काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार एक वर्षको अवधिमा सम्बन्धित २० हजार नयाँ उजुरी परेका छन्।
सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदनमा गत वर्ष २० हजार ९०५ नयाँ उजुरी दर्ता भएको उल्लेख गरिएको छ। जसमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत ३.१२ प्रतिशत उजुरी दर्ता भएका छन्।
प्राप्त उजुरीमध्ये सबैभन्दा बढी स्थानीय तहसँग सम्बन्धित रहेका छन्। कूल उजुरीमध्ये स्थानीय तहसँग सम्बन्धित उजुरीहरु ३५ दशमलव ९५ प्रतिशत रहेको अख्तियारले जनाएको छ।
त्यसपछि धेरै शिक्षा क्षेत्रका छन्। शिक्षा क्षेत्रमा पनि स्थानीय तहका नै धेरै रहेका छन्। शिक्षा सम्बन्धी उजुरीहरु १४ दशमलव ५५ प्रतिशत रहेको अख्तियारको प्रतिवेदनमा उल्लेख छ।
भूमि प्रशासन ६.०९, वन तथा वातावरण ४.१४, स्वास्थ्य तथा जनसंख्यामा ३.१२, भौतिक पूर्वाधार तथा यातायात ४.१०, गृह प्रशासन ३.५८, पर्यटन तथा उद्योग वाणिज्य २.७१, ऊर्जा, जलस्रोत तथा सिँचाइ २.५८, खानेपानी तथा सहरी विकास २.५१, अर्थसँग सम्बन्धित १.८१, कृषि तथा पशुपक्षी १.५२ र सञ्चार तथा सूचना प्रविधिसँग सम्बन्धित १.०३ प्रतिशत उजुरी रहेका छन्।
यस्तै नक्कली शैक्षिक प्रमाणपत्र ६.०९, गैरकानुनी सम्पत्ति आर्जन ७.१२ प्रतिशत र अन्य नियका तथा क्षेत्रसँग सम्बन्धित उजुरीहरु ३.०९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
अघिल्लो आर्थिक वर्ष २०७८/०७९ बाट ७ हजार १६३ उजुरी जिम्मेवारी सरेर आएका थिए।