काठमाडौं- रुपन्देही जिल्ला अदालतबाट भएको फैसला चित्त नकुझेको भन्दै डा ज्ञानेश्वरप्रसाद सिंहको परिवारले उच्च अदालतमा पुनरावेदन मुद्दा दायर गरेको छ।
उपचारका क्रममा ज्यान गुमाएका हाडजोर्नी विशेषज्ञ प्राडा ज्ञानेश्वरप्रसाद सिंहको परिवारले रुपन्देही जिल्ला अदालतबाट भएको फैसला चित्त नबुझेको भन्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा मुद्दा दर्ता गराएका हुन्।
डा सिंहको परिवारले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज एन्ड टिचिङ अस्पतालविरुद्ध क्षतिपूर्ति दाबी गर्दै जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेको थियो।
सो मुद्दामा २०७९ चैत १४ गते रुपन्देही जिल्ला अदालतका न्यायाधिश कृष्णराम कोइरालाले नेपाल मेडिकल काउन्सिलले उपचारमा लापरवाही भएको ठहर गरेको विषयलाई पूर्णरुपमा वेवास्ता गरी पीडकहरूकै पक्षमा फैसला सुनाएको भन्दै उनीहरु उच्च अदालत गएका हुन्।
नेपाल मेडिकल काउन्सिलले अनुसन्धान गरी उपचारमा लापरबाही भएको ठहर गरेको थियो। काउन्सिलले उपचारमा लापारबाही गरेको भन्दै डा विश्व तुलाचनलाई एक वर्षका लागि इन्डोस्कोपी गर्न रोक लगाउनुका साथै सोबारे थप अध्ययन गरेर प्रमाणपत्र काउन्सिलमा बुझाउन निर्देशन दिएको थियो।
जिल्ला अदालतले उपचारमा संलग्न चिकित्सकहरूले दिएको सल्लाह सुझावलाई वेवास्ता गर्दै आफूखुसी गरेकोले बिरामीको मृत्यु भएको आदेशमा उल्लेख गरेको छ। सोविरुद्द डा सिंहकी पत्नीले अदालतको सो आदेशले न्याय नमिलेको भन्दै माथिल्लो अदालतमा पुनरावेदन गरिकी हुन्।
डा सिंहको उपचारका क्रममा २०७६ माघ २ गते युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा निधन भएको थियो।