काठमाडौं- गाजाको अल अली ब्याप्टिस्ट हस्पिटलमा विस्फोट भएको छ। बिष्फोटमा सयौं प्यालेस्टिनी नागरिकहरूको मृत्यु भएको छ।
मंगलबार राति गाजा सिटीमा अवस्थित उक्त अस्पतालमा विस्फोट हुँदा त्यहाँ उपचाररत र आश्रय लिएर बसेका सयौं नागरिकहरूको मृत्यु भएको छ।
विस्फोटका कारण अस्पताल खण्डहरमा परिणत भएको छ। अस्पताल विस्फोटलाई इजरायल(हमास युद्धको दसौं दिनको सबैभन्दा भयानक दिन भनिएको छ। अस्पतालमा आक्रमण हुँदा कम्तिमा ५०० जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयको अनुमान छ।
इजरायल र हमास दुबैले विस्फोटको दोष एकअर्कामाथि लगाएका छन्। हमासले इजरायलमाथि युद्ध नियमविपरित अस्पतालमा हवाइ आक्रमण गरेको आरोप लगाएको छ।
इजरायलले भने हमासकै रकेट प्रहार असफल हुँदा अस्पतालमा विस्फोट भएको बताएको छ।
अस्पतालमा आक्रमण हुनुपूर्व नै गाजामा तीन हजार मानिसहरूको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ।
इजरायलमा पनि कम्तिमा १ हजार ३ सय मानिसहरूको मृत्यु भएको बताइएको छ भने हमासले इजरायलबाट २०० जनालाई बन्धक बनाएर गाजामा राखेको रोयटर्सले उल्लेख गरेको छ। एजेन्सी