काठमाडौं- भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा ड्रेस कोडको नाममा विद्यार्थीहरुलाई अनावश्यक मानसिक यातना दिइएको भन्दै विद्यार्थीहरु आन्दोलित भएको २२ दिन बितिसकेको छ।
इन्टर्नसिपको चरणमा रहेका अन्तिम व्याचका विद्यार्थीहरुलाई युनिफर्मको कारण देखाएर प्रयोगात्मक परीक्षाबाट बञ्चित गराइएकोले आफूहरु आन्दोलित भएको दाबी गर्दै आइरहेका विद्यार्थीहरुले दशैंको समयमा पनि आन्दोलनका कार्यक्रम रोकेनन्।
नेपालाीहरुको महान् चाड दशैंमा समेत घर नगई विगत १५ दिनदेखी रिले अनसनसहित आइओएम डिन कार्यालय, उपकूलपति कार्यालय, नेपाल मेडिकल काउन्सिलसँग समेत समस्या समाधानका लागि हारगुहार गर्दा समेत समाधानमा चासो नदेखाइएको आन्दोलनरत्त विद्यार्थी पक्षको दाबी छ।
कलेज प्रमुखको तानासाही व्यवहारबाट प्रताडित भएकोले आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउन सम्बन्धीत निकायलाई ४८ घन्टाको अल्टिमेटम दिई ओपिडी बन्द गर्ने घोषणासहित आन्दोलित विद्यार्थीहरुले विज्ञप्ती समेत सार्वजनिक गरिसकेका छन्।
के-कारण २२ दिनदेखि आन्दोलित छन् विद्यार्थी?
इन्टर्नसिपको चरणमा रहेका अन्तिम व्याचका विद्यार्थीहरुलाई युनिफर्मको कारण देखाएर प्रयोगात्मक परीक्षाबाट बञ्चित गराइएकोले आन्दोलित हुनुपरेको विद्यार्थीहरुको आरोप छ ।
चौथो वर्षमा अध्ययनरत्त विद्यार्थीहरुलाई १ वर्षका लागि ड्रेस कोड लागू गर्दा विद्यार्थीमा आर्थिक भार थपिने तर्कसहित कलेज प्रशासन सामु उक्त निर्णय फिर्ता लिनका विद्यार्थीहरुले कलेज प्रशासन सामु अनुरोध गरेका थिए।
भैरहवा जस्तो गर्मी हुने ठाउँमा सहज किसिमको ड्रेसको व्यवस्था गर्नका लागि गरिएको अनुरोधलाई बेवास्ता गरिएको र यस्तो वातावरणमा पढाई अगाडि बढ्न नसक्ने भन्दै प्रिन्सिपल प्राडा लक्ष्मी पाठकको राजीनामा माग्न बाध्य भएको आन्दोलनरत्त विद्यार्थी एक विद्यार्थीले बताए।
उनीहरु कलेजले लागू गरेको ड्रेस कोड खारेज हुनुपर्ने, इन्टर्नसिपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्ने मागसहित आन्दोलित भएका हुन्।
समस्या समाधानका लागि सम्बन्धित निकायले कुनै चासो तथा अग्रसरता नदेखाएका कारण ओपिडी सेवा बन्द गर्ने घोषणा गरिएको ती विद्यार्थीले बताए ।