सय बेडमा सञ्चालित यस अस्पतालमा बिरामीको चाप अत्याधिक छ। बिरामीको अत्याधिक चापका कारण कुनै समय अस्पतालले ट्रलीमा समेत राखेर उपचार सेवा दिँदै आएको छ।
तपाईंले ट्रमा सेन्टरको प्रमुखको जिम्मेवारी लिएपछि भएका सुधारका कामहरु के–के हुन्?
मैलै ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी पाएको करिब ६ महिनामा सुधारका केही कामहरु भइसकेका छन् भने केही हुने क्रममा छन्। ट्रमा सेन्टरले १० आइसियू बेडबाट सेवा दिँदै आएकोमा अहिले त्यसमा बेड थप्दै १९ बेडमार्फत् सेवा प्रदान गरिरहेका छौं। त्यस्तै अस्पतालमा इ-टिकटको व्यवस्था, विशेषज्ञ डाक्टरसहित इमर्जेन्सी सेवालाई व्यवस्थित बनाउने, इमर्जेन्सी उपचारमा आएका बिरामीहरुको सेवालाई मध्यनजर गर्दै भेन्टिलेटरको व्यवस्था गरिएको छ। २४ सै घन्टा इमर्जेन्सीमा कन्सल्टेन्ट चिकित्सकको व्यवस्था पनि छ। ट्रमाको उपचारका लागि आएका बिरामीलाई डायलाइसिस गर्नुपर्ने भएमा वीर अस्पतालमा लानुपर्ने बाध्यता थियो त्यसको अन्त्यका लागि ट्रमा सेन्टरको आइसियूमा नै डायलाइसिस् मेसिन जडान गरिएको छ। अन्य सुधारका काम पनि टिमको सहयोगमा अगाडि बढाइरहेको छु। मेरो एकल प्रयास भन्दा पनि अस्पतालका सबैको टिमको साथ र सहयोगमा काम अगाडि बढेको हो।
पछिल्लो समय राष्ट्रिय ट्रमा सेन्टरमा बिरामीको चाप कस्तो छ?
हामीसँग क्षमता भन्दा बढी बिरामी लिनुपर्ने बाध्यता छ। देशैभरीबाट उपचारका लागि ट्रमा सेन्टर आइपुगेका बिरामीहरुलाई स्रोत साधनले भ्याएसम्मको सेवाको हामीले दिदैं आएका छौं। । दैनिक ३०० भन्दा बढीको संख्यामा बिरामीहरु ओपिडीमा तथा १ सय ५० को हाराहारीमा इमर्जेन्सीमा आउने गरेका छन्। यहाँको क्षमताभन्दा बढी बिरामी आएका कारण कतिपय बिरामी बाहिर जान बाध्य छन्। आइसीयू खाली नहुँदा कतिपय बिरामी अन्यत्र अस्पताल पुग्नु परेको छ। आइसियू तथा एचडियू विस्तारपछि धेरै संख्यामा बिरामीहरु लाभान्वित भएका छन्।
ट्रमा सेन्टरको विकासका लागि दीर्घकालीन योजनाहरु के-के छन्?
ट्रमा सेन्टरलाई विशिष्टीकृत ट्रमा सेन्टरको रुपमा अगाडि बढाउनका लागि मैलै केही योजनाहरु ल्याएको छु। यसका लागि सबै विधाका चिकित्सकहरु जस्तै न्यूरो, अर्थोपेडिक एउटै टिम अन्तर्गत राखेर उपचार दिनसकेको अवस्थामा बिरामीले पूर्ण ट्रमा केयर पाउन सक्छ भन्ने नीति अनुसार ट्रमा सेन्टर अगाडि बढ्न खोजिरहेको छ। त्यस प्रकारको सेवालाई विस्तार गर्नका लागि पूर्ण समय सेवा दिने चिकित्सकहरु पाउन समस्या हुनसक्छ। त्यसका लागि हाललाई भइरहेका चिकित्सकहरुबाट नै व्यवस्थापन गरिएको छ।
ट्रमाको उपचारका लागि एमआरआई मेसिन अत्यावश्यक मानिन्छ। त्यसका लागि हामीले स्वास्थ्य मन्त्रालयसँग कुरा गरिसकेका छौं। स्वास्थ्य मन्त्रालय यसका लागि सकारात्मक रहेको र आगामी दिनमा ट्रमा सेन्टरलाई एमआरआई मेसिन उपलब्ध गराउने वचन स्वास्थ्यमन्त्रीले दिइसकेको अवस्था छ। त्यस्तै अस्पतालमा रहेको १६ स्लाईसको सिटी पुरानो भइसकेको अवस्थामा नयाँ सिटीस्क्यान मेसिन खरिदका लागि समेत पहल गरिएको छ।
हाल ट्रमा सेन्टरको प्रशासनिक सेवा प्रदान गरिँदै आएको तेस्रो तलामा आइसियू तथा एचडियू विस्तार गर्ने योजना रहेको छ। ट्रमाको उपचारपछि बिरामीहरुको पुनर्स्थापनाका लागि बिरामीहरुको मनोबल बढाउन पुनर्स्थापना केन्द्रको स्थापनाका लागि जग्गा समेत हेरिसकेको अवस्था छ। त्यसका लागि प्रदेश र संघीय मन्त्रालयमासमेत कुरा भइसकेको छ। उक्त केन्द्र स्थापनाका लागि दाता समेत पाइसकेको अवस्था छ।
यसरी पुनर्स्थापना केन्द्र स्थापना गर्न सकेको अवस्थामा पैसाको अभावमा उक्त सेवा पाउन नसकेका बिरामीहरु लाभान्वित हुने छन्। यसका साथै राष्ट्रिय ट्रमा सेन्टरलाई शिक्षण प्रतिष्ठानका रुपमा स्थापना गर्नका लागि दीर्घकालीन योजना समेत रहेको छ। प्रदेश स्तरमा समेत ट्रमा सेन्टर स्थापना गर्ने सरकारको नीति रहेको छ, यसलाई बढावा दिँदै यस ट्रमा सेन्टरलाई प्रतिष्ठानको रुपमा स्थापना गरिने छ।
राष्ट्रिय ट्रमा सेन्टरलाई थप व्यवस्थित बनाउन कसरी काम गरिरहनुभएको छ?
