काठमाडौं- स्वास्थ्य सचिव डा रोशन पोखरेलले उत्पादित स्वास्थ्य जनशक्तिको गुणात्मक क्षमता बढाउनका लागि राज्यले प्राथमिकता दिनुपर्ने बताए। उत्पादित जनशक्ति राज्यलाई पुग्ने अवस्था रहेमा वैदेशिक रोजगारीका लागि बाटो खुलाउन सक्ने स्वास्थ्य सचिव डा पोखरेलको तर्क थियो।
तेस्रो एनएमए शिखर सम्मेलनका क्रममा बोल्दै डा पोखरेलले स्वास्थ्य जनशक्तिको उत्पादन कम भएको अवस्थामा उत्पादन बढाउनतर्फ लाग्नुपर्ने सुझाव दिए।
उनले चिकित्सा शिक्षा तथा आँखा उपचारमा समेत मेडिकल टुरिजमको सम्भावना रहेको बताए। पछिल्लो समय हेयर ट्रान्सप्लान्ट सेवालाई समेत विस्तार गरी विदेशीहरुलाई भित्राउन सक्ने सम्भावना रहेको डापोखरेलको तर्क थियो। कतिपय विदेशीहरु नेपाल घुम्नुका साथै स्वास्थ्य सेवा समेत लिने लक्ष्यका साथ नेपाल आउनसक्ने बताउँदै उनले मेडिकल टुरिजमलाई विस्तार गर्न सकिने बताए।
नेपालमा मेडिकल टुरिजमको विकासका लागि राज्य सकारात्मक रहेको उनको टिप्पणी थियो।