काठमाडौं – काठमाडौं महानगरले मंगलबार एक सूचना जारी गर्दै महानगरभित्र सुर्तीजन्य वस्तु आयात, बिक्री तथा प्रयोगमा रोक लगाउन निर्देशन गरेको छ। उक्त निर्देशनअनुसार मंसिर २७ गतेबाट सुर्तीजन्य वस्तु आयात तथा विक्री वितरण गर्न नपाइने भएको छ।
काठमाडौं महानगर प्रहरी बरिष्ठ उपरिक्षक राजुनाथ पाण्डेले सूर्तीजन्य पदार्थको आयातकर्ता तथा होलसेलरलाई बोलाएर आयात नगर्न निर्देशन समेत दिइएको बताए। व्यापारीहरुले पनि उक्त निर्णयलाई सकारात्मक निर्णय मानेर सुर्तीजन्य वस्तुमा रोक लगाउन महानगरलाई सहयोग गर्न तयारी भएको पाण्डे बताउँछन्।
'हामीले होलसेलर तथा आयातकर्तालाई बोलाएर काठमाडौं महानगरभित्र सेवनका निमित्त बनाइएका वा उत्पादन गरिएका चुरोट, विँडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने जस्ता सूर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने भएका छौँ,’ उनले भने, ‘आफूसँग भएको स्टक सकाउन १५ दिनको समयावधि व्यापारीलाई दिइएको छ। २७ गतेभन्दा उता बिक्री गर्न पाइने छैन।’
२७ गतेबाट महानगरभित्र खटिएका महानगर प्रहरीले पसल-पसलमा गएर अनुगमन गर्ने र कसैले बिक्री गरेको पाइएमा सामान जफत गरी कारबाही समेत गरिने बताए।
चुरोट बिक्री तर सार्वजनिक स्थलबाट २ सय मिटर टाढा
महानगर भित्रै चुरोट भने बिक्री गर्न पाइने पाण्डेले बताए। कुनैपनि व्यापारीले कानुनी रुपमा चुरोट बिक्री गर्न पाउने उनको भनाइ छ। ‘सार्वजनिक स्थल मठमन्दिर, पार्टीपौवा, विद्यालय, स्वास्थ्य संस्था, बाल तथा वृद्ध आश्रम, पसल, पार्क लगायतका क्षेत्रबाट २ सय मिटर टाढा रहेको पसलले मात्रै बिक्री गर्न पाउँछ। तर, उसले कानुनी रुपमा बिक्री गर्न पर्ने छ,’ उनले भने। प्याकेट मात्रै बिक्री गर्न पाइने तर खिल्ली निकालेर बिक्री गर्न निर्देशन दिइएको उनको भनाइ छ।
सूर्तीजन्य पदार्थ नियमन ऐन अनुसार १८ वर्षभन्दा मुनिका बालबालिका र गर्भवती महिलालाई बिक्री गर्न पाइने छैन। व्यापारीले पसलमा सजावटका रुपमा राख्न नपाउने व्यवस्था रहेको छ। फुटपाथमा समेत बिक्री गर्न नपाइने व्यवस्था रहेको पाण्डे बताउँछन्।
कुन–कुन सार्वजनिक स्थान?
सुर्तीजन्य पदार्थ नियमन ऐन २०६८ अनुसार यी स्थानलाई सार्वजनिक स्थान मानिएको छ। सरकारी कार्यलय, शिक्षण संस्था, स्वास्थ्य संस्था, बालआश्रम, वृद्ध आश्रम, सार्वजनिक सौचालय, अनाथ आश्रम बाल उद्यान, उद्योग तथा कलकार खानाका कार्यस्थल, चलचित्र घर, नाट्यशाल, सांस्कृतिक केन्द्, होटल,मोटल, रिसोर्ट,रेस्टुरेन्ट, बार चमेनागृह, भोजनालय, छात्रावास, कभर्डहल, लज, अतिथी गृह, पुल हाउस, रंगशाला, शारिरीक सुगठन व्यायाम केन्द्र, धर्मशाला, बसपार्क, टिकट काउन्टर, एयरपोर्ट आदि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने व्यवस्था ऐनमा रहेको छ।
तर व्यवस्थापकले कारागार, विमानस्थल वा पर्यटकीय स्तरको होटलको कुनै खास ठाउँमा अन्य व्यक्तिलाई प्रतिकुल असर नपर्ने गरी सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यवस्था भने गर्न पाइने छ।
तर सुर्तीजन्य पदार्थ सेवनको लागि स्थान छुट्याएपछि आफूसँग सम्बन्धित स्थलको अन्य स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाउने व्यहोराको सूचना टास्नु पर्ने व्यवस्था छ। तर कसैले पनि अन्य व्यक्तिलाई असर पर्ने गरी सुर्तीजन्य पदार्थ सेवन गर्न नपाईने व्यवस्था छ। यस्ता क्षेत्रहरूमा कसैले कानुनको उल्लङ्घन गरेको पाइएमा काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन, २०५० को दफा ५३ (२) अनुसार २५ हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना गरिने ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
किन रोक लगाइयो?
