फाइब्रोमाएल्जिया के हो? किन हुन्छ? उपचार के हो?
लामो समयसम्म शरीरका मांसपेशी, हाडजोर्नी दुख्ने र थकाइ महसुस हुने रोगलाई ‘फाइब्रोमाएल्जिया’ भनिन्छ। लामो समय (दीर्घकालसम्म) शरीरभरि नै दुख्ने भएकाले यसलाई ‘क्रोनिक वाइडस्पे्रड पेन’ पनि भनिन्छ। तीन महिनाभन्दा बढी समयसम्म शरीरका विभिन्न अंग दुखिरहेमा फाइब्रोमाएल्जिया भएको हुन सक्छ। यो रोगमा कम्मरभन्दा माथि वा तल (अपर/लोअर हाफ) को भाग वा शरीरको देब्रे वा दाहिने (लेफ्ट÷राइट हाफ) भागमा दुख्छ।
यो स्वास्थ्य सम्बन्धी सामान्य समस्या भए पनि धेरै मानिस यसबाट पीडित हुन्छन्। नेपालमा फाइब्रोमाएल्जियाका रोगीको संख्या बारे कुनै पनि तथ्यांक छैन। तर, विश्वको कुल जनसंख्याको ३ देखि ६ प्रतिशत जनसंख्या यो रोगबाट ग्रस्त भएको अनुमान छ। सामान्यतया कुल जनसंख्याको १० प्रतिशत मानिसलाई कुनै न कुनै किसिमको दुखाइ हुन्छ। अन्य देशको तथ्यांकका आधारमा अनुमान गर्दा कम्तीमा ३० लाख जति नेपालीमा शरीर दुख्ने समस्या हुन सक्छ भने करिब १५ लाखलाई फाइब्रोमाएल्जिया हुन सक्छ।
यो रोग सम्बन्धमा गरिएका अनुसन्धानले शरीरमा ९ जोर (१८ वटा) टेन्डर प्वाइन्ट (घुँडा, कुहिनो, गर्धन, कुम, छाती र हिपको जोर्नी छेउका भाग) रहेको देखाएका छन्। यी कुनै पनि प्वाइन्टमा थिच्दा अत्यन्त दुख्छ र शरीरको अन्य भागमा समेत फैलन सक्छ।
यो रोग प्रायः महिलामा बढी देखिएको छ। २० देखि ५० वर्ष उमेर समूहका महिलामा यो रोग बढी पाइएको छ। तर, यसको अर्थ अरु उमेर समूहका महिला र पुरुषलाई यो रोग लाग्दैन भन्ने होइन। जीवनको उर्वर समयमा यो रोग लाग्ने भएकाले रोगीलाई धेरै दुःख दिन्छ।
किन हुन्छ फाइब्रोमाएल्जिया
फाइब्रोमाएल्जिया हुने कारण यही नै हो भनेर अहिलेसम्म पत्ता लागेको छैन।
यो वंशाणुगत कारणले पनि हुन सक्छ। चिन्ता र तनाव साथै धेरै धपेडीले पनि यो रोग लाग्न सक्छ। यस्तै, महिलामा हर्मोनका कारणले हुनसक्छ भने वातावरणका कारण पनि हुन सक्छ।
कसरी थाहा पाउने ?
शरीरको सम्पूर्ण भागमा तीन महिनाभन्दा बढी दुख्नु, अत्यधिक थकाइ लाग्नु, सुतेर बिहान उठ्दा अझै सुत्न मन लाग्नु, निद्रा नलाग्नु, शरीर भारी महसुस हुनु यो रोगका लक्षण हुन्।
यो रोग लागेका कसैलाई शरीरका विभिन्न भाग दुख्ने समस्या बढी हुन्छ भने कसैलाई अनिद्राको समस्या बढी हुन्छ । त्यस्तै कसैलाई थकाइको समस्या बढी हुन्छ। फाइब्रोमाएल्जियाका सबै रोगीमा समान नभएर मानिस अनुसार लक्षण फरक–फरक देखिन सक्छन्।
यसबाट पीडित कोही धेरै चिन्तित हुने, उदास देखिने हुन्छन्, मानसिक समस्या देखा पर्छ। यो रोगबाट पीडितमध्ये ५० प्रतिशतमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखिन्छ।
यो रोग लाग्दा बारम्बार टाउको दुख्न सक्छ। यस्तो दुखाइ तनावका कारण हुन सक्छ। कसैको पेट गडबड हुन सक्छ, भोजन गर्न मन नलाग्ने, अपच, वायुगोला बढ्ने, कब्जियत हुने आदि समस्या आउन सक्छ।
आत्तिने वा तर्सिने हुन सक्छ, आँखा बिझाउने वा पोल्ने हुन सक्छ, हातखुट्टा झमझमाउने वा निदाउने, पोल्ने, लाटो हुने पनि हुन सक्छ। हात खुट्टा दुख्ने, जोर्नी दुख्ने, हातखुट्टा सुन्निएजस्तो हुने हुन सक्छ।
यसका रोगी आफूलाई कडा बाथ लागेछ कि भनेर डराउँछन्। तर, यो बाथसँग मिल्दोजुल्दो भए पनि कडा किसिमको बाथ भने होइन।
बिहान उठ्दा हातखुट्टा अरट्ठ भए पनि धेरै बेर रहँदैन, चिसोले हात सुनिएजस्तो हुन सक्छ।
यसका बिरामी झुक्किन सक्ने अन्य रोग
कहिलेकाहीँ फाइब्रोमाएल्जिया अन्य विभिन्न रोगसँग मिल्दोजुल्दो भएकाले पहिचान गर्न कठिन हुन्छ र यो रोग लागे पनि अर्कै रोग लागेको भनेर बिरामी झुक्किन सक्छन्।
विभिन्न प्रकारका बाथ रोग लागेको भनेर झुक्किन सक्छन्।
फाइब्रोमाएल्जियाको दुखाइलाई थाइराइड, प्याराथाइराइड, प्याराथर्मोन वा प्याराथिरिन (पिटिएच) हर्मोन कमी हुँदाको समस्यासँग झुक्किन सक्छन्। त्यस्तै, उदासी वा डिप्रेसनको रोगी भनेर पनि झुक्किन सक्छन्।
नसाको रोग लागेको, हर्मोनको गडबढी भएको, मांसपेशी सम्बन्धी रोग लागेको वा कोलेस्टेरोल बढेको भनेर पनि फाइब्रोमाएल्जियाका रोगी झुक्किन सक्छन्।
उपचार
बिरामीलाई फाइब्रोमाएल्जियाबारे राम्ररी जानकारी गराउनुपर्छ, परामर्श दिनुपर्छ। यसलाई निको पार्न थेरापी गराउन सकिन्छ। फाइब्रोमाएल्जियाका बिरामीले शारीरिक व्यायाम गर्नुपर्छ।
यसका बिरामीले प्रसस्त सुत्नु पर्छ। यस्तै चिकित्सकले पनि बिरामीका कुरा सुन्नुपर्छ।
सम्पूर्ण शरीर दुख्ने बिरामीलाई औषधि दिनुपर्छ। कुनै बिरामीलाई दैनिक औषधि आवश्यक पर्दैन भने कसैलाई निद्रा लाग्ने औषधि चाहिन सक्छ। कसैलाई थकाइ नलाग्ने औषधि दिनुपर्ने हुन सक्छ। बिरामीले मानसिक चिकित्सकसँग परामर्श गर्नु आवश्यक छ।
यो रोग पीडादायी भएकाले बिरामीलाई मानसिक, शारीरिक र सामाजिक पीडा हुन्छ। यसले जीवनको सबैभन्दा उर्वर समयमा शारीरिक र मानसिक दुःख दिन्छ। बेलैमा पहिचान गरेर उपचार गरे यो रोगको उपचार सहज छ। अहिले नेपालमै यसको उपचार गर्न सकिन्छ। रोगको पहिचान नगरी जथाभावी औषधि खाए समस्या अझै जटिल हुन सक्छ।
यसको उचित उपचार गर्न बिरामीको कुरा राम्रोसँग सुन्नु पर्छ, बिरामीको सम्पूर्ण शरीर जाँच्नु पर्छ। डाक्टरको उपचारले बिरामीको दुखाइमा त्यति फाइदा गरेको देखिँदैन। यसले शरीरमा कुनै असर गर्दैन, न त आयु नै घटाउँछ तर शरीरका विभिन्न भागमा दुख्ने भएकाले निकै पीडा दिन्छ। नेपालमा यो रोगबारे धेरै जानकारी नभएकाले जनचेतना जगाउन अत्यन्त आवश्यक छ।