काठमाडौं– ‘डाक्टर साव, तपाईंलाई कसले कुट्यो!’ टाउकोमा पट्टि र हात गोडामा ब्यान्डेज बाँधेर ह्विलचेयरमा गुडिरहेका डाक्टरलाई देखेर एक सर्वसाधारणले सोधे।
बिरामीझैं देखिने ती डाक्टर मौन थिए। ह्विलचेयरको पछाडि समातेर डा सरोज रतन शाहले माइतीघरबाट बानेश्वरतर्फ गुडाएर उनलाई लगिरहेका थिए। वरिपरी सेतो एप्रोन लगाएका स्वाीस्थ्यकर्मीको समूह नाराबाजी गर्दै अगाडि बढिरहेको थियो।
पटक–पटक स्वास्थ्यकर्मीहरू कुटिएका घटना बाहिरिएपछि डाक्टहरू सडकमा ओर्लिएका थिए। सडकमा ओर्लिएका कतिपय स्वास्थ्यकर्मीरूले पनि ह्विलचेयरमा ‘घाइते’ डाक्टर देखेपछि झस्किँदै सोधें, ‘के भयो?’
यो केवल स्वास्थ्यकर्मीको जीवनरक्षाका लागि सांकेतिक प्रदर्शन थियो।
यसरी सांकेतिक विरोध गर्ने व्यक्ति थिए निजामती कर्मचारी (सिभिल) अस्पतालका मेडिकल अफिसर डा अजित मल्लिक। आन्दोलनमा जानु अघिल्लो रात उनले यो उपाय सोचेका थिए।
‘स्वास्थ्यकर्मी कुटिएको घटनाले हामीलाई झस्काएको थियो। हामी आन्दोलनमा जाँदै थियौँ। तर आन्दोलनलाई प्रभावकारी बनाउन फरक तरिकाले सोच्नैपर्थ्यो,’ उनले भने।
अजित मल्लिकले आन्दोलनमा आफ्नै वार्डको ह्विलचेयर लिएर निस्किए। सोचेका थिए, ‘बानेश्वरदेखि नै ह्विलचेयरमा जाऊँ।’
तर कतिपयले त्यसलाई ‘स्टन्ट’ पनि भन्न सक्थे। गेटबाहिर ट्याक्सीमा ह्विलचेयर हालेर उनी माइतीघरतर्फ हिँडे। टाउकोमा पट्टी र हात खुट्टामा ब्यान्डेज बाँधेका उनले माइतीघर पुगेपछि ह्विलचेयर निकाले।
उनलाई फरक स्वरुपमा देखेपछि आन्दोलित डाक्टरको समूहले समर्थनसँगै हुटिङ गर्यो।
०००
‘डाक्टहरूलाई कुट्नु राम्रो हो त? हैन नि है।’ बुधबार सर्जिकल वार्डमा बिरामीका आफन्तसँग परामर्श गरिरहेका डा मल्लिक मुस्कुराउँदै भनिरहेका थिए। बिरामीका आफन्तले सही थपिरहेका थिए, ‘उसो त धेरैजसो विदेश पलायन भइसके। बाँकी डाक्टर पनि हिँडे भने कसले उपचार गर्छ?’
ड्युटीमा खटिएका डाक्टरहरूमा लगातारको घटनाले गहिरो छाप पारेको कुरा यो संवादबाट प्रष्ट हुन्थ्यो।
‘अरुको ज्यान बचाउनेले कहिल्यै पनि ज्यान लिँदैनन्। अरुको ज्यान जोगाउने स्वास्थ्यकर्मीले सेतो कोट लगाउँछन्। सेतो कोटमा दाग लगाउनु राम्रो होइन नि,’ उनले प्रसंग जोड्दै भन्न थाले। त्यसपछि निरन्तर अपजस खेपिरहेका र कुटिएका स्वास्थ्यकर्मीबारे चिन्ता प्रकट गरे।
डा मल्लिकलाई आन्दोलन चिच्याएर गर्नुपर्छ भन्ने लाग्दोरहेनछ। ‘आन्दोलन नबोली पनि गर्न सकिन्छ। नबोली गर्ने आन्दोलन झन् प्रभावकारी हुनसक्छ,’ उनले अनुभव सुनाए।
आन्दोलन एउटै मान्छे उभिएर पनि गर्न सकिन्छ। यसको उदाहरण उनी आफैं पनि हुन्। उनले अढाइ वर्ष अगाडि आफूले कोभिड भत्ताका लागि गरेको आन्दोलन सम्झिए।
०००
कोभिडको दोस्रो लहरमा धेरै मान्छे त्राहीत्राही थिए। त्यतिबेला जोखिम मोलेरै चिकित्सकहरू फ्रन्टलाइनमा उभिएका थिए। सरकारले स्वास्थ्यकर्मीलाई कोभिड भत्ता दिने घोषणा गरेको थियो। स्वास्थ्यकर्मीलाई त्यो घोषणाले उत्साह थपिदिएको थियो।
मल्लिक कोभिड संक्रमित भए। ९ दिनमा रिपोर्ट नेगेटिभ आएपछि १०औं दिनमा ड्युटी जोइन गरे। नेपाल मेडिकल एसोसियसनले डाक्टरहरूको बीमा गरिदिएको थियो। जब बीमाको पैसा लिन गए, उनले पाएनन्। त्यसपछि कोभिड भत्ता लिन खोजे। २/३ महिना धाउँदा पनि पाएनन्। ‘के एउटा डाक्टरको नियती यही हो? यो आत्मसम्मानका लागि म लड्छु,’ उनले निर्णय गरे।
