काठमाडौं- हामी निजामती कर्मचारी अस्पतालमा करार सेवाको परीक्षा उत्तीर्ण गरेर विगत दश वर्षदेखि यहाँ कार्यरत स्टाफ नर्सहरू हौं। हामीले यो स्वास्थ्य संस्थालाई हाम्रो जीवनको एक दशक दियौं। हामीले यस संस्थामा प्रवेश गर्दा भर्खर सेवा दिन थालेको यो अस्पतालमा मुस्किलले ३-४ वटा भन्दा विभागहरू चलेका थिए। आज निजामती अस्पताल यो अवस्थामा आइपुग्नमा हाम्रो लगन, मेहनत र अहोरात्र खटाइ पनि जोडिएको छ।
हामीलाई त्योबेला ४ वर्षमा स्थायी गर्छौँ भनेको अस्पताल बोर्डले कहिल्यै स्थायी पदपूर्तिका लागि पहल गरेन, बरू भित्रभित्रै कसैलाई थाहा नदिइ नियमावली बनाएर पारित गरेर ल्याउनु भएछ। जसमा एकपल्ट लोकसेवा आयोगको परीक्षा उतीर्ण गरेर जति नै वर्ष काम गरे पनि खुल्ला स्थायीको परिक्षामा सफल हुन सकेन भने जागिरबाट निस्कासित हुनुपर्ने उल्लेख गरिएको थियो।
हामीले सर्वोच्च अदालतमा त्यसबिरुद्ध रिट दायर गर्यौं, अदालतले फैसला हाम्रा पक्षमा सुनाएको थियो। अदालतको आदेश बमोजिम हामीले सिमित सिटमा परिक्षा पनि दियौं तर परिक्षा केन्द्र (लोकसेवा आयोगको कार्यालय)मा पुगेर प्रश्नपत्र समातेपछि थाहा भयो, हामी फसेछौं । १५ दिनको अन्तरालमा लिएको स्टाफ नर्स पाँचौं तहको स्थायी सिमित र खुल्लाको सोधिएको प्रश्नमा आकाश पातालको फरक छ। यस विषयमा लोकसेवा आयोगको कार्यालयमा निवेदन पनि दिएका थियौं तर निवेदन उपर सुनुवाई भएन र लोकसेवा आयोगले नतिजा प्रकाशित गर्यो।
नतिजा ५५ प्रतिशत उत्तीर्ण हुन सकेनौँ । पाँचौं तहलाई सोधिने प्रश्नहरु नै होइन, त्यो भन्दा माथिल्लो तहका छन् । सिलेबस भित्रको भन्दै पाँचौं तह अर्थात् पीसीएल नर्सिङ तहको तहको विज्ञापन गरेर त्यसको माथिका तहको प्रश्न सामेल गर्न पाइन्छ र?
अहिले हामीलाई 'कि दैनिक ज्यालादारीमा झरेर काम गर कि अब निस्केर जाउ' भनिदैछ। हामी महिलालाई कति गाह्रो छ, घर, बच्चा र जागिर सँगै धान्न। कति दु:ख गरेर नाम निकालेर, घर बच्चा धानेर कामबाट कसरी निस्केर जाने? खाइ-पाइ आएको सुविधा छोडेर कसरी ज्यालादारीमा काम गर्ने? यो सरकारी अस्पतालका बोर्डले गरेको अपमान कसरी सहनु?
सरकारले हामी सरकारको विभाग अन्तर्गत परिक्षामा लडेर विगत दश वर्षदेखी सेवामा रहेकालाई त यो गति गर्दैछ भने अरू महिला आरक्षण कसरी गर्छ? अहिले सबैको भनाइ अनुसार हामी नेपालमा बसेर काम गरेर गल्ती गर्यौं कि जस्तो लाग्छ ! १० बर्ष सेवा दिएपछि हामी अयोग्य भयौं कसरी? अरू सरकारी सेवामा भएका करारका लामो समयसम्म कार्यरत कुनचाहिँ विभागका कर्मचारीलाई स्थायी नहुँदा निकालेको छ र? हामी नर्सहरू, महिला त हुन् भनेर यो व्यवहारको सिकार भएको हो र?
हामी निजामती कर्मचारी अस्पतालमा करार सेवामा कार्यरत स्टाफ नर्स हौं र त्योभन्दा पहिला हामी यो लोकतान्त्रिक गणतन्त्र भएको देशको नागरिक हौँ। हाम्रो प्रश्न यो देशको कानुन, मौलिक अधिकार र आम नागरिकको हकहितमा निति निर्माणको गहन जिम्मेवारी बोकेको कानुन मन्त्रालय र कानुनविद्लाइ यस प्रकार छ। (सन्दर्भ, निजामती कर्मचारी अस्पतालको पछिल्लो चोटि संसोधित विनियमावलीको)
१.कुनै पनि सरकारी मातहतमा रहेको संस्थाले विनियमावली संस्थानको सुचारु कार्यसञ्चालनको लागि मात्र नभएर त्यस संस्थामा कार्यरत कर्मचारीहरुको हकहितलाई पनि मध्यनजर गरेर पारित गर्नुपर्ने हैन र?
