म एउटा सामान्य जागिर गरेर गुजारा गर्ने व्यक्ति हुँ। हामीले दोस्रो बच्चा जन्मायौं। तीन महिनासम्म दोस्रो सन्ताले असीम खुशी ल्यायो। हाम्रो सामान्य लयमा गइरहेको जीवन तीन महिनापछि पनि एकाएक क्षतविक्षत हुन पुग्यो।
श्रीमतीलाई सुत्केरी बार्न माइत पठाउने प्रचलन छ। मैले जागिर र श्रीमतीको स्याहार सम्हाल्न सहज पनि थिएन। तीन महिना पुगेपछि लमजुङ पठाएको थिएँ। तीन महिनाको बच्चामा एक्कासी पेट फुल्ने लक्षण देखियो। बच्चाको पेट फुलेको भन्दै श्रीमतीले मसँग फोनमा बताइन्।
मैले जिल्ला अस्पताल बेसीसहर लैजान सल्लाह दिएँ। जिल्ला अस्पतालले सामान्य भन्यो तर विसेक भएन। त्यसपछि म आफैं काठमाडौंबाट आमाछोरा लिन लमजुङ पुगें। छोरालाई भएको समस्याले मलाई अत्याएको थियो। काठमाडौंबाट रुँदै बेसीसहर पुगें।
काठमाडौं ल्याइसकेपछि कान्ति बाल अस्पतालमा उपचार गराउने कुरा भयो। हामीजस्ता सामान्य मान्छेका लागि सरकारी अस्पतालको प्रणाली उपचार गराउन सहज छैन। त्यहाँ चिकित्सकको समय पाउनै मुश्किल थियो। मेरा एकजना मित्र रामप्रसाद न्यौपाने स्वास्थ्य पत्रकार हुनुहुन्थ्यो। मैले उहाँसँग सहयोग मागें। उहाँले सहजीकरण गरिदिएपछि उपचार गराउन सहज भयो।
अस्पताललले क्यान्सरको शंका गर्दै अप्रेसन गर्न भन्यो। म सामान्य जागिरे मान्छे, तुरुन्तै अप्रेसन गर्ने पैसा थिएन। साथीहरुसँग पैसा बटुलेर अप्रेसन गराएँ। डाक्टरले मेहनत गरेर अप्रेसन गर्नुभयो। राम्रो भयो भनियो।
अप्रेसनपछि आइसीयुमा राखियो। आइसीयुमा बच्चा रोएको हामीले बाहिरबाटै देख्थ्यौं। मन कटक्क हुन्थ्यो। उसलाई दुखाइ भएकाले त्यसको व्यवस्थापन गर्न नर्ससँग आग्रह गर्थ्यौं। उताबाट जवाफ आउँथ्यो- बच्चा हो रोइहाल्छ नि!
त्यो बचनले बच्चाको पीरले छिया-छिया बनेको मनमा नुनचुक छर्थ्यो। पछि भारतको अस्पतालमा गरिएको व्यवहार देखेर नेपालका अस्पतालले सुधार्न धेरै बाँकी रहेछ भन्ने महशुस समेत भयो।
क्यान्सरका लागि बायोप्सी गरेको २८ दिनपछि रिपोर्ट आयो। क्यान्सर भन्ने पक्का भयो। एकपल्ट अप्रेसन गरिसकेका थियौं। रिपोर्ट आएपछि फेरि अप्रेसन गर्नुपर्छ भन्ने सल्लाह पाएँ। नेपालमै अप्रेसन गर्दा बच्चाको राम्रो उपचार हुने विश्वास पहिलोपटक नै मरिसकेको थियो। त्यहाँ गरिएको व्यवहार र उपचारले मनमा बच्चा जोगाउने सकिने विश्वास पलाएन।
मैले भारत लैजाने तयारी गरें। मसँग पैसा थिएन। आफूसँग भएको घरजग्गा सवै धितो राखें। जति पैसा आउन सक्छ, निकालें। जति सापटी पाउन सकिन्छ, खोजें। आफन्तहरु भन्थे- क्यान्सर भइसकेको बच्चा बाँच्दैन। किन उपचार गर्न खोजेको होला ? किन खर्च गर्न खोजेको?
सन्तान मेरो थियो। बच्चाका लागि एउटा पिताले सकेको धर्म निभाउनुपर्छ भन्ने मलाई महशुस भयो। मबाट हुनसक्ने प्रयासको कुनै कमी हुन नदिने प्रण गरें। मैले हिम्मत हारिनँ। मैले संकल्प लिएँ, परे आफ्नै किड्नी बेच्छु तर बच्चा बचाएरै छाड्छु।
भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा पुर्या एर बच्चाको उपचार गराएँ। मैले त्यहाँ ३० लाख खर्च गरें। आफूसँग भएको सवै खर्च गरें। अहिले पनि उपचारका लागि गइरहनुपर्छ। खर्च जुटाउन सहज छैन तर बच्चाको उपचारका लागि सक्दो प्रयास गरिरहेको छु। आफूले सकेको गरिरहेको छु। बच्चा जोगाउन मैले गरेको प्रयासलाई केही सहयोगी हातहरुले पनि सहयोग गर्नुभएको छ। आफूसँग भएको सवै उपचारमा सकिसकेकाले अझै सहयोग जुटाउन म आफैं र मेरा सहृदयीले प्रयास गरिरहनुभएको छ। सन्तान जोगाउन एउटा पिताले जतिसम्म गर्न सक्छ, म त्यति गर्नेछु।
भारतमा लामो समय बस्दा मैले म जस्तै नेपालमा दु:ख पाएर थुप्रै नेपाली भेटें। जसले नेपालमा दु:ख पाएर वा नेपालका अस्पतालप्रति विश्वास गर्न नसकेर त्यहाँ पुगेका थिए। मेरो सोझो हिसाबबाट नेपालीहरुले भारतका अस्पतालमा दैनिक ३-४ करोड रुपैयाँ खर्च गर्छन् होला! मेरो मनमा प्रश्न छ- नेपालमै उपचार गराउने वातावरण बनाउन किन नसकिएको होला?
(नेपाल एनसीडी अलायन्सले काठमाडौंमा आयोजना गरेको 'नथिङ अस, विथआउट अस' वर्कसपमा नसर्ने रोगसँग लडिरहेका र जितेर अघि बढेका केही 'योद्धा'ले आफ्ना अनुभूति राखेका थिए। सरोकारवालाका लागि प्रश्न र अन्यका लागि प्रेरणा हुनसक्ने भएकाले हामीले शृंखलाबद्ध राखिरहेका छौं।)