विसं २०७७ चैतको समयतिर। ड्युटी समय सकाएपछि उनी चार बजे माइतीघरतर्फ निस्किए। सेतो एप्रोपन, हातमा प्ले बोर्ड तेर्स्याएर उनी एक्लै सडकमा उभिए।
‘मेरो कोभिड १९ को भत्ता हराएको सूचना। कृपया पाउने महानुभावले ९८....मा सम्पर्क गरिदिनुहोला,’ उनले समातेको बोर्डमा लेखिएको थियो, ‘मास्क, स्यानिटाइजर र सामाजिक दुरी कायम छ। तर तपाईंको नियत कायम छैन सरकार।’
प्राय: डाक्टरहरूको आन्दोलन बिहान १० देखि ४ बजेसम्म हुन्थ्यो। तर उनको पहिलो प्राथमिकतामा ड्युटी र बिरामीको स्वास्थ्य नै रह्यो। ‘४ बजेपछि माइतीघर पुग्थेँ। सेतो एप्रोनमा पम्प्लेट बोक्थेँ। अनि २/३ घण्टा बस्थेँ,’ उनी सम्झन्छन्।
कुनै बेलामा हस्पिटलमा काम नसकिँदा उनी १५ मिनेट मात्र पनि उभिए। ‘फुर्सदको समय पाउनेबित्तिकै माइतीघर गएर उभिन्थेँ। तर आफ्नो प्रोफेसन कहिल्यै छाडिनँ,’ उनी भन्छन्।
यसरी उभिँदा एक मनले त दु:ख पनि लाग्यो मल्लिकलाई। ‘डाक्टरजस्तो मान्छे। सेतो एप्रोन लगाएर बाटोमा उभिनुपर्ने अवस्था किन आयो? सरकारसँग आफ्नो भत्ताका लागि भिख माग्नुपर्ने दिन कसरी आयो,’ उनी मनमनै प्रश्न गर्थे।
आफ्नो ज्याला माग्न पनि विद्रोह गर्नुपर्ने अवस्था सिर्जना भएकोमा उनलाई दुखेको थियो। त्यसरी २८ दिन लगातार उभिए मल्लिक।
बाटोमा देख्नेहरू कसैले भने, ‘ पागल...।’
केहीले भने, ‘पैसाका लागि यहाँ आएको...।’
र थपिँदै गए, ‘डाक्टर भएर बाटोमा बस्छ उपचार गर्नुछैन...।’
यस्ता शब्दले उनको मन बिझाइरहे। माइतीघरमा उभिएको दोस्रो दिन प्रहरीले पनि हप्काए। एकजनाले झोक्किँदै भने, ‘तँ जस्तो डाक्टर त कति तह लगाएको छु। यसरी नबस्।’
प्रहरीको हप्काइले उनी अत्तालिएनन्। बरु दृढ भएर तार्किक जवाफ दिए, ‘सर तपाईं पनि बर्दीमा। म पनि बर्दीमा। तपाईं पनि ड्युटीमा। म पनि ड्युटीमा। भलै कलर फरक होला। तपाईंको प्रोफेसन र हाम्रो प्रोफेसनमा सम्मान भनेको धेरै ठूलो कुरा हो। इज्जतले कुरा गर्नुस्।’
यसरी हप्काइबाट नडगेका मल्लिकलाई तेस्रो दिनबाट प्रहरीले सम्मान गर्न थाले। दिनहरू बित्दै गएपछि उनलाई कल र मेसेजहरू आउन थाले। ‘तपाईं आन्दोलनमा एक्लै हुनुहुन्न। हामी पनि साथमा छौँ,’ भन्नेहरूको संख्या थपिँदै गयो।
२७औं दिनमा उनको मोबाइलमा मेसेजको घण्टी बज्यो। मोबाइल हेरे, खातामा कोभिड भत्ता रहेछ। त्यसपछि स्वास्थ्यकर्मीरूले कोभिड भत्ता पाएका समाचार सञ्चारमाध्यममा आउन थाले। डा मल्लिकले त्यसरात चैनको श्वास फेरे।
२८औं दिन पनि उनी माइतीघर आए। त्यो दिन चाहिँ सरकारसँग विद्रोह गर्न हैन। धन्यवाद भन्न। ‘धन्यवाद सरकार’ लेखिएको प्ले बोर्ड तेर्स्याएर उनले आफ्नो कर्तब्य पूरा गरे।
र,
डा मल्लिक स्वास्थ्यकर्मीहरूको मात्र हैन, आम मान्छेको आन्दोलनमा पनि सँगै हुन्छन्। मिटरब्याजी विरुद्धको आन्दोलन, किसान आन्दोलन लगायत विभिन्न आन्दोलनमा उनी हस्पिटलको ड्युटी सकाएर माइतीघर पुग्छन्, अनि धर्नामा बसेकाहरूको स्वास्थ्य जाँच गर्छन्।कतिपयले त उनलाई ‘माइतीघरको डाक्टर’ भनेर पनि चिन्छन्। ‘माइतीघरमा आमरण अनसन र धर्ना बसेकाहरू थुप्रैको स्वास्थ्य जाँच गरेको छु। त्यसले एउटा डाक्टरलाई छुट्टै खुसी मिल्दो रहेछ,’ डा मल्लिक मुस्कुराउँदै भन्छन्।
यो पनि पढ्नुहोसः
माइतीघरमा किन एक्लै आन्दोलनमा उत्रिए यी डाक्टर?