हरेक वर्ष अक्टोबर १२ का दिन विश्व बाथ रोग दिवस मनाउने गरिन्छ। बाथ रोगबारे जनचेतना फैलाउने मुख्य लक्ष्यका साथ विश्वभरी नै यो दिवस मनाइन्छ। बाथ रोग के हो, यो रोग लागेको कसरी थाहा पाउने, यसका कारण, पहिचान तथा उपचार विधिबारे बाथ रोग विशेषज्ञ डा सुधीर कर्माचार्यसँग स्वास्थ्यखबरका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानीः
बाथ रोग के हो?
बाथ एक किसिमको दीर्घकालीन रोग हो। नेपाली समाजमा जोर्नी दुखाइको समस्या नै बाथ रोग हो भन्ने बुझाइ छ। यद्यपि, यो बुझाइमा पूर्ण सत्यता छैन। बाथ रोगले जोर्नी मात्र नभएर शरीरका हरेक अंगलाई प्रभावित गर्छ। यो शरीरबाट आफैंं पैदा हुने दीर्घकालीन रोग हो।
बिरामीले आफूलाई बाथ रोग भएको कसरी थाहा पाउने?
बाथ रोगका देखिने धेरै लक्षणमध्ये प्रमुख जोर्नी दुखाइ हो। जोर्नीमा अत्यधिक दुखाइ हुँदै जाँदा बिरामी चिकित्सककहाँ आइपुग्ने गर्छन्। यसका साथै धेरै देखिने अर्काे लक्षण भनेको आलश्यपन वा अल्छी लाग्नु हो। यो रोग लाग्दा बिहानीको समयमा जोर्नीको दुखाइ बढी हुने गर्छ।
बाथ रोग लागेका मानिसमा आराम गर्दाको समयमा जोर्नीको दुखाइ अत्यधिक हुन्छ भने काम गर्दै जाँदा विस्तारै कम हुँदै जान्छ। यस रोगका प्रमुख यी दुई लक्षण बाहेक अन्य थुप्रै लक्षण छन्। कहिलेकाहीँ आँखा बारम्बार रातो हुने, छालामा डाबरहरु आउने, कपाल झर्दै जाने, शरीरमा मांसपेसीहरु चलाउन गाह्रो हुने, मिर्गौला, कलेजो तथा मुटुमा समेत बाथ रोगका कारण असर पर्न सक्छ।
बाथ रोग लाग्नुको कारण के हो?
बाथ रोग लाग्नुको कुनै निश्चित कारणको पहिचान अहिलेसम्म भएको छ। यद्यपि, यसका धेरै कारण छन्। कसैलाई वंशाणुगत कारणले पनि बाथ रोग लाग्ने गर्छ। त्यस्तै विभिन्न प्रकारका इन्फेक्सन, मोटोपना, हर्माेनल परिवर्तन, शरीरमा आवश्यक भिटामिनको कमी जस्ता कारणले बाथ रोग लाग्न सक्ने विभिन्न अनुसन्धानबाट पुष्टि भइसकेको छ।
कुन उमेर समूहका मानिसमा बाथ रोगको समस्या बढी देखिएको छ?
बाथ निश्चित उमेर समूहमा लाग्ने रोग होइन। यो जुनसुकै उमेर समूहका मानिसमा लाग्न सक्छ। भर्खरै जन्मिएका बच्चादेखि बुढासम्मलाई बाथले सताउन सक्छ।
बाथ धेरै प्रकारका हुने भएकोले विभिन्न उमेर समूहका मानिसमा लाग्ने गर्छ। उमेर ढल्कँदै जाँदा युरिक एसिडको बाथ, घुँडा खिइने प्रकारका बाथ रोग लाग्ने गर्छ। युवा पुस्तामा ढाड दुख्ने बाथ रोग बढी मात्रामा देखिएको छ। भर्खरका महिलामा लुपस बाथ रोग बढी मात्रामा देखिएको छ। त्यस्तै बच्चाहरुमा मांसपेसीको बाथ रोग बढी मात्रामा देखिएको छ।
के बाथ गम्भीर प्रकारको रोग हो?
