काठमाडौं- सामान्य व्यवसाय गरेर जीवन धान्दै आएका चितवन निवासी ३५ वर्षीया निलचन्द्र भुजेलको जीवनमा तब बज्रपात आइलाग्यो जब मिर्गौला प्रत्यारोपणको तयारीका लागि लतिपुरस्थित किष्ट मेडिकल कलेज पुगेका उनले श्रीमतीको कलेजोसमेत फेल भई प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुगेको थाहा पाए।
त्यसपछि उनले श्रीमतीका लागि कलेजो आफैंले दिने निर्णय गरे।
'सुरुमा मिर्गौला फेल भएका कारण प्रत्यारोपणका लागि अस्पतालसम्म आएका हामी कलेजोले समेत काम नगरी प्रत्यारोपणको अवस्थामा पुगेको थाहा पाएपछि छाँगाबाट खसेझै भएका थियौं। कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्थामा कसैसँग सल्लाह नै नगरी म श्रीमतीका लागि कलेजो दिन तयार भएँ' भुजेल भन्छन्।
'विभिन्न व्यक्तिबाट प्राप्त भएको अनुदानले उपचार खर्च जुट्यो। किष्ट अस्पतालले पनि विभिन्न परीक्षणमा छुट गराएको छ। ५५ दिनको लामो अस्पताल बसाईपछि अस्पतालबाट डिस्चार्ज भएका छौं। सोचे भन्दा राम्रो उपचार सेवा किष्ट मेडिकल कलेजबाट पाएका छौं' उनी भन्छन्।
३ वर्षसम्म बिरामी श्रीमती लिएर अस्पताल धाउनुपर्दा समाजले दिएको अनेकौं प्रकारको लान्छना उनी सम्झन्छन्। यद्यपि श्रीमतीले पाएको नयाँ जीवन र उनको हाँसोले ती सबै कुरा बिर्सिएको उनी सुनाउँछन्। समाज तथा कतिपय आफन्तहरुको प्रहार सम्झदैं उनी भन्छन्- 'जसलाई पर्यो उसलाई मात्र थाहा हुन्छ। ३ वर्ष लगातार अस्पताल धाएपछि आज मेरो श्रीमतीले दोस्रो जीवन पाउँदा असाध्यै खुसी लागेको छ।'
३४ वर्षिया निलचन्द्रकी श्रीमतीलाई मिर्गौला तथा कलेजो एकसाथ प्रत्यारोपण गरिएको थियो। 'मेरो मिर्गौला र कलेजो एकैसाथ प्रत्यारोपण गराएर नयाँ जिवन दिलाउने किष्ट मेडिकल कलेज परिवारप्रति हृदयदेखी नै धन्यवाद दिन चाहन्छु' उनी भन्छिन्, 'मलाई नयाँ जिवन प्रदान गर्नमा मेरो परिवारपछिको दोस्रो परिवार किष्ट अस्पताल बनेको छ। दोस्रो जीवन पाएकोमा औधी खुसी छु। अस्पताल आएपछिको माहोल तथा व्यवहारले छिटो निको भएको जस्तो छ।'
यस प्रकारको दुर्लभ प्रकृतिको दुवै अंगहरुको एकैसाथ प्रत्यारोपण ललितपुरस्थित किष्ट मेडिकल कलेजमा सम्पन्न भएको हो। यस प्रकारको शल्यक्रिया नेपालकै इतिहासमा पहिलोपटक गरिएको अस्पतालले दाबी गरेको छ।
प्रत्यारोपण टिमको नेतृत्व गरेका वरिष्ठ शल्यचिकित्सक प्राडा मुकुन्द राज जोशीका अनुसार बिरामीको कलेजोमा भएको जन्मजात रोगका कारण दुवै मिर्गौला बिग्रन गएको थियो। लामो समयदेखि डायलाइसिस गराइरहेकी उनको जीवन रक्षाका लागि दुवै अंगको एकै साथ प्रत्यारोपण नै अन्तिम विकल्प भएकोले अस्पतालले उनको शल्यक्रियाको तयारी गरेको थियो।
यस प्रकारको जटिल शल्यक्रियाका लागि अस्पतालले विभिन्न विधाका गरी करिब १०० जना भन्दा बढी स्वास्थ्यकर्मीहरु परिचालन गरेको थियो। करिब १८ घन्टा भन्दा बढी समय लगाएर उक्त टोलीले एकैसाथ मिर्गौला र कलेजोको प्रत्यारोपण गत असोज २२ गते सम्पन्न गरेको डा जोशी बताउँछन्।
उक्त शल्यक्रियाका सम्पन्न गर्नका लागि भारतको अपोलो अस्पतालबाट समेत चिकित्सकहरु बोलाइएको थियो। किष्ट अस्पतालको तर्फबाट वरिष्ठ शल्यचिकित्सक प्राडा मुकुन्द राज जोशीले नेतृत्व गरेको टोलीमा डा एकानन्द सिंह, डा बरुण श्रेष्ठ, सन्तोष क्षेत्री र डा कश्यप दाहालको समेत सहभागिता रहेको थियो।
विश्व स्वास्थ्य संगठनको सन् २०२० तथ्यांक अनुसार नेपालमा विभिन्न रोगहरुबाट हुने मृत्यु मध्ये ४ प्रतिशत मृत्यु कलेजो रोगका कारण तथा ३ प्रतिशत मृत्यु मिर्गौला रोगका कारण हुने गरेको छ। मिर्गौला तथा कलेजोसम्बन्धी रोगका बिरामीहरुको संख्या दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको छ। किष्ट मेडिकल कलेजले हालसम्म ११५ भन्दा बढी प्रत्यारोपण सफल रुपमा गरिसकेको छ।