काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई १५ लाख रुपैयाँ धरौटी माग गरिएको छ। उमेरले ७६ वर्ष पुगेका उनमा मानसिक समस्या समेत देखिएको उच्च अदालतले पाटनले जनाएको छ।
आफैं शरणार्थी भएकाले अन्य देशमा भागिजाने अवस्था समेत नदेखिएकाले जिल्ला अदालत काठमाडौंको फैसला बदर गरिएको आदेशमा उल्लख छ।
उच्च अदालत पाटनले पूर्वगृहमन्त्रीहरु बालकृष्ण खाण, टोपबहादुर रायमाझी, इन्द्रजित राई र टेकनारायण पाण्डे लगायत १० जनालाई थुनामै राख्ने आदेश गरेको छ।
खाणको हकमा भने राय बाझिएको छ। दुई न्यायाधीश एकमत हुन नसक्दा उनी थुनामै रहने भएका छन् ।उनलाई पाटन उच्च अदालतका न्यायाधीश जनक पाण्डेले ३० लाख धरौटी माग गर्ने आदेश गरेका थिए भने प्रकाश खरेलले थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेका छन्।
दुई न्यायाधीश यसरी राय बाझिदा उनको मुद्दा विचाराधीन नै रहेको छ। उनको मुद्दा अब तेस्रो न्यायाधीशको इजलासमा मुद्दा पेस हुनेछ। तेस्रो न्याायाधीशले गर्ने निर्णयले उनी छुट्ने वा थुनामै रहने तय हुनेछ।
रायमाझीले लगायतको हकमा भने धरौटीमा छाड्न दिएको निवेदनलाई इन्कार गर्दै थुनामै राखेर अनुसन्धान गर्ने जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो।
थुनामै राख्न आदेश दिएकोमा टेकनारायण पाण्डे, इन्द्रजित राई, टोपबहादुर रायमाझी, केशव दुलाल, सानु भन्डारी, सागर राई, गोविन्द चौधरी शन्देश शर्मा र आङटावा शेर्पालाई जिल्लाकै आदेश सदर गर्दै पुर्पक्षका लागि थुनामै राख्न उच्च अदालत पाटनले फैसला गरेको छ।
उनीहरुले आफूलाई धरौटीमा छाड्नुपर्ने दाबी गर्दै जिल्ला अदालत काठमाडौंको आदेशबिरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।
नरेन्द्र केसी १० लाख र हरिभक्त महर्जन १५ लाख धरौटीमा रिहा गर्न आदेश उच्च अदालतले आदेश दिएको छ। यसैगरी शमशेर मिया १० लाख धरौटी, आशिष बुढाथोकी साधारण तारेख र सन्दिप रायमाझी ३० लाख धरौटीमा रिहा भएका छन्।