काठमाडौं- पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालबाट वरिष्ठ अर्थोपेडिक सर्जन डा चक्रराज पाण्डे बाहिरिएका छन्। डा पाण्डे आफ्नै अस्पताल सञ्चालनका लागि भन्दै फ्रन्टलाइन छाडेका हुन्।
फ्रन्टलाइनमा डा पाण्डे ‘चिफ अफ द प्रेसिडेन्ट क्लिनिकल सर्विसेज’ थिए। डा पाण्डेले दशैं अघि नै अस्पताल छाडेका हुन्। क्लिनिक पक्षको नेतृत्व गरिरहेका डा पाण्डेले छाडेपछि नयाँ ‘चिफ अफ द प्रेसिडेन्ट क्लिनिकल सर्विसेज’मा डा योगेश न्यौपाने आएका छन्।
त्रिवि शिक्षण अस्पतालमा एशोसियट प्रोफेसरका रुपमा कार्यरत डा न्यौपान नाक, कान, घाँटी रोग विशेषज्ञ हुन्। डा न्यौपानेले आफूले काम सुरु गरिसकेको जानकारी दिए। 'अहिले हामी अस्पतालको सेवा विस्तार लगायतका विषयमा आन्तरिक काममा व्यस्त छौं,' उनले भने, 'तिहारपछि नागरिकले अनुभूति गर्ने गरी सेवाको काम अगाडि बढाउने छौं।' उनले अस्पताल टिमवर्कबाट चल्ने भएकाले सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए।
अस्पतालमा डा पाण्डेले १९ महिना काम गरे। उनी २०७८ फागुनमा आएका थिए। फ्रन्टलाइनमा रहँदा नै डा पाण्डे लाजिम्पाटस्थित आफ्नै अस्पताल अनमीवमा १ बजेपछि काम गर्न पुग्थे। अस्पतालको क्लिनिकल नेतृत्वमा रहेका व्यक्ति नै फ्रन्टलाइनमा भन्दा आफ्नै अस्पतालमा बढी केन्द्रित भएपछि व्यवस्थापनले उक्त कुरा रुचाएको थिएन। उनीमाथि फ्रन्टलाइनमा आएका बिरामी आफ्नो अस्पतालमा लैजाने गरेको आरोप समेत लाग्दै आएको थियो।