काठमाडौं- स्वास्थ्य क्षेत्रमा स्वास्थ्य व्यवसायी नवराज बस्नेत विवादित छन्। कुनै समय रसायन तथा मेडिकल आपूर्ति गर्ने व्यवसायीहरुको छाता संस्था 'रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केम्सान)' का सदस्य समेत रहेका बस्नेत विवादित छविकै कारण केम्सानबाट अलग भएका छन्। केम्सानको पदाधिकारी रहँदा केम्सानको लेटर प्याड दुरुपयोग गरेको तथा संस्थाको नाममा किर्ते अभ्यास गरेको पाइएपछि उनी केम्सानबाट हटाइएका हुन्।
उनै बस्नेत पछिल्लो समय राजनीतिक नेताहरुको नाम लिँदै अस्पताल निर्देशकहरुलाई आफ्ना उपकरण तथा मेडिकल सामग्री खरिदका लागि दबाब र धम्की दिँदै आएपछि फेरि विवादमा आएका छन्। बस्नेत विश्व बैंकको कालो सूचीमा परेका व्यापारी हुन्।
विश्व बैंकले उनीसहित उनको कम्पनीलाई समेत कालो सूचीमा राखेको छ। स्वास्थ्यखबरले विश्व बैंकले उनी र उनको कम्पनीलाई किन कालो सूचीमा राखेको हो भन्ने विवरण माग गरेको थियो। सो क्रममा विश्व बैंकले उपलब्ध गराइएको विवरण अनुसार बस्नेत र बस्नेतको कम्पनी 'अनियमितता, ठगी र भ्रष्टाचारजन्य कार्यमा संलग्न' रहेको पाइएपछि कालो सूचीमा राखेको तथ्य भेटिएको छ।
विश्व बैंकले आफ्नो 'प्रोक्युरमेन्ट गाइडलाइन' (खरिद निर्देशिका) विपरित काम गरेको फेला परेपछि व्यावसायी बस्नेत र उनको कम्पनी नेशनल बायोमेडिकल प्रालीलाई कालो सूचीमा राखेको हो। बैंकको खरिद निर्देशिकाको ठगी र भ्रष्टाचार सम्बन्धी व्यवस्था अनुसार बस्नेत र उनको कम्पनीलाई कारबाही गरिएको विश्व बैंकले जनाएको छ। उक्त नर्देशिकाको ठगी र भ्रष्टाचार सम्बन्धी व्यवस्थाको १.१४ मा रहेको बुँदा अनुसार 'अनियमितता, ठगी र भ्रष्टाचारजन्य कार्यमा संलग्न' रहेको पाइएपछि बस्नेतलाई सन् २०१८ अप्रिल १० देखि निरन्तर कालो सूचीमा र उनको कम्पनी नेशनल बायोमेडिकललाई सन् २०१८ अप्रिल १० देखि २०२४ अप्रिल ०९ सम्म कालो सूचीमा राखिएको हो।
बस्नेतको कम्पनीलाई सार्वजनिक खरिद अनुगमनको कार्यालयले समेत कालो सूचीमा राखेको थियो। स्वास्थ्य सेवा विभाग अन्तर्गत तत्कालिन आपूर्ति महाशाखा (हाल व्यवस्थापन महाशाखा)ले सन् २०१९ मा गलत अभ्यास गरेको भन्दै बस्नेतको कम्पनी नेशनल बायोमेडिकललाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमनको कार्यालयलाई पत्र पठाएको थियो। सोही अनुसार कार्यालयले नेशनल बायोमेडिकललाई कालो सूचीमा राखेको थियो।
यो पनि
आफ्ना उपकरण तथा सामग्री खरिदका लागि धम्की र दबाब दिँदै कालोसूचीमा परेका व्यापारी