२. यदि हैन भने, लोकतान्त्रिक गणतन्त्र भएको मुलुकको नागरिक हुनुको के औचित्य रह्यो र? लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यता काहाँ गयो?
३.यदि हो भने, यस अस्पतालमा कार्यरत कर्मचारीहरुको विगत दश वर्ष देखिको कार्य मूल्यांकन नगरी, लोकसेवाको खुल्ला प्रतिस्पर्धाबाट छनौट भएर सेवामा रहेकाहरूलाई एउटा नियोजित लिखित परिक्षाको भरमा सेवाबाटै निवृत्त गर्ने विनियमावली बन्यो कसरी र लज्जास्पद कुरा सरकारी संयन्त्रबाट पारित भयो कसरी?
४.दश वर्ष भनेको कम समय होइन महोदय, एउटा नेपाली नागरिकको कुनै पनि सरकारी सेवामा प्रवेश गर्ने उमेरको हद नै पार भैसक्छ। पारिवारिक र व्यवहारिक जिम्मेवारी हुन्छन् काँधमा, जीवनले स्थिरता खोज्ने उमेरको पडाव आउन थालेको हुन्छ। त्यस समयमा आएर भैरहेको विनियमावलीलाई अनेकौं चोटि संसोधन गरेर, कुनै पनि नैतिक नीति र लोकतान्त्रिक गणतन्त्रको मुल्य मान्यता नराखी, एकलौटी निरंकुश कर्मचारीतन्त्र चलाएर यस्तो विवेकहीन, मानवताहिन र नैतिकताहिन विनियमावली बनेर पारित पनि हुन्छ भने यो देशमा भविष्य छैन । यो देशमा बसेर अन्याय मात्र सहनुपर्छ भन्ने युवा जमातसँग हामी सहमत हुने कि नहुने, महोदय?
५.संसोधित विनियमावली कर्मचारीको हितमा छैन भनेर आफ्नो गुनासो लिएर पुग्नुभएको विशेषज्ञ डाक्टर बिशेष पौडेल, नर्स र अरू अस्पतालका कर्मचारीलाई, सोही कार्यालयमा चियाको ट्रे लिएर आएको कार्यलय सहयोगीतर्फ देखाएर 'तपाईंहरू करारका कर्मचारी भनेको, उहाँ जस्तै है, मलाई अफिसमा अहिले चाहियो, मैले करारमा राखेँ, मलाई जुन दिन अन्तबाट व्यवस्था हुन्छ, म निकाली दिन्छु' र 'हाम्रो कलमको टुप्पोमा तपाईँहरूको भविष्य छ विचार गर्नुहोस्' भनेर बोल्ने सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरुको बोली, लोकतान्त्रिक गणतन्त्रको व्यवस्था अनुरुप चल्ने निजामती कर्मचारीको बोली जस्तो लाग्छ, महोदय?
६.यो विनियमावली को बुँदाहरू संसोधित मात्र नभएर खारेज नै हुन जरुरी छ, महोदय। र नयाँ विनियमावली एकलौटी सामान्य प्रशासन मन्त्रालय र निजामती कर्मचारी बोर्डलाई मात्र तय गर्न नदिइ र टिचिङ हस्पिटल र गंगालाल राष्ट्रिय हृदय अस्पतालको रिफरेन्स लिएर कानुन मन्त्रालयको सहभागितामा निर्माण होस्, महोदय।
७.हामीलाई सँगै अध्ययन गरेका साथीभाई जस्तै मुलुक त्यागेर विदेशीनुपर्नेमा आफ्नो देशमा बसेर जीवनको दश वर्ष देशभित्र सेवा दिने निर्णय गरेकोमा गलत साबित हुन नदिनुहोस् महोदय।
८. यतैकतैबाट सुन्नमा आएको थियो महोदय, नपढेर अनुत्तीर्ण भएकाहरु! यहाँलाई जानकारी गराउन चाहन्छौं, अनुत्तीर्ण हुनेहरूमा कोही नर्सिङको स्नातक तहमा विश्वविद्यालय टपर छन् त कोही आफ्नो बेलाको कलेज टपर। अनि प्राय अनुत्तीर्ण हुनेमा विभागीय इन्चार्जहरू छन् जसको कार्यक्षमताको आधारमा अस्पताल प्रशासनले सम्बन्धीत विभागको जिम्मेवारी दिएको थियो। ५५ प्रतिशत अनुतिर्णमा उनीहरु नै छन् । यो कस्तो परीक्षा प्रणाली भयो ?
- सिभिल अस्पतालका करार सेवामा कार्यरत नर्सहरु