नेपालगञ्ज– ४ दिनदेखि भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम र सल्यानमा रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बुधवार घाइते र चिकित्सहरुसँग भेट गरेका छन्। भूकम्पमा परी घाइते भएकाहरुको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ।
भूकम्पमा परी घाइते भएकामध्ये केहिको अबस्था अझै सुधार हुन नसकेको मन्त्री ज्वालाले उल्लेख गरे। सुधार हुन नसकेका विरामीलाई काठमाडौं लगायतका अस्पतालमा रिफर गर्न मन्त्री ज्वालाले निर्देशन दिएका छन्। ‘केही बिरामीको अबस्था अझै गम्भीर छ, उहाँहरुको उपचार भेरी अस्पतालमा सम्भव नभए अर्को ठाउँमा पठाउनु पर्छ,’ मन्त्री ज्वालाले चिकित्सकहरुसँग कुरा गर्दै भने, ‘घाइतेहरुको उपचार गर्न सरकारले कुनै कसर बाँकी राख्दैन, उपयुक्त अस्पतालमा रिफर गर्नुहोस्।’
जाजरकोट, रुकुम, सल्यान लगायत प्रभावित क्षेत्रमा करिव २०० जना घाइते भएका छन्। घाइतेमध्ये धेरैको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ। बुधवार बिहान मन्त्री ज्वालाले सबै घाइते र उपचारमा संलग्न चिकित्सकहरुसँग भेट गरेका हुन्।
मन्त्री ज्वाला दुई जिल्लाका विपत् व्यवस्थापन समितिको बैठकमा सहभागी भएका थिए भने नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्तालाई राहत र उद्धारमा लाग्न निर्देशन दिएका थिए।
प्रभावित क्षेत्रमा पुगेपछि मन्त्री ज्वालाले अवरुद्ध बनेका सडक र भासिएका पुलको पनि अबलोकन गरेका छन्। अवरुद्ध बनेका सबै सडकहरु तत्काल सुचारु गरिएको तथा भासिएको पुल पनि निर्माण कार्य थालिएको मन्त्री ज्वालाले जानकारी दिएका छन्।