काठमाडौं- विश्व मधुमेह दिवसको अवसरमा बसुन्धरास्थित केडीसी जनरल अस्पतालले एक महिने सचेतना अभियानसँगै नि:शुल्क मधुमेह जाँच गर्ने भएको छ। अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरेर नसर्ने रोग मध्येको एक प्रमुख रोग मधुमेहबारे एक महिनासम्म सचेतनासंगै नि:शुल्क ‘स्क्रिनिङ’ गर्ने जनाएको हो।
अस्पतालका अध्यक्ष बुद्धिमान श्रेष्ठले मधुमेहको जाँचका लागि मंसिर महिनाभर नि:शुल्क रगत जाँच गर्ने र सोही अवधीभर मधुमेह भएका बिरामीहरुको नि:शुल्क आँखा जाँच गरिदिने बताए।
‘मधुमेहलाई ‘साइलेन्ट किलर’ मानिन्छ, कतिपयलाई लक्षणबिना नै पनि गम्भीर अवस्थामा पुर्याएको छ। आँखाको ज्योति गुमाई अन्धोपन ल्याउने कारक मध्ये मधुमेह पनि एक हो। त्यसैले यसविरुद्ध व्यक्तिहरु सचेत हुन जरुरी छ। यहि कुरालाई मध्य नजर गर्दै केडीसी अस्पतालमा नि:शुल्क सचेतना तथा परीक्षण शिविरको आयोजना गरेका हौँ,' श्रेष्ठले भने।
कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रिन्सिपल प्राडा रविन्द्रमान श्रेष्ठले हाम्रो मुख्यत खानपान, जीवनशैलीका कारण मधुमेह रोग अहिले जो कसैलाई लाग्ने साझा रोग जस्तो भइसकेको भन्दै यसका लागि सचेतना र नियमित स्क्रिनिङ जरुरी रहेको बताए।
‘दाँत सफा देखिन्छ, तर गिजाले छाड्दै गएको छ, मुख दाँत सफा छ तर गन्हाउँछ भने पनि मधुमेह अर्थात सुगर हुन सक्छ। यसले आँखामा समस्या ल्याउन सक्छ, मिर्गौलामा समस्या ल्याउन सक्छ, उच्च रक्तचाप हुनसक्छ। त्यसैले यसबारेमा सचेत हुनु आवश्यक छ,’ उनले भने ।
नेत्र विशेषज्ञ डा ज्योति बास्तोला पौडेलले मधुमेहको अवस्था हाम्रो जस्तो मुलुकमा भयावह बन्दै गइरहेको भन्दै यसलाई नियन्त्रणका लागि आवश्यक कदम चाल्नु पर्ने बताईन्।
डा पौडेलले मधुमेह भएका मध्ये ९० प्रतिशत मानिसलाई टाइप टू मधुमेह हुने गरेको र त्यसमा सामाजिक–आर्थिक, जनसंख्या, वातावरण र वंशानुगत जस्ता विषयको प्रभाव पर्ने गरेको बताइन् । उनले मधुमेह भएका प्रत्येक ३ मध्ये १ मानिसलाई डायबेटिक रेटिनोप्याथी देखा पर्ने गरेको भन्दै यसबाट जोगिनका लागि मधुमेह भएका व्यक्तिले कम्तिमा ६ महिनाको एक पटक आँखा जाँच गरी विशेषज्ञको परामर्श लिनु पर्ने सुझाव दिइन्।
कार्यक्रममा केडीसी जनरल अस्पताल आईकेयर सेन्टरका बी अप्टोमेट्रिस रोहित यादवले मधुमेह र यसले आँखामा पार्ने असर (डायवेटिक रेटिनोप्याथी)बारेमा बताएका थिए। उनले मंसिर महिना भर केडीसी आईकेयर सेन्टरमा मधुमेह भएका व्यक्तिको नि:शुल्क आँखा जाँच हुने जानकारी दिए।