काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयुर्वेद चिकित्सालय नरदेवीको निर्देशकमा रहेका ११औं तहका वरिष्ठ चिकित्सक डा प्रदीप केसीलाई हटाएर १० औं तहका डा श्यामबाबु यादवलाई निमित्त निर्देशकको जिम्मेवारी दिएपछि उत्पन्न भएको विवाद सर्वोच्च अदालतसम्म पुगेको छ।
डा केसीले आफूलाई दरबन्दी नै नभएको स्थानमा कामकाज गर्न खटाइएको र १०औं तहका अधिकृतको 'अन्डर'मा राखेको भन्दै उक्त निर्णय सच्याउन मन्त्रालयमा आग्रह गरेका थिए। तर मन्त्रालयले उनको निर्णय सच्याउन मानेन। उक्त निर्णय सच्याउन माग गरेका डा केसी केही दिन नरदेवीमा नै गएर निर्देशकको कुर्सीमा बसेका थिए।
सोही समयमा डा यादव पनि नरदेवी पुगेर निर्देशकको कुर्सीमा बसेका थिए। जसका कारण विवाद चर्किएको थियो। डा यादवले डा केसीले कुर्सी नछाडेको भन्दै अस्पतालमा शान्ति सुरक्षा नभएको र आफूमाथि पनि खतरा रहेको भन्दै डा केसीविरुद्ध प्रहरी वृत्त सोह्रखुट्टेमा उजुरी हालेका थिए।
प्रहरीले डा केसीलाई बोलाएर उक्त विषयमा जानकारी लिएको वृत्तका एक प्रहरीले जानकारी दिए। 'जुनियएरलाई हाकिम बनाएपछि सिनियर डाक्टरले आपत्ति जनाउनु भएको रहेछ,' ती प्रहरीले भने, 'जुनियर डाक्टरलाई निर्देशकका रुपमा काम गर्न हतारो भएर सुरक्षा भएन भन्नु भएको रहेछ।'
अस्पतालमा निर्देशक फेरबदवलपछिको विवाद एक महिनादेखि चलिरहेको छ। उक्त विवाद प्रहरी हुँदै अहिले अदालतमा पुगेको हो। सर्वोच्च अदालतमा निर्देशक हेरफेरपछि दुईवटा मुद्दा पुगेको छ। डा केसीलाई हटाएर डा यादवलाई निमित्तको जिम्मेवारी दिएपछि अर्का डाक्टर रामदेव यादवले वरिष्ठताका आधारमा आफूले निमित्तको जिम्मेवारी पाउनु पर्छ भन्दै मुद्दा हालेका छन्। यस्तै डा केसीले पनि आफूलाई कानुन विपरित दरबन्दी नै नभएको स्थानमा पठाइएको भन्दै मुद्दा हालेका छन्।
डा केसीलाई सिंहदरबार वैद्यखानामा अर्को व्यवस्था नभएसम्मका लागि कामकाज गर्न भन्दै पठाइएको हो। वैद्यखानामा यसअघि नै कामकाज गर्न खटाइएपछि परेको मुद्दामा ११औं तहको कर्मचारी नियुक्ति गरी पठाउन भन्दै सर्वोच्च अदालतले आदेश दिएको थियो। डा केसीले सोही बुँदामा टेक्दै अदालतको यसअघिको आदेश विपरित दरबन्दीमा नियुक्ति नगरी कामकाज गर्न खटाइएको भन्दै आफूलाई दरबन्दी रहेको स्थानमा खटाउन माग राख्दै मुद्दा हालेका हुन्।
दुवै मुद्दाका विषयमा सर्वोच्चले सरकारका नाममा कारण देखाउ आदेश दिँदै छलफलका लागि बोलाएको छ। उक्त मुद्दा सर्वोच्चमा विचाराधिन अवस्थामा छ।
डा केसीलाई गत कात्तिक २ गतेको निर्णय अनुसार वैद्यखानामा कामकाजका लागि खटाइएको हो। मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट नरदेवीमा दरबन्दी रहने गरी अर्को व्यवस्था नभएसम्म सिंहदरबार वैद्यखानामा पठाएको थियो। मन्त्रालयले सोही दिन आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा कार्यरत दसौँ तहका डा श्यामबाबु यादवलाई निमित्त निर्देशकको जिम्मेवारी दिएको थियो।
डा यादवले सरकारले आफूलाई जिम्मेवारी दिएपछि उक्त जिम्मेवारी अनुसार अस्पतालमा आएर काम सुरु गरेको प्रतिक्रिया दिएका छन्। 'सरकारले खटाएको स्थानमा आएर काम सुरु गरेको हुँ। अरु विषय जानकारी भएन,' उनले भने।
डा केसीले आफू ११औं तहको कर्मचारी रहेको तर अहिलेको फेलरबदलले आफूलाई १०औं तहका निमित्त निर्देशकको माताहतमा रहेर तलबभत्ता खानुपर्ने स्थिती आएका कारण कानुनी लडाईंमा जानु परेको बताए।
'मन्त्रालयलाई निर्णय पुनर्विचार गर्न आग्रह गरेको थिएँ,' उनले भने, 'तर निर्णय पुनर्विचार नभएपछि अन्यापूर्ण निर्णयका विरोध गर्दै न्याएका लागि अदालतसम्म जानु परेको हो।'