काठमाडौं- पूर्वस्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद्ले बनाएको चिकित्सा शिक्षा ऐनलाई माफियाले बनाएको भनेर गलत भाष्य निर्माण गर्न खोजिएको बताएका छन्। नेपाल चिकित्सक संघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले स्वास्थ्य मन्त्रालयमाथि नै प्रश्न गर्नुपर्ने बेला भएको बताएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले नेपाल 'मेडिकल हब' बन्ने सम्भावना हुँदाहुँदै पनि त्यस्तो हुन नदिएको बताएका छन्। चिकित्सा शिक्षाको गुणस्तरका लागि अभियान चलाएका डा गोविन्द केसीले अनसन बसेर त्यसलाई रोकेको बस्नेतले बताएका हुन्।
डा बस्नेतले डा केसीकै प्रभावमा बनेको चिकित्सा शिक्षा ऐनका कारण चिकित्सा शिक्षा अध्ययन/अध्यापन खुम्चिएकोतिर संकेत गर्दै बोलिरहेका छन्। संशोधन गर्न खोजिएमा त्यहाँ पनि गिरोहरु सक्रिय हुने उनको भनाइ छ । त्यही विषयतिर लक्षित गर्दै महामन्त्री थापाले भनेका छन्, 'चिकित्सा शिक्षा ऐनमा कमजोरी होलान् । त्यसमा काम गर्नुपर्ने कुरा आफ्नो ठाउँमा होला । अहिले स्वास्थ्य मन्त्रालयलाई सोध्नुपर्ने भएको छ- पार्लियामेन्टले बनाएको ऐनलाई माफियाले बनाएको भनेर स्वामित्व नलिन खोजेको भनेर भनेर?'
केही दिनअघि ट्रमा सेन्टरमा आयोजित कार्यक्रममा बोल्दै उनले कानुन बनाउने र संशोधन गर्ने कुराहरुमा गिरोहको खेल हुने बताएका हुन् । आफूले अहिले १०० बेडभन्दा माथिको सरकारी अस्पतालमा चिकित्सा शिक्षा दिने प्रस्ताव अघि सारिरहेको बताउँदै उनले भने, 'मैले क्याबिनेटमा यो कुरा लगेँ । प्रधानमन्त्रीज्युसहित सबै मन्त्रीज्युहरुले कार्यक्रम एकदमै राम्रो भन्नुभयो। लागु कसरी गर्ने त्योचाहिँ हेर्नुपर्छ भन्नुभयो । कानुन त हामीले बनाउने हो नि । यदि यो प्रस्ताव ठिक छ भने कानुन त्यो अनुसार बनाउन किन कन्ज्युस्याइँ गर्ने ? त्यहाँ पनि फेरि गिरोहहरुको खेल हुन्छ। कुरा क्लियर छ । मेडिकल शिक्षा नेपालमा फटाफट पढ्न र पढाउन पाउने व्यवस्था भयो भने यसको असर कहाँ-कहाँ पर्छ ? त्यहाँबाट खेल्न थाल्छन्।'
बस्नेतको उक्त भनाइप्रति आपत्ति जनाउँदै डा केसीले राजीनामा समेत माग गरेका छन्।