कब्जियत पाचन प्रक्रियामा गडबडीका कारण हुने एक रोग हो। बच्चाहरुको एक्कासी खानेकुरामा परिवर्तन गरेको अवस्थामा पनि बच्चाहरुमा कब्जियत हुने गर्छ। आमाको दूध मात्रै खाइरहेको बच्चालाई एक्कासी ठोस खानेकुरा खुवाउँदा बच्चामा कब्जियतको समस्या आउन सक्छ। कहिलेकाहीँ स्ट्रेस तथा वातावरण परिवर्तन हुँदा पनि बच्चाहरुमा कब्जियतको समस्या आउन सक्छ।
बच्चाहरुमा कब्जियत हुँदा कुन अवस्थामा चिकित्सकको परामर्श लिने?
बच्चाहरुमा कब्जियतको समस्या हुँदा कुन अवस्थामा चिकित्सकको सल्लाह लिने भन्ने निर्धारण गर्नुलाई रेड फ्लेक्स साइन्स भनिन्छ। कब्जियत हुँदा बच्चाको तौल नबढ्ने, पेट फुल्ने, दिसामा रगत जाने,लगातार रुपमा वान्ता हुने,धेरै नै पेट दुख्ने जस्ता समस्याहरु देखिन सक्छन्। यस्तो समस्याहरु भएको अवस्थामा बच्चालाई छिटो भन्दा छिटो चिकित्सककहाँ लैजानुपर्ने हुन्छ।
कब्जियतको उपचार के?
कब्जियतको प्रमुख उपचार बिधि नै औषधि सेवन हो। यसको उपचारमा मुखबाट खाने औषधिको प्रोत्साहन गरेको राम्रो मानिन्छ। मुखबाट सेवन गरिने औषधिले ठूलो आन्द्राबाट नै काम गरेर जाने भएकोले ठूलो आन्द्रादेखि जाम भएको दिसालाई सफा गर्न यसले सहयोग गर्छ।
बच्चाहरुलाई एकदमै गाह्रो भएको अवस्थामा कहिलेकाही इनिमा दिदाँ त्यसले खासै असर गर्दैन। यद्यपि पटक पटक इनिमाको प्रयोग गरी बालबालिकाको कब्जियतको उपचार गर्नु बालबालिकाका लागि राम्रो मानिदैंन। इनिमा दिदाँ बच्चाको ठूलो आन्द्राको अन्तिम भागमा भएको दिसा मात्रै निक्ल्ने गर्छ। ठूलो आन्द्राको माथिल्लो तथा अन्य भागमा रहेको दिसालाई निकाल्नका लागि यसले खासै काम गर्दैन। त्यसैले मुखबाट खाने औषधिको प्रयोगलाई नै बढावा दिनुपर्ने हुन्छ।
यस बाहेक बच्चाको जीवनशैलीमा परिवर्तन, मोबाइल तथा टिभीको प्रयोग कम गर्ने, बच्चाको ध्यान खेलकुदमा केन्द्रित गराउने, पानीको मात्रा प्रशस्त दिने, रेशादार खानेकुराको प्रयोगलाई बढावा दिने, हरियो साग, सलाद, पाकेको केरा लगायतका खानेकुरामा बढी मात्रामा जोड दिएमा कब्जियतबाट छुटकारा पाउन सकिन्छ।
कतिपय बालबालिकामा वातावरण परिवर्तन हुँदा पनि बच्चाहरुमा कब्जियतको समस्या आउन सक्छ।
कोरोना महामारीपछि किन बढ्यो बालबालिकामा कब्जियतको समस्या
कोरोना महामारी पछि बालबालिकामा डिजिटल मिडियाको प्रयोगको पहुँच एकदमै बढ्दै गएको पाइन्छ। त्यतिबेला ३– वर्षका बच्चाहरुमा समेत अनलाइन कक्षाको अभ्यास अगाडि बढाइएको थियो। कोरोना महामारी पछि बच्चाहरुमा खेलकुदमा रुचि कम हुँदै जानुका साथै मोबाइल फोनको प्रयोग बढ्दै गएको पाइएको छ। जसकारण बच्चाहरुमा कब्जियतको समस्या बढ्दै गएको पाइन्छ।
(बालरोग विशेषज्ञ डा अग्रवालसँग लक्ष्मी चौलागाईंले गरेको कुराकानीमा आधारित)