जुकाले टोकाएर पनि रोग निको हुन्छ भनेर सुन्दा हजुरहरुलाई पत्यार नलाग्न सक्छ। तर बिगत केही समयदेखि नेपालमा जुकाले टोकाएर वा रगत चुसाएर उपचार भईरहेको छ। यस प्रकारको चिकित्सालाई जलौका चिकित्सा वा लोकप्रिय भाषामा लिच थेरापि भनिन्छ। हुनत यो एकदमै नयाँ चिकित्सा पद्धति भने होइन आयुर्वेदका पुराना ग्रन्थहरुमा जलौका चिकित्साको सबिस्तार वर्णन पाइन्छ।
बिगत केही वर्षदेखि जलौका चिकित्साको मद्दतले आयुर्वेद चिकित्सा सेवा प्रदान गर्दै आईरहेको छौँ। पहिले आयुर्वेद औषधि मात्रै सेवन गराएर गरिएको चिकित्सा भन्दा अहिले जलौका विधि सहितको उपचार एकदमै प्रभावकारी र कम समयमा नै जिर्ण भन्दा जिर्ण रोगबाट रोगीलाई आराम मिलेको पाएका छौं। रोग स्थानमा रहेको रोगका कारण बनिरहेका असुद्द रगत जुकाले चुसाएर निकाल्दिदा उक्त स्थानमा हुने लक्षणहरु कम हुन्छ। रगतका साना नलि क्यापिलरिमा भएको अव्रोध जुकाले रगत चुस्दा केही मेकानिकल तवर बाट र केही केमिकल एक्सन बाट हट्ने गर्दछ। जुकाले रगत मात्रै चुस्ने होइन केही रोग निको पार्ने ईन्जाईमहरु पनि टोकेको स्थानमा छाड्दछ।
कतिपय बिरामीहरु सोध्नु हुन्छ मलाई त जंगलका जुकाहरुले धेरै पटक टोकेको छ त्यो टोक्नु पनि राम्रो हुन्छ? जंगलमा पाईने जुका र जलौकामा प्रयोग गरिने जुका फरक हुन्छ। जंगलमा पाइने जुका विषयुक्त अर्थात सविष जलौका हुन्। सविष भएकै कारणले जंगली जुकाले टोक्दा घाउ हुने लामो समयसम्म रक्तश्राब हुने चिलाऊने समस्या देखिन्छ। जलौकाको लागि प्रयोग गरिने जुका बिषरहित अर्थात निर्विष जलौका हो। निर्विष जुकाहरु मात्रै चिकित्सामा उपयोगी हुन्छन्।
जलौका विभिन्न छालाका पुराना समस्याहरु जस्तै सोरियासिस इक्जिमा सेलुलाइटिस फङ्गल इन्फेक्सन आदिमा लाभदायक छ। साथै कपाल झर्ने समस्यामा पनि जलौकाको राम्रो नतिजा आइरहेको छ। भेरिकोज भेन जुन रोगमा रगतका नशाहरु अवरोध भएर सुन्निन्छन् उक्त अवस्थामा जलौका चिकित्सा एकदमै प्रभावकारी बनिरहेको छ। युरिक एसिडका समस्याद्वारा हाडजोर्नी दुख्ने सुन्निने समस्यामा जुकाले रगत चुसाऊदा तुरुन्तै दुखाइ र सुन्निएको हराउँछ।
जलौका चिकित्साको प्रयोग विभिन्न रोगहरुमा उपयोग गर्ने क्रममा जलौका चिकित्सा अत्यन्त प्रभावकारी छ। जलौकाले कसरी काम गर्छ भन्ने कुरामा विभिन्न आर्टिकलहरु पनि प्रकाशित भएका छन्। आयुर्वेदका संहिता ग्रन्थमा जलौका चिकित्साको सबिस्तार वर्णन पाइन्छ। नेपालमा हाल विभिन्न सरकारी तथा निजि तवरमा आयुर्वेद हस्पिटल क्लिनिकहरुमा जलौका चिकित्साको सेवा लिन सकिन्छ। जलौका चिकित्सा गराऊँदा कम्तिमा आयुर्वेद चिकित्सकको रहोवरमा रहेर चिकित्सा गर्दा अत्यन्त प्रभावकारी हुन्छ र हुन सक्ने दुष्प्रभाव हरुको सम्भावना पनि न्यून रहन्छ। जलौका चिकित्सा प्रति सेवाग्राहीको दिनानुदिन आकर्षण बढ्नुको कारण यसको प्रभावकारिता कम खर्चिलो र अत्यन्त न्युन दुष्प्रभाव हो। अन्य विधि , उपचार प्रणाली र औषधि मात्रै मार्फत दीर्घरोगहरुको उपचार गराईरहनु भएका बिरामीहरुका लागि जलौका चिकित्सा एक नयाँ एवम् प्रभावकारी चिकित्सा बन्न सक्छ।