काठमाडौं- एक सयदेखि ३ सय बेड सम्मका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउने प्रस्ताव स्वास्थ्य मन्त्रालयले गरेकाे छ। मंगलबार मन्त्रालयस्तरबाट उक्त प्रस्ताव अघि सार्दै पढाउन सक्ने अस्पतालहरूकाे राय मागिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री माेहन बस्नेतले जानकारी दिए।
उनले भने, `पारामेडिक्स र नर्स पढाउन ती अस्पतालमा जनशक्ति पुग्छ भन्ने हामीलाई लागेकाे छ। संरचनामा अलिकति थपघट गर्नुपर्ने हाेला। पढाउनका लागि आवश्यक जनशक्ति र संरचनाको विषयमा अस्पतालसँग राय मागेका छाैं।´
प्रधानमन्त्री पुष्पकमल दाहाल र आफ्नो पार्टी सभापति शेरबहादुर देउवासँग यसबारे छलफल गरेकाे उनले बताएका छन्।
आफ्नो याे कामले नेपालकाे मेडिकल शिक्षामा क्रान्तिकारी परिवर्तन ल्याउने उनकाे दाबी छ।
चिकित्सा शिक्षा ऐनले यसमा बाधा पार्ने अवस्थामा ऐन संशोधनकाे तयारी समेत भइरहेकाे उनले संकेत गरेका छन्। उनले भने, `प्रधानमन्त्री, शिक्षामन्त्री र चिकित्सा शिक्षा आयाेगका उपाध्यक्ष राखेर छलफल भइसकेको छ।´
यसैगरी स्वास्थ्य सचिव डा राेशन पाेखरेलले सरकारसँग भएकाे संरचना र जनशक्तिकाे उपयाेग गर्न छलफल थालेकाे बताए। स्वास्थ्य मन्त्रालयले स्वास्थ्य शिक्षामा पहल थालेकाे रूपमा बुझ्नुपर्ने उनको भनाइ छ।
`भाैतिक संरचना, गुणस्तर र जनशक्तिका विषयमा पनि छलफल गर्दै जानेछाैं´ उनले भने।
सहमतिका लागि चिकित्सा शिक्षा आयाेगलाई पत्र लेखिसकेकाे मन्त्री बस्नेतले उल्लेख गरेका छन्। यसैगरी ३ सय भन्दामाथि बेडका अस्पतालमा एमबीबीएस पढाउनका लागि पनि अनुमति दिने विषयमा छलफल भइरहेकाे उनले बताए।
नेपालमा स्वास्थ्य जनशक्ति अभाव देखिन थालेकाले उक्त प्रस्ताव अघि सारिएको बताइएको छ। तर, याे प्रस्ताव कार्यान्वयनको चरणमा जान भने समय लाग्ने बताइएको छ। जनशक्ति, भाैतिक संरचना र कानुनी आधारका विषयमा मन्त्रालयले छलफल सुरू गरेकाे हाे। यसकाे यथाशीघ्र कार्यान्वयनका लागि सबैतिरबाट पहल र दबाब जरुरी हुने मन्त्री बस्नेतले बताए।
यसैगरी स्वास्थ्यमा जनशक्ति बढाउनसमेत पहल थालेकाे उनकाे भनाइ छ। विंस २०५२ पछि स्वास्थ्यमा जनशक्ति नबढेकाे उल्लेख गर्दै आफूले त्यसमासमेत पहल गरिरहेकाे उनले बताए।