काठमाडौं– जिल्ला अस्पताल संखुवासभा, खाँदबारीमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार तथा आक्रमण प्रयास गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–१ का २८ वर्षीय विक्रम विश्वकर्मा र आशिष विश्वकर्मा तथा खाँदबारी–९ का २२ वर्षीय अनिल विश्वकर्मा छन्। प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका उनीहरुले अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई गाली–गलौज गर्दै हातपातको प्रयास समेत गरेका थिए।
चिकित्सकलाई आक्रमण गर्न खोजेपछि जिल्ला अस्पतालमा समन्वय अधिकारीको रुपमा खटिएका प्रहरी कर्मचारीले उनीहरुलाई सम्झाउन खोजेका थिए। उल्टै प्रहरी कर्मचारीमाथि पनि आक्रमण गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेका तीनै जना अहिले जिल्ला प्रहरी कार्यालय संखुवासभाको हिरासतमा छन्। उनीहरुविरुद्ध मुलुकी फौजदारी संहिता २०७४ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।