काठमाडौं- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कमिसनकै लागि आवश्यक नै नभई उपकरण खरिद गरेको विषयमा स्वास्थ्यखबरले श्रृंखलागत रुपमा समाचार प्रकाशित गर्दै आइरहेको छ। अघिल्ला दुई श्रृंखलामा भवन नबन्दै कमिसनका लागि भेन्टिलेटर किनेर थन्काएको विषय र ठेकेदार कम्पनीसँगको सेटिङमा कसरी उपकरण खरिद प्रक्रिया अगाडि बढाइयो भन्ने विषय प्रकाशित भएका थिए।
यो श्रृंखलामा खरिद गरेर ल्याइएका उपकरणको गुणस्तर जाँचै नगरी कानुन विपरित ९० प्रतिशत रकम भुक्तानी गरेका विषयमा केन्द्रित भएका छौं।
प्रतिष्ठानका तत्कालिन (हाल निलम्बनमा) उपकुलपति डा ज्ञानेन्द्र गिरीले पदाधिकारी र कर्मचारीसँगको सेटिङमा एमबिएम सर्जिकल एन्ड डेन्टल हाउस प्रालीका निर्देशक संदिप राउतसँगको मिलेमतोमा ९ करोड ८६ लाख रुपैयाँमा खरिद गरेका २० वटा भेन्टिलेटरको गुणस्तर जाँच नै नगरी कानुन विपरित रकम भुक्तानी गरेका छन्।
प्रतिष्ठानले ठेकेदार कम्पनी एमबिएम सर्जिकलसँग अग्रिम भुक्तानी शून्य प्रतिशत र आपूर्ति भएका भेन्टिलेटरको इन्सटलेसन तथा क्विलिटी जाँच भइसकेपछि मात्र शत प्रतिशत रकम भुक्तानि लिने गरी सर्तनामामा हस्ताक्षर गरेको थियो। तर प्रतिष्ठानका तत्कालिन उपकुलपति गिरीले कमिसनकै लागि भवन नै नबनी भेन्टिलेटर खरिद गरेका कारण ती उपकरण इन्स्टलेसन गर्ने सम्भावना नरहेको अवस्थामा ९० प्रतिशत रकम भुक्तानी दिएका छन्।
'सम्झौता अनुसार एड्भान्स पेमेन्ट शून्य प्रतिशत रहेको र आपूर्ति भएको भेन्टिलेटर्सको इन्सटलेसन तथा क्विलिटी चेक भइसकेपछि मात्र शतप्रतिशत पेमेन्ट दिने भनिएको सर्तनामा रहेको छ। तर प्रतिष्ठानले भेन्टिलेटर प्रतिष्ठानले ग गरा हाई इन्डठ भेन्टिलेटर हो कि होइन भन्ने लगायतका आवश्यक कागजपत्रहरुको विस्तृत अध्ययन नगरी र सामानको चेक जाँच नगरी भुक्तानी प्रक्रिया सम्पन्न गराउन हतार हतार प्रतिष्ठानको दीर्घकालिन हित विपरित कार्य गरेको देखिन्छ,' छानबिन प्रतिवेदनमा भनिएको छ।
प्रतिष्ठानले मिलेमतोमा किनेको भेन्टिलेटरको ९० प्रतिशत रकम समेत भुक्तानी गरिसकेको छ। तत्कालिन उपकुलपति डा गिरीको आदेश अनुसार ४० प्रतिशत बैकं ग्यारेन्टी राखेर नियमविपरित ९० प्रतिशत भुक्तानी दिएको छानबिनका क्रममा फेला परेको प्रतिवेदनम उल्लेख छ। यतिमात्र नभई ४० प्रतिशतको बैंक ग्यारेन्टी पनि रकम भुक्तानी गरेको ६ दिन पछाडि बनाएको छानबिनका क्रममा फेला परेको छ।
