सुर्खेत- राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट भूकम्पमा परी घाइते भएकालाई भेटेका छन्। भूकम्पमा घाइते भइ प्रदेश अस्पताल सुर्खेतमा उपचाररत बिरामीहरुलाई भेटेर पौडेलले स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन्। उनी भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझ्न यस क्षेत्रमा आएका हुन्।
गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न भन्दै राष्ट्रपति पौडेल मंगलबार जाजरकोट पुगेका थिए। यसैबीच राष्ट्रपति रामचन्द्र पौंडेलले आफू चढेर भूकम्प प्रभावित क्षेत्र पुगेको हेलिकप्टरबाट नै घाइतेको उद्धार गरिएको छ।
राष्ट्रपति सवार हेलिकप्टरले भूकम्पमा परी घाइते भएका जाजरकोट नलगाड गाउँपालिकाका वीरबहादुर पुनलाई थप उपचारका लागि सुर्खेतबाट सँगै काठमाडौं लगिएको हो।
भूकम्पपछि देशको अवस्था प्रतिकूल भएको भन्दै राष्ट्रपति पौडेलले २० कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका थिए।