महानगरबासीलाई नसर्ने खालका रोगबाट बचाउन यो निर्णय गरिएको काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ का प्रेस संयोजक सुरेन्द्र बजगाईँले बताए।
‘स्वास्थ्यमा हानी पुर्याउने कारणमध्ये सूर्तीजन्य बस्तुको प्रयोग प्रमुखमध्येमा पर्छ। यसको प्रयोग निषेधबाट स्वस्थ सहर र उर्जाशील जीवनशैलीका कार्यक्रम सञ्चालन गर्नेछौँ,’ बजगाईंले भने। उनले स्वस्थ्य सहर निर्माण अभियानको पहिलो चरणमा सूर्तीजन्य पदार्थको प्रयोग, भण्डारण र विक्रीमा प्रतिबन्ध लगाइएको उल्लेख गरे।
सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को दफा ४ ले यस्ता स्थानमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका सुर्तीजन्य पदार्थ विक्री गर्न र प्रयोग गर्न निषेध गरेको छ।
यस्तै काठमाडौँ महानगरपालिकाको जनस्वास्थ्य ऐन, २०८० को दफा ४२ ले सुर्तीजन्य तथा मदिराजन्य पदार्थ विक्री वितरणमा रोक लगाउन सक्ने, निषेध र विक्री वितरणका लागि खुल्ला क्षेत्र तोक्न सक्ने, बालबालिकाहरूलाई विक्री वितरण गराउन नपाउने, सार्वजनिक स्थलहरूको चार किल्ला तोकी सो वरपर सुर्तीजन्य, मदिराजन्य र जङकफुड विक्री वितरण गर्न निषेध गर्न सक्ने कानुनी व्यवस्था रहेको छ।
यो कानुनी व्यवस्था कार्यान्वयन गर्नु हरेक कानुनी तथा प्राकृतिक व्यक्तिको दायित्व हो। तर, जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने यस्ता पदार्थको विक्री र प्रयोगमा व्यवसायी तथा उपभोक्ता सचेत नभएको पाइएको छ। यसले जनस्वास्थ्यमा गहिरो आर्थिक समस्या निम्त्याएको बजगाईँको भनाई छ।
‘यो जोखिमबाट व्यक्तिलाई बचाउन हामी सूर्तीजन्य पदार्थको विक्री तथा प्रयोगमा पूर्ण रोक लगाउँछौँ । यो व्यवस्थाको उलंघन गरेको पाइएमा काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन, २०८० को दफा ५३ (२) अनुसार २५ हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना गरिनेछ,’ बजगाईंले भने।
यसअघि सरकारले विसं २०६८ मा सुर्तीजन्य पदार्थ नियमन ऐन ल्याएको थियो। उक्त ऐन कार्यान्वायन ल्याउन खोजे पनि कार्यान्वायन हुन सकेको थिएन। तर महानगरले भने सुर्तीजन्य पदार्थ विक्री तथा प्रयोगमा रोक लगाउन नीति कार्यान्वायनमा ल्याउने बजगाईँ दाबी गर्छन्।
हृदय रोग, स्ट्रोक, क्यान्सर, मधुमेह, पुरानो श्वासप्रश्वासका समस्या जस्ता गैरसंक्रामक दीर्घकालीन रोग अहिले मानव मृत्युका मुख्य कारण हुन्। सहरहरूमा बसोबास गर्ने मानिसहरू यस्ता नसर्ने रोगबाट आफूलाई बचाउन कमजोर हुँदै गएको पाइएको छ। आहारविहार, आचारविचार, परिवर्तित जीवनशैलीले यो अवस्था ल्याएको हो।