ट्रमा सेन्टरको व्यवस्थापकको भूमिकामा रहेसँगै सबैको साथ तथा सहयोग पाएको छु। अस्पतालमा कार्यरत्त सम्पूर्ण चिकित्सक, नर्स तथा कर्मचारीहरुको सहयोगका कारण प्रभावकारी रुपमा काम भएको छ भन्ने मलाइ लाग्छ। यद्यपि गर्न बाँकी धेरै छ। गत वर्ष करिब ४ हजार मेजर सर्जरी भएका थिए। हाल दैनिक २५ –३० संख्यामा मेजर सर्जरी भइरहेको अवस्था छ। २४ सै घन्टा शल्यक्रिया सेवा उपलब्ध हुँदै आएको छ। यसमा सम्पूर्ण टिमकै योगदान महत्वपूर्ण रहेको छ। स्वास्थ्य मन्त्रालयबाट पनि राष्ट्रिय ट्रमा सेन्टरलाई सकारात्मक रुपमा सहयोग प्राप्त हुँदै आएको छ। सम्पूर्णको सहयोग तथा मेरो नेतृत्वले ट्रमा सेन्टरलाई एउटा उचाइमा लैजाने तरिकाले काम भइरहेको छ।
ट्रमा सेन्टरमा मेसिन तथा उपकरण खरिदको विषयमा गुनासा र विवादहरु आउने गरेका छन् नि?
ट्रमा सेन्टरका मेसिन तथा उपकरण बिरामीको चाप सँगसँगै बढी नै प्रयोग हुने गर्छन्। यसरी कार्य क्षमता भन्दा पनि बढी काम गर्नुपर्ने अवस्थामा मेसिन तथा उपकरणहरु बेला बखतमा बिग्रन सक्छन्। कतिपय व्यक्तिगत स्वार्थ भएका तथा ट्रमा सेन्टरले राम्रो गरेको हेर्न नचाहने मानिसहरुले आर्थिक हिनामिना भएको दुष्प्रचार गरिरहेका छन् भन्ने मलाई लाग्छ। त्यस्तै मेसिन तथा उपकरण खरिदका लागि हामीले नेपाल सरकारको सार्वजनिक खरिद ऐन अनुसार नै गर्ने गरेकोले यस्ता गलत प्रचारका लागि गरिएको मिडियाबाजी हो भन्ने मेरो बुझाइ छ। जसमा कुनै सत्यता रहेको छैन। यस्ता प्रचारले साँच्चै नै कुनै पनि संस्थाको भलो चाहने मान्छेलाई प्रोत्साहन गर्न सक्दैन। त्यस्ता दुष्प्रचार गर्ने सञ्चार माध्यम तथा व्यक्तिलाई कारवाही हुनुपर्छ।
सरकारी अस्पतालमा उपचारका लागि बिरामीहरुले चिकित्सकले राम्रो परामर्श नदिएको, बिरामी नहेरेको तथा घन्टौं कुर्नुपरेको जस्ता गुनासो गरेको पाइन्छ, यसमा तपाईं के भन्नुहुन्छ?
सरकारी अस्पतालमा बिरामी तथा स्वास्थ्यकर्मीको अनुपात नमिलेको अवस्था छ। एक चिकित्सकले दैनिक ५० जनासम्म पनि बिरामी हेर्नुपर्ने बाध्यता रहेको छ। यसरी चिकित्सकहरुलाई कामको अत्याधिक चाप हुँदा सेवामा गुणस्तर अवश्य पनि घट्छ नै। हाम्रो स्वास्थ्य प्रणाली ३० वर्ष पुरानो जनशक्तिले चलिरहेको अवस्था छ, त्यसैले गुणस्तरीय स्वास्थ्य सेवाका लागि स्वास्थ्यकर्मीहरुको जनशक्ति थप गरिनुपर्छ तथा चिकित्सकहरुले तनावरहित वातावरणमा काम गर्न पाउनुपर्छ।