काठमाडौं- बागमती प्रदेश सरकारले १० औं तहका पाँच जनालाई ११ औं तहमा बढुवा गरी नियुक्तिसँगै पदस्थापन गरेको छ।
बागमती प्रदेशको मन्त्रीपरिषद् बैठकले अधिकृतस्तर १० औं तहका स्वास्थ्यतर्फका चार जना र प्रशासनतर्फका एक जना गरी पाँच जनालाई अधिकृतस्तर ११ औं तहमा बढुवा गरी नियुक्ति तथा पदस्थापन गर्ने निर्णय गरेको हो।
स्वास्थ्यतर्फ दीपक तिवारी, बसन्त अधिकारी, अर्जुन सापकोटा र नरेन्द्रकुमार झालाई अधिकृतस्तर ११ औं तहमा बढुवा गरी नियुक्ति तथा पदस्थापन गर्ने मन्त्रीपरिषद बैठकले निर्णय गरेको छ।
तिवारीलाई स्वास्थ्य मन्त्रालयको निमित्त सचिवमा, अधिकारीलाई बागमती प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको प्रमुखमा, सापकोटालाई स्वास्थ्य कार्यालय काठमाडौँको प्रमुखमा र झालाई बागमती प्रदेशको स्वास्थ्य तालिम केन्द्र काठमाडौँको प्रमुखमा पदस्थापन गरिएको छ।
प्रदेश निजामती सेवा ऐन २०७९ मा प्रदेशको अधिकृत ११ औं तहका कर्मचारी प्रदेश सचिव रहने व्यवस्था रहेको छ।
प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले मन्त्रीपरिषद् बैठकले प्रशासनतर्फ अधिकृतस्तर १० औँ तहबाट अधिकृतस्तर ११ औं तहमा दीपेन्द्र सुबेदीलाई बढुवा गरी नियुक्ति तथा पदस्थापन गरिएको जानकारी दिए।
सुवेदी हाल प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयको कामु निर्देशकका रूपमा कार्यरत रथिए। सुबेदीलाई शिक्षा विकास निर्देशनालयमा पदस्थापन गरिएको छ।