सामान्यतया भेन्टिलेट आइसकेपछि ती भेन्टिलेटर सञ्चालनमा ल्याउनुपर्छ। उपकरण सञ्चालनमा आएर गुणस्तर जाँच भइसकेपछि मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था रहन्छ। तर उक्त खरिदमा पहिले नै हतारमा ९० प्रतिशत रकम भुक्तानी गरेको पाइएको छ।
'उपकुलपतिले ४० प्रतिशत बैंक धरौटी राखी ९० प्रतिशत भुक्तानी दिनका लागि मिति २०७९ मंसिर १४ गते निर्देशन दिएकोमा सो निर्देशन कार्यान्वयन गराउन अस्पताल निर्देशकद्वारा आर्थिक प्रशासनलाई मंसिर १५ गते निर्देशन जारी गरी सोही दिन ३ वटा चेक मार्फत रकम भुक्तानी गरेको देखिन्छ,' छानबिन प्रतिवेदनमा भनिएको छ, 'आर्थिक प्रशासनले सो रकम भुक्नी दिन अगाडि सम्बन्धित कम्पनीबाट ४० प्रतिशत बैंक धरौटी लिए पश्चात मात्र एड्भान्स पेमेन्ट दिनुपर्नेमा आर्थिक प्रशासनले ग्यारेन्टी बन्नु भन्दा ६ दिन अगाडि नै चेक जारी गरेको देखिन्छ।'
सार्वजनिक खरिद ऐन २०६३ अनुसार ४० प्रतिशत धरौटी राखेर ९० प्रतिशत भुक्तानी दिने कुनै प्रावधान नरहेकोले एड्भान्स पेमेन्ट दिने पद्धतीमा समेत प्रश्न गर्ने अवस्था देखिएको प्रतिवेदनमा उल्लेख छ।
प्रतिष्ठानका तत्कालिन उपकुलपति डा ज्ञानेन्द्र गिरीकै मिलेमतोमा तत्कालिन निर्देशक जगतनारायण प्रसाद, लेखा प्रमुख मोहन राई, खरिद शाखा प्रमुख सागर ताम्राकार, मुल्यांकन समिति संयोजक डा प्रमेन्द्र गुप्ता, मेडिकल स्टोरका संजिब कर्ण र इल्क्ट्रोमेड शाखा प्रमुख राहुल मिश्रले सेटिङमा खरिद गरेका २० वटा भेन्टिलेटर एक वर्षदेखि स्टोरमै थन्किएका छन्।
उनीहरुले म्याटर्नल एन्ड चाइल्ड हेल्थ (एमसिएच) भवनका लागि भन्दै ९ करोड ८६ लाख ४९ हजार रुपैयाँमा २० वटा भेन्टिलेटर खरिद गरेका हुन्। जबकी उक्त भवन हालसम्म पनि निर्माण सम्पन्न नै भएको छैन। प्रतिष्ठानका उपकुलपति डा गिरीसहितको टोलीले एमबिएम सर्जिकल एन्ड डेन्टल हाउस प्रालीका सञ्चालक संदिप राउतसँगको मिलेमतोमा भवन नबन्दै र कुनै पनि योजना तयार नहुँदै हतारमा भेन्टिलेटर खरिद गरेर प्रतिष्ठानलाई दीर्घकालिन असर पुर्यााएको छानबिन समितिको ठहर छ।
भेन्टिलेटर खरिदमा सेटिङको गुनासोपछि गत साउन २४ गते ७ सदस्यीय छानबिन समिति गठन भएको थियो। समितिले दुई साता लगाएर प्रतिवेदन तयार पारेको थियो। स्वास्थ्यखबरले प्राप्त गरेको उक्त प्रतिवेदन अनुसार भेन्टिलेटर खरिदमा खरिद योजना बनाउनेसमयदेखि रकम भुक्तानी गर्ने समयसम्म पाइला पाइलामा सेटिङ र कानुन मिचेको विवरण उल्लेख छ।
यो पनि:
बीपी प्रतिष्ठानमा अनियमितता-१: कमिसनका लागि एमसिएच भवन नबन्दै १० करोडको भेन्टिलेटर खरिद
बीपी प्रतिष्ठानमा अनियमितता-२: ठेकेदार कम्पनीसँग कमिसनकै लागि भेन्टिलेटर खरिदमा यसरी गरियो सेटिङ