काठमाडौं- चिकित्सा शिक्षा आयोगको निर्देशक सिफारिस समितिको समय सकिएको छ। निर्देशक छनोट प्रक्रियाबारे असहमति जनाउँदै उच्च अदालत पाटनमा रिट परेपछि समितिले निर्धारित समयमा निर्देशकको नाम सिफारिस गर्न नसकेको हो।
चिकित्सा शिक्षा आयोगको रिक्त चारजना निर्देशकका लागि २० जनाको आवेदन परेको थियो। ४ वटै पद रिक्त भएसँगै नयाँ निर्देशकहरुको नियुक्तिका लागि सिफारिस समितिले दरखास्त आह्वान गरेको थियो।
उनीहरुमध्ये १२ जनाको नाम प्रारम्भिक सुचीमा सार्वजनिक गरिएको थियो। उक्त सुचीमा असहमति जनाउँदै अदालतमा रिट परको थियो।
यही कारण चिकित्सा शिक्षा आयोगको रिक्त रहेको चार वटा निर्देशकको पदका लागि सर्ट लिस्टमा परेका १२ जनाको प्रस्तुतिकरण र अन्तर्वार्ता स्थगित भयो।
नाम सिफारिस समितिले तीन चरणमा प्रस्तुतिकरण र अन्तर्वार्ता लिने गरी बनाएको तालिका सार्वजनिक गरेको थियो। तर अन्तिम समयमा आएर स्थगित गरिएको छ। प्रस्तुतिकरण र अन्तर्वार्ता स्थगन गर्नुको मुख्य कारण थियो अदालतमा परेको रिट।
उच्च अदालतले १८ मंसिरमै प्रारम्भिक सुनुवाई गर्दै समितिको निर्णयविरुद्ध कारण देखाउ आदेश जारी गरेको छ भने अन्तरिम आदेश जारी गर्न पर्ने वा नपर्ने भन्नेबारेमा छलफल गर्न २१ मंसिरका लागि दुवै पक्षलाई बोलाएको छ। यसपछि मात्रै सिफारिस समितिले काम अगाडि बढाउने छ। तर ऐनमै समितिको कार्यावधि १५ दिन तोकिएकोले काम अगाडि बढाउने वा नबढाउने भन्नेबारे अन्योल छ।
ऐनको निर्देशक सिफारिससम्बन्धी दफाको उपदफा ७ मा 'उपदफा (६) बमोजिमको समितिले आफ्नो काम प्रारम्भ गरेको मितिले पन्ध्र दिनभित्र निर्देशकको पदमा नियुक्तिको लागि उपाध्यक्ष समक्ष नाम सिफारिस गर्नेछ' भन्ने उल्लेख छ। तर उक्त अवधिमा नाम सिफारिस हुन नसकेका कारण अब यसको वैधानिकतामा पनि प्रश्न उठ्न थालेको छ।
समितिका सद्स्य डा रमेशकान्त अधिकारीले यो विषय अदालतमा गएकाले प्रक्रिया ढिला भएको बताए। थप काम कसरी अगाडि बढाउने भन्ने बारे कानुनी सल्लाह गरेपछि मात्र थाहा हुने उनले बताए।
निर्देशकका लागि नाम सिफारिस गर्न गठित समितिले मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी तीन वटा निर्दे शनालय र एक बोर्डमा निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्नुपर्ने छ।
समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाल रहेका छन् भने समितिमा प्राडा रमेशकान्त अधिकारी र प्राडा बुद्धिबहादुर थापा सदस्य छन्।
आवेदन दिनेहरुमा डा सुरज बज्राचार्य, डा नारायणबिक्रम थापा, डा सुजन मरहठ्ठा, डा दिनेश लम्साल, डा वाइपी सिंह, डा सुदिप आचार्य, डा बन्दना गुरुङ रहेका थिए।
त्यस्तै डा गुरु खनाल, डा विजय आचार्य, डा शैल रुपाखेति, डा कृष्ण सागर, डा स्वयमप्रकाश पण्डित, डा पशुपति चौधरी, डा नागेन्द्र साह, डा निलमणी उपाध्याय, सरला केसी लगाएतले आवेदन दिएका थिए। उनीहरुमध्ये १२ जनाको नाम प्रारम्भिक सुचीमा सार्वजनिक गरिएको थियो।