धुम्रपान प्रयोग नगर्ने व्यक्ति पनि यसको असरबाट बच्न सक्दैनन्। त्यसैले यो सार्वजनिक सरोकारको विषय हो। व्यक्ति मात्र होइन, माटोको सम्पर्कमा सूर्तिजन्य बस्तु मिसिँदा पर्यावरणलाई समेत प्रदुषित बन्ने अध्ययनले देखाएको छ।
धूम्रपान प्रयोगकर्ताहरु प्रयोग नगर्ने व्यक्तिका तुलनामा १३ देखि २० बर्ष अगाडि नै मृत्युवरण गर्ने चिकित्सहरुको भनाइ छ। चुरोटमा ७२ किसिमका रसायन हुन्छन्। यसमा भएका कार्सिनोजेनिक रसायनले क्यान्सर बनाउँछ। यस्ता रसायनयुक्त पदार्थको प्रयोगकर्ताबाट छोडिएको धुँवा तथा फोहोरले स्वास्थ्य र वातावरणमा प्रत्यक्ष असर पारेको छ। यस असरबाट सिर्जित समस्याबाट मानिसहरुले मृत्युवरण गरिरहेका हुन्। त्यसैले सुर्तीजन्य वस्तु प्रयोगमा रोक लगाउन आवश्यक रहेको विज्ञहरुको सुझाव छ।
नेपालमा करिब ५० लाख वढी व्यक्तिले धुम्रपान गर्ने गरेको अध्ययनले देखाएका छन्। अहिलेको अवस्थालाई नियन्त्रण नगर्ने हो भने अबको २७ बर्षपछि अर्थात सन २०५० सम्ममा हरेक बर्ष करिब ५२ हजार नेपालीको मृत्यु सूर्तीजन्य बस्तुको प्रयोगका कारण हुनेछ। युवा पुस्ताहरुमा बढ्दै गएको हुक्काको लतले जनस्वास्थ्यमा गम्भीर संकट ल्याउँदै गरेको विज्ञहरुको भनाई छ।
धूम्रपानले गर्ने यस्ता नोक्सानी प्रमाणित भएपछि सन् १९८७ बाट विश्वव्यापी रुपमा नियन्त्रण प्रयास थालिएको थियो। अहिले पनि यो अभियान विश्वव्यापी रुपमा नै चलिरहेको छ।
महानगरको देखेको लाभ
सुर्तीजन्य पदार्थको विक्रीबाट भन्दा स्वच्छ वातावरणको निर्माणबाट व्यक्ति, वातावरण र समाजलाई धेरै फाइदा हुनेछ। सुर्तीजन्य पदार्थ रोक लगाउँदा सबै फाइदै फाइदा रहेको उनको भनाई छ। गर्भमा रहेका शिशु स्वस्थ्य रूपमा जन्मिन पाउनेछन्।
जन्मिएका शिशु स्वस्थ्य वातावरणमा हुर्कन पाउनेछन। युवा र प्रौढहरु नसर्ने गम्भीर र कडा खालका रोगबाट बच्नेछन्। ज्येष्ठ नागरिकका दिन सहज हुनेछन। समग्रमा हरेक प्राणीले स्वच्छ वातावरणमा सास फेर्न पाउनेछन्,’ उनले भने।
सुर्तीजन्य पदार्थको प्रयोगले गर्न यो हानीबाट जीवन बचाउने र स्वस्थ सहर निर्माण गर्ने विषयमा महनगर गम्भीर रहेको उनी बताउँछन्। यसबाट जीवन र वातावरणलाई बचाउने प्रयासको पहिलो चरणमा शिक्षण संस्था, विमान स्थल, बालकल्याण गृह, क्लबहरु, सार्वजनिक शौचालयहरू, होटल, रेष्टुरेण्टहरु, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयहरू लगायतका सार्वजनिक स्थलहरूमा सुर्तीजन्य पदार्थको विक्री र प्रयोगलाई पूर्ण निषेध गरिने उनको दाबी छ।