काठमाडौं– भारतीय राजदूतावासले भारत सरकारको अनुदान सहयोगमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निर्मित मङ्गलादेवी प्रसूति केन्द्र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रतिनिधिलाई हस्तान्तरण गरेको छ।
नेपालमा सञ्चालित उच्च प्रभाव सामुदायिक विकास परियोजनाको सफल कार्यान्वयनको २० वर्ष पुगेको उपलक्ष्यमा अर्थमन्त्री डा प्रकाशशरण महत, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री श्रीमती अनितादेवी तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा उक्त बर्थिङ सेन्टर हस्तान्तरण गरेका हुन्। कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका अधिकारी, समाजसेवी तथा स्थानीय समुदायका अगुवाको पनि सहभागिता थियो।
सो अवसरमा भारतीय अनुदान सहयोग अन्तर्गत नेपालका बैतडी र मुस्ताङ्ग जिल्लामा कूल अनुमानित लागत रु १३ करोड लाग्ने थप तीनवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल नेपालकै प्रतिष्ठित चिकित्सा संस्थामध्ये एक हो। नेपाल–भारत विकास सहकार्य ढाँचा अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारको आर्थिक सहयोग रु। चार करोड ४० लाख लागतमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मङ्गलादेवी बर्थिङ सेन्टरको निर्माण गरिएको हो।