कतिपय बाथ रोगहरु गम्भीर प्रकारका हुन्छन्। जस्तैः लुपस भन्ने बाथ रोगलाई गम्भीर प्रकारको मान्न सकिन्छ। यो रोग लागेपछि मिर्गौलामा समेत असर गर्ने भएकोले यसलाई गम्भीर प्रकारको बाथ रोग मानिएको हो। बाथ रोगको केही प्रकारले श्वासप्रश्वासमा गम्भीर समस्या ल्याउने तथा केहीले प्यारालाइसिस समेत गराउन सक्छन्। बाथ रोगको समयमा नै उपचार हुन सकेन भने जटिल समेत हुन सक्छ।
बाथ रोगले चिसो समयमा बढी सताउँछ भन्ने आम धारणा रहेको छ, यो साँचो हो?
अवश्य पनि बाथ रोग चिसो समयमा बढी बल्झिने गर्छ। चिसो मौसममा चिकित्सककहाँ आउने बिरामीको संख्या बढ्छ। जाडो मौसममा शरीरका दुखाइ महसुस गर्ने नसाहरु बढी सक्रिय हुने भएकोले पनि जाडोमा यस रोग बढेको अनुभव बिरामीले गर्छन्।
बाथका बिरामीहरुले खानेकुरा बार्नेदेखि के–कस्ता सावधानी अपनाउन जरुरी छ?
उपचार लागि आउने धेरै बिरामीले खानेकुरा बार्ने गरेको बताउनुहुन्छ। यद्यपि, धेरैजसो बाथ रोगमा खानेकुरा बार्न आवश्यक छैन। रोगले च्यापेको बेला बिरामीले जे खाए पनि दुखेको महसुस गर्छन्। बाथ रोगका बिरामीहरुले गेडागुडी तथा माछामासु नखाएको पाइन्छ। तर केही बाथ रोगका प्रकारहरुमा भने खानेकुरा बार्नु अत्यावश्यक छ। जस्तै युरिक एसिडको बाथ रोग। यस प्रकारको बाथ रोग भएको अवस्थामा अत्यधिक गुलियो खानेकुरा तथा मिर्गौला, कलेजो जस्ता भागको मासु खान मिल्दैन।
बाथ रोग लाग्नै नदिनका लागि के गर्नुपर्छ?
बाथ रोग लाग्न नदिन कुनै प्रकारको खोप तथा औषधि अहिलेसम्म बनेको छैन। यद्यपि, केही सावधानी तथा जीवनशैलीलाई परिवर्तन गरेको अवस्थामा यसलाई कम गर्न तथा लाग्नै नदिन सकिन्छ। जस्तैः मोटापन घटाउने, धूमपान तथा मद्यपान नगर्ने, नियमित शारीरिक व्यायाम गर्ने, प्रशोधित खानेकुरा नखाने, जीवाणुको संक्रमणका कारण लाग्ने रोगबाट बच्न सकेमा बाथ रोगबाट बच्न सकिन्छ।
बाथ रोग कति प्रकारका छन्?
हालसम्म अनुसन्धानका क्रममा करिब २ सयभन्दा बढी प्रकारका बाथ रोगहरु पत्ता लागेका छन्।
के औषधि सेवनबाट बाथ रोग निको हुन्छ?
बाथ रोग लागिसकेपछि धेरै कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ। बाथ रोगको उपचारमा बिरामी र चिकित्सक दुवैको भूमिका महत्वपूर्ण हुन्छ। चिकित्सकले बाथ रोग निदानका क्रममा बिरामीलाई राम्रोसँग बुझाउन सक्नु उपचारको पहिलो चरण हो। एक पटक रोग लागेपछि त्यसलाई पूर्ण रुपमा निको बनाउन सकिँदैन। तर, औषधि सेवनबाट नियन्त्रणमा भने राख्न सकिन्छ। कुनै–कुनै बाथका बिरामीले जिन्दगीभर नै औषधि खानुपर्ने हुन्छ। कतिपयले भने निश्चित समय सेवन गरिसकेपछि बन्द गर्न सकिन्छ।
बाथ रोग लाग्नुमा जीवनशैलीको भूमिका कत्तिको हुन्छ?
