काठमाडौं- लुम्बिनी प्रदेश सरकारले १३ वटा अस्पताल विकास समितिका अध्यक्ष नियुक्त गरेको छ। प्रदेशको स्वास्थ्य मन्त्रालयले २ प्रादेशिक अस्पताल र ११ वटा जिल्ला अस्पतालको विकास समिति अध्यक्ष नियुक्त गरेको हो।
को-को भए नियुक्त?
दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा बबई गाउँपालिका ४ निवासी दीपक शाह र लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा जीवन प्रसाद श्रेष्ठ नियुक्त भएका छन्।
प्युठान अस्पतालको अध्यक्षमा सुवास केसी, रोल्पा अस्पतालमा शेरबहादुर थापा, गुल्मी अस्पतालमा ढुण्डिराज पोख्रेल, रामपुर अस्पताल पाल्पामा श्याम कान्त खनाल, अर्घाखाँची अस्पतालमा लिलाधर बस्याललाई अध्यक्षमा मनोनीत गरिएको छ। त्यस्तै कपिलवस्तु अस्पतालमा शिवलाल यादव, भीम अस्पताल भैरहवामा डा अनन्त कुमार शर्मा, पाल्पा अस्पतालमा चोपलाल गिरी, रुकुम पूर्व अस्पतालमा सुनिलकुमार रोका, पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा दुलारी हरिजनलाई मनोनीत गरिएको हो।
अस्पताल विकास समितिको अध्यक्षमा सत्तामा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र , लोसपा र एकीकृत समाजवादी पार्टीबीच भागबण्डा गरेर पार्टी निकट व्यक्तिहरूलाई नियुक्त गरिएको छ। सत्ताको नेतृत्व गरेको नेपाली काँग्रेसलाई ६,माओवादीलाई ४, जसपा, लोसपा र एकीकृत समाजवादीलाई एक,एक वटा अस्पतालको विकास समिति अध्यक्ष बनाएको छ।