काठमाडौं- महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा हेयरिङ स्क्रिनिङ रुम र अटिटोरी भर्भल थेरापी रुमको उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले मंगलबार उक्त कक्षको उद्घाटन गरेका हुन्।
त्रिवि शिक्षण अस्पतालका नाक, कान घाँटी रोग विशेषज्ञ डा रविन्द्र प्रधानाङ्गका अनुसार सानै उमेरमा बहिरोपन पत्ता लगाउन सके त्यसको उपचार सहज र सफल हुन्छ।
सबै नवजात शिशुको श्रवण परीक्षण जन्मेको केही दिनभित्र जाँचिनुलाई न्यूयोनेटल हेयरिङ स्क्रिनिङ भनिन्छ। यो सेवा विकसित सबै मुलुकमा छ भने विकासोन्मुक वा अल्पविकसित कुनै कुनै मुलुकमा सरकारी वा गैर–सरकारी तवरबाट व्यवस्था गरिएको उनी बताउँछन्।
नेपालको त्रिवि शिक्षण अस्पतालमा २०१९ मार्चबाट न्यूयोनेटल हेयरिङ स्क्रिनिङ सुरु भएको हो। उक्त कार्यक्रमबाट हालसम्म ३१७० जना नवजात शिशुहरुको श्रवण परीक्षण गरिएको छ। श्रवण परीक्षण गर्ने स्थान अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको निर्माण गर्न नसकिएको कारणले गर्दा परीक्षणले दिएको नतिजा पूर्ण रुपमा स्वीकार योग्य देखिएको छैन।
नेपालमा श्रवण परीक्षण लामो समयदेखि हुँदै आएको भए तापनि नवजात शिशुको श्रवण परीक्षण हुन लागेको धेरै वर्ष भएको छैन। अन्तर्राष्ट्रिय स्तरको नवजात शिशुको परीक्षण भर्खरै मात्र सुरु भएको उनको दाबी छ।