बाथ रोग दीर्घकालीन रोग भएकोले बिरामीले जीवनशैलीमा व्यापक परिवर्तन ल्याउनुपर्ने हुन्छ। बिरामीले औषधिको सेवन नियमित रुपमा नै गर्नुपर्ने हुन्छ। यद्यपि, सबै प्रकारको बाथ रोगमा औषधिको सेवन मात्रै महत्वपूर्ण हुँदैन। जस्तैः यूरिक एसिड भएका बिरामीले खानेकुरा बार्नुपर्ने हुन्छ। ढाडको बाथ रोग हुनेले नियमित रुपमा ढाड तथा कम्मरको व्यायाम गर्ने, घुँडाका बिरामीले मोटोपना घटाउने, उकालो–ओरालो कम हिडँ्ने, ओमेगा ३ प्रशस्त मात्रामा भएका खानेकुरा खाने, गेडागुडी तथा सागसब्जीको प्रयोग प्रशस्त मात्रामा गर्ने लगायतका कार्यले पनि बाथ रोगलाई कम गर्न सकिन्छ।
गर्भवतीले बाथ रोगको औषधि सेवन गर्न मिल्छ कि मिल्दैन?
बाथका बिरामीले खाने धेरैजसो औषधि गर्भवतीले खान नमिल्न सक्छ। बच्चा जन्माउने योजनामा भएका महिला या पुरुषले बाथ रोगको औषधि सेवन गरिरहेको अवस्था छ भने ३ महिना अगाडि नै बन्द गर्नुपर्ने हुन्छ। कुनै २ वर्ष अगाडि नै बन्द गर्नुपर्ने हुन्छ भने कुनै औषधि गर्भवती हुनुभन्दा केही दिन अगाडि मात्रै बन्द गर्दा पनि हुन्छ। धेरैजसो बाथ रोग गर्भावस्थामा खुम्चिने तथा केही बढ्ने गर्छन्। त्यसैले बिरामीले पूर्ण रुपमा रोग नियन्त्रणमा नआई बच्चाको योजना बनाउनु हुँदैन।
नेपालमा बाथ रोगीहरुको संख्या कति छ, के सबै बिरामीहरु उपचारको पहुँच भित्र छन्?
नेपालका केही ग्रामीण तथा शहरी क्षेत्रमा गरिएको एक अध्ययन अनुसार २५–३० प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको बाथ रोग रहेको छ। तीमध्ये करिब १० प्रतिशत बिरामी मात्रै उपचारको पहुँच भित्र रहेको अवस्था छ। अझै पनि धेरैजसो बाथका बिरामीले औषधिको रुपमा विभिन्न प्रकारमा जडिबुटी प्रयोग गरिरहेको अवस्था छ।
सरकारी स्तरबाट बाथ रोगको पहिचान, निदान तथा उपचारका क्षेत्रमा के–कस्ता प्रयास हुनु आवश्यक छ?
सरकारले मुटु, क्यान्सर, मिर्गाैला जस्ता रोगका बिरामीलाई विभिन्न प्रकारको सहुलियत प्रदान गर्दै आइरहेको छ। नेपालमा बाथ रोग विशेषज्ञहरुको संख्या एकदमै कम रहेकोले रोग पहिचानको लागि समस्या छ। त्यसैले यसतर्फ सरकारले ध्यान दिनु आवश्यक छ। यद्यपि, पछिल्लो १० वर्षमा बाथ रोग विशेषज्ञको संख्या केही बढेको हामी पाउँछौं। सर्वप्रथम त बाथ रोगबारे जनचेतना बढाउनु आवश्यक छ।
कतिपय जटिल प्रकारका बाथ रोगमा महँगा औषधि सेवन गर्नुपर्ने हुन्छ। यस्ता औषधिका लागि बिरामीहरुलाई सहुलियत तथा अनुदानको व्यवस्था सरकारी तवरबाट गर्नुपर्ने देखिन्छ। बाथ रोगको पहिचानका क्रममा गरिने कतिपय परीक्षणहरु महँगा समेत हुन्छन्। यसका लागि बाथ रोगको उपचार हुने कुनै संस्थासँग मिलेर सरकारले बिरामीलाई आर्थिक सहायता दिनु आवश्यक देखिन्छ।
भिडियो: