काठमाडौ- बेलायतको स्वास्थ्य क्षेत्रमा रोजगारीका लागि नेपालबाट ४५ जना नर्सहरू पास भएका छन्। ६० जना नर्सहरु अन्तर्वार्तामा सहभागि भए पनि ४५ जना मात्रै छनोट भएका हुन्।
मंसिर १८ देखि २१ गतेसम्म भएको अन्तर्वार्ताबाट ४५ जना पास भएका हुन्। अन्तर्वार्ताका लागि ७१ जना नर्सहरूको प्रारम्भिक सूची सार्वजनिक गरिए पनि अन्तर्वार्तामा ६० जनाको सहभागिता रहेको वैदेशिक रोजगार विभागले जनाएको छ।
उनीहरूको नेपालस्थित बेलायती दूतावासमा अन्तर्वार्ता लिइएको थियो। त्यसका लागि बेलायतस्थित ह्याम्पशायर हस्पिटल एनएचएस फाउण्डेशन ट्रष्टका नर्सहरूले आमने सामने अन्तर्वार्ता दिएका थिए। त्यहिबाट ४५ जना सफल घोषणा गरिएको विभागले जनाएको छ। एचएचएफटी यूके डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोस केयर (डीएचएससी) द्वारा छनोट गरिएको संस्था हो।
सफल नर्सहरूलाई छिट्टै उनीहरूको छनोटको बारेमा सूचित गरिने विभागले जनाएको छ। अर्को चरणहरूमा उनीहरूलाई मार्गदर्शन, यूकेमा काममा जानुअघि विभिन्न जानकारी गराइनेछ। सन् २०२४ को पहिलो त्रैमासिकदेखि नर्सहरू बेलायत पठाइनेछ।
नेपाल र बेलायत सरकारबीच सन् २०२२ को अगस्टमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो।