काठमाडौं– ‘सर्ट टर्म भिडियो’ होस्टिङ सञ्जाल टिकटकलाई बन्द गर्ने सरकारको निर्णय बदर हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट पेस भएको छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्चमा रिट पेस गरेका हुन्। ‘सर्वोच्च अदालतमा रिट पेस गरेको छु। अहिले अध्ययनकै क्रममा छ। आजै दर्ता हुन्छ होला,’ त्रिपाठीले भने।
त्रिपाठीले टिकटक बन्द गर्ने सरकारको निर्णय गैर कानुनी र संविधानको भावना विपरीत रहेको दाबी गरेका छन्। टिकटक बन्द गर्ने सरकारको निर्णयबाट संविधान प्रदत्त ‘सूचनाको हक’ र अभिव्यक्ति स्वतन्त्रताको हकको उल्लंघन भएको पनि रिटमा दाबी गरिएको छ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले टिकटक बन्द गर्ने निर्णय विद्युतीय कारोबार ऐन २०६३ र दूरसञ्चार ऐन २०५३ विपरीत रहेको समेत दाबी गरेका छन्।
टिकटक बन्द गर्ने निर्णय बदर गर्न अन्तरिम आदेशको मागदाबी रिटमा गरिएको छ। यस्तै, सामाजिक सञ्जालको नियमन गर्ने सम्बन्धमा दूरसञ्चार तथा प्रविधि क्षेत्रका विज्ञहरु सम्मेलित कार्यदल गठन गर्ने आदेश पनि रिटमा माग गरिएको छ।