भैरहवा- भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस् प्रशासनले आन्दोलनरत विद्यार्थीले उठाएका सात बुँदे मागको सम्बोधन गर्दै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ। कलेजका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पिएसले विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिइ शैक्षिक क्रियाकलापमा फर्किन आग्रह गरेका हुन्।
कलेज प्रशासनले विद्यार्थीले उठाएका सात बुँदे मागको बुँदागत रुपमा सम्बोधन गर्दै आन्दोलनको विषयलाई लिएर भोलिका दिनमा कुनैपनि विद्यार्थीमाथि पूर्वाग्राही व्यवहार र मूल्यांकनमा भेदभाव नगर्ने प्रतिबद्धता जनाएको छ।
विद्यार्थीहरुले कलेजकी प्रिन्सिपल प्रा डा लक्ष्मी पाठकको राजीनामाको विषयलाई मुख्य माग राख्दै आइरहेका छन्। कलेज प्रशासनले ड्रेस कोड लागू गर्ने निर्णय गरेपछि आन्दोलनमा उत्रेका विद्यार्थीले पछिल्लो चरणमा प्रिन्सिपलको राजीनामालाई नै मुख्य माग बनाउँदै आएका छन्।
विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग र मेडिकल काउन्सिलको ऐन नियम र परिधि भित्र रही कलेजले प्राचार्य नियुक्ति गर्ने भएकाले व्यक्ति परिवर्तन नहुने, तर विद्यार्थीले उठान गरेका विषयवस्तुलाई गम्भीर रुपमा लिइ भविष्यमा कुनै असर पर्न नदिन कलेज प्रशासन सचेत रहने छ’ कलेजका प्रमुख कार्यकारी अधिकृत पिएसद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।
कलेज प्रशासनले प्रिन्सिपल प्राडा पाठकलाई आफ्नै कक्षमा सात दिनसम्म बन्धकमा राखिएको विषय पनि विज्ञप्तिमा उल्लेख गरेको छ। विद्यार्थीहरुले आफ्ना माग राख्दै ७ दिनसम्म प्राडा पाठकलाई कलेजको कक्षबाट बाहिर निस्कन दिएका थिएनन्।
कलेज प्रशासनले सात बुँदे मागको बुँदागत रुपमा सम्बोधन गरे पनि विद्यार्थीहरुले भने आन्दोलनका कार्यक्रम फिर्ता लिएका छैनन्। उनीहरुले ओपिडी सेवा समेत ठप्प पार्ने चेतावनी दिएका छन्।
यस्ता छन् विद्यार्थीका सात बुँदे माग र कलेजले गरेको सम्बोधन
माग नम्बर १: प्रिन्सिपलले राजीनामा दिनुपर्ने
कलेजको सम्बोधन: विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग, काउन्सिलको ऐन नियम भित्र रही कलेजले प्राचार्य नियुक्ती गर्ने भएकोले व्यक्ति परिवर्तन नहुने, तर विद्यार्थीबाट उठान गरिएका विषयहरुलाई गम्भीरताको रुपमा लिई भविष्यमा कुनै असर पर्न नदिने कलेज प्रशासन सचेत रहने।
माग नम्बर २: नयाँ ड्रेस कोड लागु नगरी पहिलेको जस्तै यथावत राख्नुपर्ने
कलेजको सम्बोधन: स्थानीय प्रशासनको अगुवाईमा मिति २०८० असोज २७ गते शनिबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा ड्रेस कोडको निर्णय हाललाई स्थगन गर्ने लिखित सम्झौता भइसकेको।
माग नम्बर ३ : Internship Stipend अभिवृद्धि पश्चात Internship Orientation / Joining सुरुवात गर्नुपर्ने।
कलेजको सम्बोधन: Stipend को सम्बन्धमा समिति गठन गरी विभिन्न मेडिकल कलेजहरुको अवस्था अध्ययन गरी पेश गरिएको रिपोर्टका आधारमा गर्ने।
माग नम्बर ४: मागको तुरुन्त सम्बोधन गरी Final Year को Regular Classes हरु यथाशिघ्र सञ्चालन गरी Class Suspend भएको अवधिको Attendance पाईनुपर्ने
कलेजको सम्बोधन : दशैं अघि नै कक्षा सञ्चालनको लागि सुचना जारी भैसकेको र आन्दोलन अवधिको छुटेको Attendance काउन्सिल तथा विश्वविद्यालयको प्रावधान अनुसार समायोजन गर्ने ।
माग नम्बर ५: Regular & Supply Exam मा प्रतिवन्ध लगाउँदा IOM को व्यवस्था अनुरुप हुनुपर्ने
कलेजको सम्बोधन: Regular & Supply Exam सञ्चालन IOM को व्यवस्था अनुरुप नै गर्ने तर्फ प्रतिबद्ध रहने ।
माग नम्बर ६: Supplementary Exam भन्दा अगाडि पनि बिदा पाइने गरी Lectures / Posting को तालिका परिमार्जन गर्नुपर्ने
कलेजको सम्बोधन: Supplementary Exam भन्दा अगाडि पनि बिदा पाइने गरी Lectures / Posting सम्बन्धमा IOM को व्यवस्था अनुरुप हुने ।
माग नम्बर ७: अनावश्यक Extension लगाउन नपाइने, लगाउन परेको खण्डमा लिखित आधार दिइनुपर्ने।
कलेजको सम्बोधन: सिकाई अवधिलाई वैज्ञानिक तथा उपलब्धिमुलक बनाउने कुरालाई मुख्य प्राथमिकतामा राख्दै अनावश्यक Extension नलगाउने र Internship सम्बन्धी सम्पुर्ण कामकारवाही NMC को प्रावधान बमोजिम गरिने।