काठमाडौं- चिकित्सा शिक्षा आयोगको निर्देशक छनोट विवादमा उच्च अदालत पाटनले कारण देखाउ आदेश जारी गरेको छ।
चिकित्सा शिक्षा आयोगले निर्देशकका लागि सार्वजनिक गरेको प्रारम्भिक सुचीमा असहमति जनाउँदै उच्च अदालत पाटनमा रिट परेको थियो।
रिटको सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधिस लेखनाथ पौडेलको एकल इजलासले चिकित्सा शिक्षा आयोगका नाममा कारण देखाउ आदेश जारी गरेको छ। साथै अदालतले दुवै पक्षलाई छलफलमा बोलाएको छ।
निर्देशक सिफारिस समितिले तीन चरणमा लिने गरी बनाएको तालिका सार्वजनिक गरेको थियो। तर अन्तिम समयमा आएर स्थगित गरिएको छ।
निर्देशकका लागि नाम सिफारिस गर्न गठित समितिले अघिल्लो सूचना निकाल्दै आवेदन दिन भनेको थियो। ४ निर्देशकका लागि २० जनाको आवेदन परेको थियो। समितिले १२ जनाको नाम प्रारम्भिक छनोटमा राखेको थियो। त्यसकै विरोधमा उच्च अदालतमा रिट परेको हो।
समितले मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी तीन वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्ने छ।
समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाल रहेका छन् भने समितिमा प्राडा रमेशकान्त अधिकारी र प्राडा बुद्धिबहादुर थापा सदस्य छन्।
यो पनिः
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि लिने भनिएको प्रस्तुतीकरण र अन्तर्वार्ता स्थगित