काठमाडौं- स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि नेपालले विश्व बैंकबाट झण्डै १४ अर्ब रुपैयाँ सहायता लिएको छ।
अर्थ मन्त्रालय र विश्व बैंकले संयुक्त रुपमा जारी गरेको विज्ञप्ति अनुसार यसमध्ये १० करोड डलर (झण्डै १३ अर्ब ३० करोड रुपैयाँ) सहुलीयतपूर्ण ऋण र ३८ लाख ४० हजार झण्डै (५१ करोड रुपैयाँ) अनुदान रहेको छ।
अनुदान स्वास्थ्य आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य कोष (एचईपीआरटीएफ)बाट प्राप्त हुने विश्व बैंकले जनाएको छ। दुवै सहायतामा बिहीबार विद्युतीय हस्ताक्षर भएको र यो नेपालमा विश्व बैंकद्वारा वित्तीय लगानी गरिएको यो पहिलो विद्युतीय हस्ताक्षरित आयोजना भएको समेत विश्व बैंकले जनाएको छ।
सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थसचिव डा कृष्णहरि पुष्कर र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जेर्भोसले हस्ताक्षर गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो कार्यक्रम संघीय तहको स्वास्थ्य बीमा बोर्ड, र कोशी र गण्डकी प्रदेशका छनौट गरिएका प्रदेश तथा स्थानीय तहसँगको समन्वयमा कार्यान्वयन गर्ने विश्व बैंकले जनाएको छ।
कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्य प्रणालीको तत्परतामा सुधार, स्वास्थ्य बीमाको पहुँच अभिवृद्धि र छनौट गरिएका प्रदेश तथा स्थानीय तहमा स्वास्थ्य आपतकालीन पूर्वतयारी एवम् प्रतिकार्य क्षमता सुदृढीकरण गर्ने कार्यमा जोड दिने बताइएको छ।