काठमाडौं- प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) को सदस्य सचिवको लागि कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ताको लागि पुनः मिति तोकिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सदस्य सचिवको लागि कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ता मिति तोकेको हो।
रिक्त सदस्य सचिव पदका लागि अन्तर्वार्ता मंसिर ८ गते हुने भएको छ। यसअघि कार्तिक १७ र १८ गतेका लागि अन्तरवार्ताको समय तोकिएको भए पनि जाजरकोट भूकम्पका कारण अन्तर्वार्ता स्थगित भएको थियो।
प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि आठ जनाको नाम छोटो सूचीमा छनौट भएको छ।
हाल निमित्त सदस्य सचिवको जिम्मेवारी सम्हालिरहेका महेश भट्टराईसहित अरविन्दकुमार चौधरी, भुवनेश्वर ढुङ्गाना, नलराम देवकोटा, टेकबहादुर मल्ल, अनोज भट्टराई, विनोद बडाल र प्रमोदभक्त आचार्य प्रतिस्पर्धामा छन।